कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत २५ गते । बुटवलको कृषि उपज थोक बजार केन्द्रमा हरियो तरकारी बोडीमा विषादी भेटिएको छ । चितवनबाट ल्याइएको तने बोडीमा मानव स्वास्थ्यका लागि हानिकारक मात्रामा विषादी भेटिएको हो ।
थोक बजार केन्द्रस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त बोडीमा ९७ दशमलव ०६७ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी अवशेष फेला परेको हो ।
परीक्षणबाट अत्यधिक विषादी भेटिएपछि बुटवल उपमहानगरपालिकाको टोलीले ल्याइएको १५० केजीमध्ये १२० केजी बोडी नष्ट दोकानमै बाँकी थियो भने ३० केजी भने पहिले नै बिक्री भइसकेको थियो ।
उपमहानगरपालिकाका अनुसार खरिदकर्ताको पहिचान गरी सबै १५० केजी बोडी समेत नष्ट गर्न गरिएको हो । प्राविधिक मापदण्डअनुसार तरकारीमा अर्गानोफस्फेट समूहको विषादी ४५ प्रतिशतभन्दा बढी भएमा उपभोगका लागि अयोग्य मानिन्छ ।
तर, परीक्षणमा त्यसको झण्डै दोब्बरभन्दा बढी मात्रा फेला परेपछि बोडी पूर्णरूपमा असुरक्षित रहेको पुष्टि भएको हो ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले परीक्षणका क्रममा बोडी खानै नमिल्ने अवस्थामा रहेको बताउनुभयो ।