• १९ वैशाख २०८३, शनिबार

जाजरकोटमा न्यून शुल्कमै प्राविधिक शिक्षा, विद्यार्थी उत्साहित

blog

भेरी नगरपालिका–५ काफलचौरमा रहेको जाजरकोट बहुप्राविधिक शिक्षालय । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, वैशाख १९ गते ।
जाजरकोट बहुप्राविधिक शिक्षालय, भेरी नगरपालिका–५ काफलचौरले यस वर्ष न्यूनतम शुल्कमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने भएपछि विद्यार्थीहरूमा खुसी छाएको छ ।

शिक्षालयले तीन वर्षे डिप्लोमा इन फार्मेसी ५० हजार रुपियाँमै अध्ययन गर्न पाइने व्यवस्था गरेको छ । त्यस्तै डिप्लोमा इन फरेस्ट्री ३० हजार, सिभिल इन्जिनियरिङ ३६ हजार र एनिमल साइन्स ३५ हजार रुपियाँमै पढ्न पाइने भएपछि ग्रामीण क्षेत्रका विद्यार्थीका लागि यो सुविधा निकै सहुलियतपूर्ण भएको छ ।

महँगो शुल्क असुल्ने निजी कलेजहरूको तुलनामा जाजरकोटमै यति कम शुल्कमा फार्मेसी अध्ययन गर्न पाइने खबरले विद्यार्थी र अभिभावक दुवै उत्साहित भएका छन् ।

यसअघि आर्थिक अभावका कारण धेरै विद्यार्थीले एसइईपछि अध्ययन रोक्नुपर्ने अवस्था रहेकामा अब त्यसबाट राहत मिल्ने भएको छ । साथै प्राविधिक शिक्षा अध्ययनका लागि सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायतका सहर धाउनुपर्ने बाध्यता पनि हट्ने अपेक्षा गरिएको छ ।

भर्ना खुलेसँगै जाजरकोट, रुकुम, सल्यान, दैलेख, डोल्पालगायत जिल्लाका विद्यार्थीमा उत्साह बढेको छ । सीमित सिट भएकाले समयमै आवेदन दिन शिक्षालयले आग्रह गरेको छ । हाल पनि बाहिरी जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको जनाइएको छ ।

भेरी नगरपालिका–१ कोल्चौरका मनोज विकले गाउँमै न्यून शुल्कमा पढ्न पाउनु आफ्ना छोराछोरीका लागि  ठुलो सहुलियत भएको बताउनुभयो । उहाँले निम्न आय भएका विपन्न समुदायका लागि शिक्षालयले ठुलो अवसर प्रदान गरेको उल्लेख गर्नुभयो ।

शिक्षालय प्रमुख इश्वरीचन्द्र देवकोटाका अनुसार जाजरकोट बहुप्राविधिक शिक्षालयलाई थप व्यवस्थित, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने काम भइरहेको छ । उहाँका अनुसार यो शिक्षालय सीटीईभीटीको आंगिक तथा सरकारी शिक्षालय हो र देशमै न्यून शुल्कमा प्राविधिक शिक्षा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन भइरहेको छ ।