• १९ वैशाख २०८३, शनिबार

प्रविधि स्मार्ट, स्मृति सुस्त !

blog

मानव सभ्यताको विकासक्रमलाई नियाल्दै जाँदा ढुङ्गेयुगदेखि आजको कृत्रिम बुद्धिको युगसम्म आइपुग्दा मानिसले शारीरिक र मानसिक दायरालाई विस्तार गर्न प्रकृतिप्रदत्त एवं मानवनिर्मित औजार/उपकरणको सहारा लिँदै आएको छ । २१ औँ शताब्दीको तेस्रो दशकको मध्यसम्म आइपुग्दा प्रविधि केवल एक ‘औजार’ मात्र रहेन । यो त हाम्रो मस्तिष्कको एउटा अभिन्न अङ्ग जस्तै बन्न पुगेको छ । बिहान उठ्नेबित्तिकै स्मार्टफोनको स्व्रिmन स्पर्श गर्नेदेखि राति सुत्ने बेलासम्म हामी एउटा यस्तो सञ्जालमा बाँधिएका छौँ; जहाँ हाम्रा स्मृति, भावना र निर्णय प्रक्रियासमेत प्रविधिद्वारा निर्देशित हुन थालेका छन् । मानवद्वारा सिर्जित प्रविधि मानवमाथि नै हाबी भएको हो कि भन्ने सन्दर्भमा हामीबिच एउटा गम्भीर प्रश्न खडा भएको छ– के प्रविधि हाम्रो स्मरणशक्तिको सहायक हो वा यसले बिस्तारै हाम्रो स्मरण एवं संज्ञानात्मक शक्तिलाई प्रतिस्थापन गरेर एउटा ‘विकल्पको रूप’ लिँदै छ ?

डिजिटल विस्मृति : अदृश्य महामारी         

हामीले महसुस नगरेको तर एउटा तितो यथार्थ के हो भने जति जति ‘ग्याजेट’ अर्थात् हाम्रा फोनहरू ‘स्मार्ट’ बन्दै जान्छन्; उति उति हाम्रो प्राकृतिक स्मृति (स्मरणशक्ति/संज्ञानात्मक शक्ति) सुस्त बन्दै गएको छ । यसैलाई वैज्ञानिकहरूले ‘डिजिटल विस्मृति’ (डिजिटल एम्निसा) को संज्ञा दिएका छन् । यो एक यस्तो प्रवृत्ति हो, जहाँ मानिसहरूले डिजिटल उपकरणमा सजिलै उपलब्ध हुने सूचनालाई मस्तिष्कमा भण्डारण गर्न छोडिदिन्छन् किनकि प्रविधिमा मानिसको विश्वास छ । यसले मानिसको जीवनलाई सहज, सरल र द्रुत त बनाइदिएको छ तर सँगसँगै एउटा गम्भीर र अदृश्य समस्या पनि यही सहजताभित्र मौलाइरहेको छ । पहिले पहिले हामी आफ्ना आफन्त र साथीभाइका फोन नम्बरहरू कण्ठ गथ्र्यौं वा सानो डायरीमा नोट गथ्र्यौं तर आजकल परिस्थिति बदलिएको छ । साना डायरी र नोटका पानालाई स्मार्टफोनका ‘कन्ट्याक्ट लिस्ट’ र ‘रिमाइन्डर’ ले प्रतिस्थापन गरिदिएका छन् । यी सबै कुरा एक क्लिककै भरमा मोबाइलमा उपलब्ध छन् । त्यसैले मानिस अब महŒवपूर्ण जन्म तिथिमिति, वार्षिकोत्सव र चाडपर्व  सम्झिने कष्ट गर्दैनन् किनकि यिनका लागि फेसबुक र ‘क्यालेन्डर नोटिफिकेसन’ नै पर्याप्त छन् । अब हामीलाई कुनै तथ्य वा इतिहास सम्झिनु पर्दैन; त्यसका लागि ‘गुगल’ र ‘च्याटबोट’ हरू छन् । कुनै समय बाटो वा ठेगाना सम्झिन दिमाग लगाउने हामी अहिले पूर्ण रूपमा ‘गुगल म्याप’ मा आश्रित छौँ । यसरी प्रविधिमा अत्यधिक भर पर्दा आफ्नो दिशाबोध गर्ने प्राकृतिक क्षमतासमेत गुमाउँदै गइरहेका छौँ । कुनै जानकारी डिजिटल उपकरणमा सुरक्षित छ भनेर त्यसलाई बिर्सनु वा सम्झने प्रयास नगर्नु नै डिजिटल विस्मृति हो । जब मस्तिष्कलाई कुनै कुरा सम्झिनुपर्ने दबाब हुँदैन तब यसले ती सूचनालाई ‘डिस्कार्ड’ वा हटाउन थाल्दछ । मस्तिष्कले यसो गर्नु भनेको स्मृति क्षमताको ह्रास हुनु हो । प्रविधिमा अत्यधिक निर्भरताका कारण मानिसको स्मरणशक्ति कमजोर हुँदै गएको अर्थात् सूचनाहरू सम्झने क्षमता घट्दै गएको कुरा विभिन्न अध्ययन÷अनुसन्धानले पुष्टि गरेका छन् ।

सन् २०१५ मा क्यास्प्रस्की ल्याबले गरेको एक अध्ययनले निकै डरलाग्दो तथ्य सार्वजनिक गरेको थियो । उक्त अध्ययनमा संलग्न एक हजार जनामध्ये ९१ प्रतिशत सहभागीले आफ्नो फोन नम्बर सहजै भन्न सकिरहेका थिएनन् । ७१ प्रतिशतले आफ्ना सन्तानका फोन नम्बर बिर्सिएका थिए । अधिकांश सहभागीले त आफूले चढ्ने गाडीको नम्बरसमेत भन्न सकेनन् किनकि यी सबै जानकारी डिजिटल उपकरणमा सुरक्षित अर्थात् सेभ थिए । सूचनाको भण्डार मानिने इन्टरनेटले हाम्रो औँलाका टुप्पामा संसार उपलब्ध त गराइदिएको छ तर यसले हाम्रो प्राकृतिक स्मरणशक्ति र संज्ञानात्मक क्षमता (कग्निटिभ एबिलिटी) लाई भने खिया लगाउँदै छ । यसै त कम सिर्जनशीलता र बढी स्मरणशक्तिमा आधारित हाम्रो पढाइलेखाइलाई इन्टरनेट र डिजिटल उपकरणले यसबाट अझै टाढा पु¥याइदिएको छ । एक क्लिकमै सबै सूचना सहज उपलब्ध (रेडिली अभेइलेबल) हुन्छन् भने दिमागलाई किन होमवर्क दिने ? सबै यहीँ सुरक्षित छ भन्ने मानसिकताले हाम्रो मस्तिष्कलाई अल्छी बनाउँदै लगेको छ ।

डिजिटल विस्मृति कुनै भाइरल रोग त होइन तर यसको फैलावट र यसले मानव मस्तिष्कमा पार्ने असर महामारीभन्दा कम छैन । वास्तवमा मस्तिष्क एक किसिमको मांसपेशी नै हो । यसलाई जति धेरै काममा लगाइन्छ, यो त्यति नै बलियो हुन्छ । न्युरो साइन्टिस्टहरूले भनेका छन्– जुन नसाको प्रयोग हुँदैन त्यो निष्व्रिmय हुन्छ र अन्त्यमा कमजोर हुन्छ । जसरी हातको मसल बढाउन हलुका वा सानो चिज उचालेर हुँदैन । हातले भारी वा गह्रौँ चिज नै उचाल्नु पर्छ । ठिक त्यसै गरी मस्तिष्कले ठुला ठुला कुरा सोच्यो भने त्यसले आफूले गर्ने काम गरिराख्यो भने त्यो सव्रिmय हुँदै वृद्धिसमेत हुन्छ तर हाम्रो मस्तिष्कले गर्ने अधिकांश कामलाई हामीले डिजिटल उपकरणको जिम्मा लगाउँदा वा भर पर्दा यसले नयाँ कुरा भण्डारण गर्ने र पुराना कुरा सम्झिने प्रव्र्र्र्र्रिmयालाई सुस्त बनाउँदै लैजान्छ । कुनै पनि जानकारी सम्झिने प्रयास नगर्दा मस्तिष्कका कोषबिच सम्बन्ध कमजोर हुन पुग्छ र दीर्घकालीन रूपमा मानिसको सोच्ने र विश्लेषण गर्ने क्षमतामा ह्रास आउँछ ।      

विकल्पका रूपमा 

हामीले प्रविधिलाई स्मरणशक्तिको विकल्पका रूपमा लिन थाल्यौँ भने यसबाट गम्भीर दीर्घकालीन असर देखा पर्न सक्छन् । जब हरेक प्रश्नको उत्तर एक क्लिकमा पाइन्छ तब मानिसमा गहिरो चिन्तन र मनन गर्ने बानी हट्दै जान्छ । यसले हाम्रो आलोचनात्मक सोचलाई कमजोर बनाउँछ । हामीमा संज्ञानात्मक अल्छीपनाको विकास हुँदै जान्छ । त्यस्तै इन्टरनेटमा सूचनाको बाढी छ । ‘हाइपरलिङ्क’ र ‘स्व्रmोलिङ’ संस्कृतिमा अभ्यस्त हुँदा हाम्रो ध्यान एकै ठाउँमा अडिन सक्दैन । मतलब मानिसको कुनै खास विषयमा ध्यान दिने क्षमता निरन्तर घट्दै गएको छ । यो एकाग्रताको अभाव हो । हामीसँग सूचना धेरै छ तर ज्ञान कम छ । हामीले के भन्ने कुरा जान्दछौँ तर किन र कसरी भन्ने कुरामा स्पष्ट हुँदैनौँ । हाम्रो मस्तिष्कले सूचनालाई दीर्घकालीन स्मृतिमा पठाउन छाडिसकेको छ । यी सबै प्रविधिमा भर पर्दाका प्रतिफल हुन् ।

शक्तिशाली सहायक रूपमा 

प्रविधि युगको वरदान हो । तसर्थ यसलाई पूर्णतः दोष दिनु न्यायोचित हुँदैन । प्रविधि आफैँमा राम्रो नराम्रोभन्दा पनि हामीले यसलाई कसरी प्रयोग गर्छौं भन्ने कुरा मुख्य हो । यसलाई सहायकका रूपमा प्रयोग गर्ने हो भने यसले हाम्रो क्षमतालाई गुणात्मक रूपमा वृद्धि गर्न सक्छ । मानव मस्तिष्क जटिल भावना, सिर्जना र विश्लेषणका लागि उपयुक्त छ । साधारण तथ्याङ्क, नम्बर र तिथिमितिलाई ‘क्लाउड’ वा ‘डिजिटल डायरी’ मा भण्डारण गरेर हामीले आफ्नो मस्तिष्कलाई ठुला र सिर्जनात्मक कामका लागि ‘स्पेस’ खाली गर्न सक्छौँ । त्यस्तै विभिन्न शैक्षिक एपले जटिल विषयलाई पनि दृश्यका माध्यमबाट छिटो बुझ्न, बुझाउन र सम्झिन मद्दत पु¥याएका छन् । यसरी प्रविधिले सिकाइ प्रव्रिmयालाई सरल र प्रभावकारी बनाउँदै विश्वभरको ज्ञानलाई सहज रूपमा उपलब्ध गराइदिएको छ । विकट गाउँमा बसेका विद्यार्थीले पनि संसारकै उत्कृष्ट विश्वविद्यालयको लाइब्रेरीमा पहुँच राख्न सक्छ । त्यस्तै कार्यालयको रुटिन र कामलाई यसले छिटोछरितो र सहज बनाइदिएको छ । यो सबै प्रविधिको उपज हो ।

अन्त्यमा

प्रविधिलाई विकल्पका रूपमा नभई सहयोगीमा सीमित राख्न र डिजिटल विस्मृतिको खाडलबाट उम्किन ‘डिजिटल डिटोक्स’ को धारणा अपनाऔँ । यसले हप्ताको एक दिन वा दिनको केही घण्टा प्रविधिबाट टाढा राख्दै मस्तिष्कलाई ‘रिसेट’÷‘रिचार्ज’ हुन मद्दत गर्छ । कुनै पनि कुराको जानकारीका लागि ‘गुगल’ को सहायता लिनुभन्दा कम्तीमा दुईतीन मिनेट आफ्नो दिमागलाई जोड दिएर सम्झिने प्रयास गरौँ । स्व्रिmनमा ‘स्व्रmोल’ गर्नुको सट्टा पुस्तक पढ्ने बानी बसाल्न सकियो भने यसले गहिरो अध्ययनतर्फ अगाडि बढाउँछ; जसले मस्तिष्कमा ‘न्युरल पाथवे’ निर्माण गर्छ । यसले स्मरणशक्तिलाई बलियो बनाउँछ । प्रविधिलाई आफ्नो मालिक होइन, दास बनाऔँ । कुन कुरा सम्झिने र कुन फोनमा राख्ने भन्ने कुराको वर्गीकरण गरौँ । मस्तिष्कको स्वास्थ्य शरीरसँग जोडिएको हुन्छ । नियमित व्यायाम, योग र ध्यानले एकाग्रता बढाउने हुँदा यसको अभ्यास गरौँ; जसले डिजिटल कोलाहलबिच पनि शान्त रहन सिकाउँछ । अतः प्रविधि हाम्रो स्मरणशक्तिको विकल्प कदापि हुन सक्दैन । प्रविधि अर्थात् डिजिटल उपकरणको उदयले हामीलाई सूचनाको भारी बोक्नबाट मुक्त गरिदिएको छ । यस भारीबाट मुक्त भएपछि हामी ज्ञान र विवेकको खोजीमा लाग्न सक्नु पर्छ । यसलाई हामीले बैसाखी बनायौँ भने हामी मानसिक रूपमा अपाङ्गता हुने निश्चित छ । त्यसैले यसलाई बुद्धिमानीपूर्वक सहयोगीका रूपमा अँगालौँ । यसो गर्दा नै मानव सभ्यता विकासको नयाँ उचाइमा पुग्ने छ । ‘प्रविधिलाई परिचालन गरौँ परिचालित नहोऔँ’ ।