• २५ चैत २०८२, बुधबार

सिनेचौर विमानस्थल तत्काल सञ्चालन गर्न सांसद बुढाको माग

blog

बुधबारको प्रतिनिधि सभाको बैठक । तस्बिरः सुजन गुरुङ

काठमाडौँ, चैत २५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद धनबहादुर बुढाले डोल्पास्थित मसिनेचौर विमानस्थल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बुढाले विमानस्थल निर्माण सम्पन्न भएको चार वर्ष पूरा भइसक्दा पनि सञ्चालनमा नआउनु दुःखद भएको बताउनुभयो ।

बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भन्नुभयो, “डोल्पाको मसिनेचौर विमानस्थल सम्पन्न भएको चार वर्ष पूरा भयो । यस विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन म सरकारसँग जोडदार माग गर्दछु ।”

सांसद बुढाले आफूलाई डोल्पाली जनताले पटक–पटक सांसदको जिम्मेवारी दिएको उल्लेख गर्दै जनताले दिएको मतको सम्मान गर्दै सधैँ उनीहरूको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफूले डोल्पाली जनताको शिर निहुरिने गरी कुनै पनि कार्य नगरेको र भविष्यमा पनि जनताकै हितमा समर्पित रहने दाबी गर्नुभयो।

भौगोलिक रूपमा विकट रहेको डोल्पामा विमानस्थल सञ्चालनमा आएमा स्थानीय बासिन्दाको आवतजावत र खाद्यान्न ढुवानीमा सहजता पुग्नेतर्फ समेत उहाँले सदनको ध्यानाकर्षण गराउनुभयो ।