• २५ चैत २०८२, बुधबार

तनहुँमा अनलाइनमार्फत मतदाता नामावली दर्ता तीव्र

blog

जिल्ला निर्वाचन कार्यालय तनहुँको भवन । तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २५ गते ।निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै तनहुँमा अनलाइनमार्फत दर्ता गराउनेको सङ्ख्या उत्साहजनक देखिएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्थाले गर्दा नयाँ नामावली दर्ता प्रक्रिया सहज र प्रभावकारी बनेको हो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै नाम दर्ता गराएका छन् ।

प्रविधिमैत्री व्यवस्थाले गर्दा मतदाताहरूलाई कार्यालयमै धाउनुपर्ने झन्झट हटेको छ । राष्ट्रिय परिचयपत्र नभएका नागरिकका लागि मात्र कार्यालयमा आएर बायोमेट्रिक विवरण दिने व्यवस्था मिलाइएको छ ।

यो अभियानमार्फत योग्य नागरिकलाई मताधिकार सुनिश्चित गर्न कार्यालयले प्रचारप्रसारमा समेत जोड दिएको छ ।

सबै उम्मेदवारद्वारा खर्च विवरण पेस

यसैबीच तनहुँका दुवै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।

कानुनी प्रावधान अनुसार तोकिएको समयसीमाभित्रै उम्मेदवारहरूले खर्चको फेहरिस्त निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।प्रमुख लम्सालका अनुसार क्षेत्र नम्बर १ का १६ र २ का ११ गरी कुल २७ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । 

निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थाको पूर्ण पालना भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “निर्वाचनको पारदर्शिताका लागि सबै उम्मेदवारले समयमै विवरण बुझाउनु सकारात्मक पक्ष हो ।”

प्राप्त विवरणहरूलाई आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा पठाइने कार्यालयले जनाएको छ ।