कोकिला ढकाल
इलाम, चैत २५ गते । आगामी वैशाख २ गते देखि इलाममा आर्थिक गणना गरिने भएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय इलामले आज एक कार्यक्रम आयोजना गरि जिल्ला तहमा राष्ट्रिय आर्थिक गणना २०८२ का विषयमा जानकारी दिएको हो ।
इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी प्रेम नेपालले आगामी वैशाख २ देखि असार ७ गते सम्म जिल्लाका ८१ वटा वडाका सबै घरघरमा पुगेर गणकले आर्थिक गणना गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीले देशको अर्थतन्त्रका लागि प्रत्यक्ष जोडिएको कृषि क्षेत्रलाई पनि आर्थिक गणनामा समेट्न आवश्यक रहेको सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी जिल्ला सहकारी सङ्घका अध्यक्ष लिला थापाले कृषि र सहकारी क्षेत्रले देशको ग्राहस्थ उत्पादन (जिडिपी) मा ठूलो हिस्सा ओगटे पनि त्यसको कुनै तथ्याङ्क र मूल्याकंन नभएको बताउनुभयो ।
“साना किसानहरु छन्, राम्रो व्यवसाय र उत्पादन गरेका छन् । उनीहरूको व्यवसाय दर्ता छैन तर उनीहरु अप्रत्यक्ष रुपमा राज्यलाई कर तिर्छन् ।,” थापाले भन्नुभयो “कृषि गणनाले पनि यी कुनै किसान र व्यवसाय समेट्दैन ।”
कार्यक्रममा सञ्चारकर्मी याम माबोहाङले हरेक क्षेत्रको दक्ष जनशक्ति र आवश्यकता पनि तथ्याङ्कमा समेट्न आवश्यक देखिएको बताउनुुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार काम गरेपनि छुटेका विषयगत क्षेत्रलाई समेट्नु पर्ने आवश्यकता रहेको सुझाव दिनुभयो ।
कार्यक्रममा प्रजिअ ढकालले कृषि क्षेत्रलाई तथ्याङ्कगत ढङ्गले छुटाउन नहुने र अबका गणनामा कृषि तथा हरेक क्षेत्रका विषयगत दक्ष जनशक्तिको तथ्याङ्क समेत राख्न सुझाव दिनुभयो ।