• २५ चैत २०८२, बुधबार

अवैध घरेलु मदिरा भट्टी सञ्चालकसहित नियन्त्रणमा

blog

हेटौँडा–१६ मा अवैध घरेलु मदिरा भट्टीबाट बरामद सामग्री । तस्बिर : राममणि दाहाल

राममणि दाहाल 
मकवानपुर, चैत २५ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१६ मा अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएका भट्टी सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका–५ का भिमान सिंह तामाङले हेटौँडा–१६ स्थित शिवम सिमेन्ट नजिकै स्थानीय विष्णु अवस्थीको घरमा डेरा गरी बस्दै अवैध घरेलु मदिरा उत्पादन गर्दै आएका थिए। प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार, भट्टी सञ्चालक ६७ वर्षीय तामाङसहित कामदार लिलाबहादुर तामाङ (१९) र शिवराज ठकुरी (२२, बकैया गाउँपालिका–४) लाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीले उनीहरूबाट तयारी घरेलु मदिरा, कच्चा पदार्थ, मदिरा बनाउने मेशिन र भाँडाबर्तन बरामद गरेको छ। आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ।

बरामद सामग्रीमा ५०० लिटर घरेलु मदिरा, २५०० लिटर कच्चा पदार्थ, मदिरा बनाउने मेसिन, १५ वटा प्लास्टिकको ड्रम, ७ वटा ग्यास सिलिन्डर, ३ वटा फलामको स्टेन्ड, १ भट्टे चुलो, आधा कार्टुन मर्चा, आधा कार्टुन सोडा र ४० बोरा कोदो समावेश छन्। तयारी मदिरा र कच्चा पदार्थ नष्ट गरिएको छ।