• २५ चैत २०८२, बुधबार

मकवानपुरमा गाउँमै वितरण गर्न थालियो राष्ट्रिय परिचयपत्र

blog

राममणि दाहाल

मकवानपुर, चैत २५ गते । सदरमुकाम हेटौँडासम्म आएर राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा समस्या बेहोर्दै आएकालाई लक्षित गरी मकवानपुरमा गाउँमा नै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । 

मकवानपुरमा जिल्लामानै पहिलोपटक राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागसँगको समन्वयमा राक्सिराङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको हो । 

लामो समयदेखि प्रतिक्षामा रहेका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यसहित पालिकाको वडा नम्बर ९ को घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकाबाट परिचयपत्र वितरण मकवानपुरमै पहिलो भएको भन्दै अब गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दिने कार्यलाई निरन्तरता दिने बताउनुभयो।

दुर्गम क्षेत्रका नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ उहाँले भन्नुभयो, अब छिट्टै यहीँबाटै परिचयपत्रका लागि फाराम भर्ने तथा फोटो खिच्ने कार्य पनि सुरु गर्ने तयारी गरेका छौँ ।

विभागबाट बाँकी वडाको परिचयपत्र गाउँपालिकामा प्राप्त हुने बित्तिकै सम्बन्धित सेवाग्राहीहरुलाई पालिकाबाटै वितरण गरिने भएको छ । अध्यक्ष मल्लले यसका लागि आवश्यक समन्वय भइरहेको बताउनुभयो ।

गाउँपालिकाको केन्द्रसम्म पुग्नसमते अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहेको राक्सिराङको दुर्गम क्षेत्रमा सेवा विस्तारसँग राहत पुगेको छ । पालिकाबाट तीन जना र पालिकाले सञ्चालन गरेको एकीकृत बृहत शिविरबाट ६४७ जना गरी ६५० जनाले गाउँमानै राष्ट्रिय परिचयपत्र पाएका छन् । 

मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल राष्ट्रिय परिचयपत्र गाउँमा नै वितरण गर्दै ।