काठमाडौँ, चैत २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मलको अभाव नहुने सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद पाठकले किसान मुलुकका अन्नदाता भएको उल्लेख गर्दै विगतमा जस्तै मलका लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने बताउनुभयो ।
बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भन्नुभयो, “किसान हाम्रा अन्नदाता हुन् । विगतमा झैँ खेतीको समयमा किसानले रासायनिक मलका लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस् । यस वर्ष सरकारले के तयारी गरेको छ ? सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
सांसद पाठकले खेतीको मौसम सुरु हुनुअगावै मल आपूर्तिका लागि सरकारले गरेको तयारीका बारेमा सदनलाई जानकारी गराउन समेत माग गर्नुभयो । हरेक वर्ष मुख्य बाली लगाउने समयमा किसानले मलको चरम अभाव झेल्नुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।