• १९ वैशाख २०८३, शनिबार

जातव्यवस्थाविरुद्ध बुद्ध

blog

झन्डै पाँच हजार वर्षअघि ऋग्वेदको पुरुषसूक्तमा वर्णव्यवस्थाको उल्लेख पहिलो पल्ट भएको हो । ऋग्वेदको १० औँ मण्डलको ९० औँ सूक्तमा पुरुषसूक्तको वर्णन छ । त्यसको एक स्तुति अनुसार आदिपुरुष प्रजापति ब्रह्माको उत्पत्ति सृष्टिपूर्व नै भइसकेको थियो । उनका सन्तान देवताहरूले उनलाई ‘दैविक बलि’ चढाए । फलस्वरूप ब्रह्माको मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय, जाँघबाट वैश्य र खुट्टाबाट शूद्र उत्पत्ति भए । त्यसै गरी मुखबाटै इन्द्र र अग्नि, मस्तिष्कबाट चन्द्रमा, आँखाबाट सूर्य, श्वासबाट हावा, नाभीबाट वायु अनि यही ‘दैविक बल’ बाट ‘पवित्र सिद्धान्त’ उत्पत्ति भयो । पुरुषसूक्तको मन्त्र सङ्ख्या ११ र १२ मा चार वर्णको उत्पत्ति ईश्वरले नै गरेको उल्लेख छ । भारतीय समाजशास्त्री डा. विजयकुमार त्रिशरणका अनुसार यसैलाई यजुर्वेद र अथर्ववेदमा पनि उल्लेख गरियो । उत्तरवैदिक हिन्दु धर्मग्रन्थहरूले वर्णलाई चार सामाजिक वर्गको प्रतिनिधिका रूपमा व्याख्या गरे । 

ब्राह्मण राजा पुष्यमित्रको कालमा मनुद्वारा इस्वीपूर्व १५० मा रचित ‘मनुस्मृति’ आयो । यसमा चार वर्णको विस्तारित व्याख्या र विशेष वर्णन गरियो । यसलाई हिन्दु समाजको दण्ड विधानका रूपमा व्याख्या गरी पहिलो पल्ट संस्थागत गर्ने काम भयो । भारतीय मानवशास्त्री चन्द्रभान प्रसादका अनुसार यसमै पहिलो पल्ट शूद्रमाथि सामाजिक, शैक्षिक, आर्थिक, धार्मिक तथा राजनीतिक निषेधको व्यवस्था गरियो । ब्राह्मणको काम धर्मग्रन्थ पाठ गरी पुरोहित्याइँ गर्नु, क्षत्रीयको काम लडाइँ, वैश्यको काम व्यापार र शूद्रको काम यी तीन समुदायको सेवा गर्नु तोकियो । 

यही प्रथाको उत्तरदानस्वरूप जातिभेद र अस्पृश्यताको भुमरीमा अझै पनि हाम्रो समाज रुमल्लिइरहेको छ । शूद्र भएर तपस्या गरेकै कारण ‘रामायण’ मा शम्बुकको हत्या गरिन्छ । सूतपुत्र भएको आरोपमा ‘महाभारत’ मा कर्णलाई बारम्बार अपमान र तिरस्कार गरिन्छ । रङ्गभूमिमा अर्जुनसँग प्रतिस्पर्धा गर्न र द्रौपदीको स्वयंवरका लागि राखिएको मत्स्यवेद प्रतियोगिताबाट उनलाई वञ्चित गरिन्छ । शूद्र भएकैले एकलव्यलाई धनुर्विद्या सिकाउन गुरु द्रोण अस्वीकार गर्छन् । त्यही प्रथाको नीलडाम आधुनिक युगले समेत भोगिरहेको छ । अजित मिजार, नवराज विकलगायत थुप्रै प्रेमीप्रेमिका अन्तरजातीय प्रेम गरेकै कारण मारिएका छन् । कैयन् निर्घात पिटिएका छन् । दलित युवकले अन्तरजातीय बिहे गरेका कारण सुदूरपश्चिममा उनका बाबुलाई भिरबाट खसालेर मारिएकालगायत सहस्रौँ सवाल छन् । तिनको आत्मसम्मानमाथि प्रहारका प्रसङ्ग त अगणित छन् ।

जातव्यवस्थाप्रति असहमति राखेर विद्रोह गर्ने सम्भवतः पहिलो बुद्ध थिए । झन्डै २६ सय वर्षअघि नै उनले आफ्नो सङ्घमा उपाली, सुनीत, स्वास्तीलगायत शूद्रलाई विशेष प्राथमिकता दिएर वर्णव्यवस्थालाई धुलो चटाइदिएका थिए । जातिभेद, कर्मकाण्ड, धार्मिक अन्धविश्वासविरुद्ध नै उनी ज्ञानको खोजीमा हिँडेका थिए ।

जन्मैले कोही अछुत हुँदैन

बौद्ध विद्वान् तिक न्यात हन्हको पुस्तक ‘ओल्ड पथ, ह्वाट क्लाउड’ मा स्वास्ति नामक शूद्र गोठाला बालकसँग बुद्धको मित्रताको रोचक प्रसङ्ग छ । सम्बोधि प्राप्त गर्नुअघि अरुबेला गाउँनजिकैको वनमा ‘अछुत’ बालक स्वास्ति तपस्वी सिद्धार्थको साथी बनेका थिए । स्वास्तिका बाबुआमा दुवै धेरैअघि बितिसकेका थिए । बाह्रबर्से यी बालक साहुको भैँसी गोठाला भएर आफ्ना भाइबहिनी पालिरहेका थिए ।

उनले सिद्धार्थलाई ध्यान गर्ने आसन बनाउन कुसको घाँस दिएर सहयोग गरेका थिए । स्वास्तिसँग पहिलो भेट हुँदा सुजाता सिद्धार्थलाई खाना दिँदै थिइन् । सिद्धार्थले उनलाई बोलाए । ती शूद्र बालक उच्चजातीय ग्राम प्रमुखकी छोरी सुजातालाई देखेर अनकनाइरहेका थिए । सिद्धार्थले उनलाई आफूसँगै बस्न आग्रह गरे । 

“स्वास्ति, तिमीले खाना खायौ ?” सिद्धार्थले सोधे ।

“छैन श्रीमन,” स्वास्तिले भने ।

“ठिक छ, त्यसो भए हामी तिनै जनाले बाँडेर खाऊँ, हुन्छ ?”

सिद्धार्थले एक भाग स्वास्तिलाई दिए । स्वास्तिले धन्यवाद भन्दै खाना लिन अस्वीकार गरे । एउटा पोका खोलेर स्वास्तिले भने, “मैले पनि अलिकति खाना ल्याएको छु श्रीमन ।”

उनले केराको पातमा खाना राखे । खानामा खैरो रङका मोटा मोटा भातका सिता थिए । विचरा उनको खानामा सितन थिएन । सिद्धार्थको भागमा भने नरम, सेतो चामलको चाम्री र स्वादिलो सितन थियो । सिद्धार्थ मुस्कुराए, “त्यसो भए सबै भोजन तिनै जनाले बाँडेर खाऊँ, हुन्न ?”

सिद्धार्थले सबै खाना तीन भाग लगाए ।

“सुजाता, स्वास्ति, तिमीहरूले ल्याएको खाना बहुतै मूल्यवान् छ । म खाँदा मौन हुन्छु ताकि यसको स्वाद पूर्ण रूपले आत्मसात् गर्न सकूँ । सुजाता, तिमीले स्वास्तिले ल्याएको खैरो रङको मोटो चामलको भात कहिल्यै खाएकी छ्यौ ? यो चाख । खुबै स्वादिष्ट हुन्छ । अब हामी तिनै जना खाना खाउन्जेल पूरै मौन रहन्छौँ ।”

तिनै जनाले चुपचाप भोजन गरे । भोजनपछि सुजाताले प्यालामा गाग्रीबाट पानी खन्याइन् र सिद्धार्थलाई दिइन् । सिद्धार्थले स्वास्तिलाई दिए । स्वास्तिले अप्ठेरो मान्दै भने, “श्रीमन, पहिले तपाईं पिउनुस् ।”

“स्वास्ति, म चाहन्छु, पहिला तिमी नै पिऊ,” उनले फेरि प्याला स्वास्तिलाई दिए ।

स्वास्ति दुबिधामा परे । उनले धन्यवाद भन्दै दुवै हातले प्याला उठाए र पानी पिए । त्यसपछि त्यसै प्यालामा सिद्धार्थले आनन्दपूर्वक पानी पिए अनि सुजातालाई दिए । सुजाताले पनि त्यसै गरी पिइन् । 

कुनैबेलाका राजकुमार सिद्धार्थले एक ‘अछुत’ को प्यालामा पानी पिएको देखेर सुजाता अचम्मित भएकी थिइन् । यसरी सिद्धार्थप्रति उनमा अनौठो आदरभाव उम्लिरहेको थियो । 

“सुजाता, स्वास्ति, तिमीहरूले मेरो आशय बुझ्यौ होला । साधनाका व्रmममा मलाई के बोध भएको छ भने जन्मैले कोही अछुत हुँदैन । सबको आँसुको रङ निर्मल हुन्छ । सबैको रगत रातै हुन्छ । त्यसो भएपछि के फरक भयो त ? त्यसैले मान्छेलाई जातिका आधारमा भेदभाव गर्नु अमानवीय कुरा हो, बुझ्यौ ?”

सुजाताले भनिन्, “मलाई तपाईंका कुरामा पूरै विश्वास छ तर तपाईंबाहेक यस्तो भन्ने कोही छैनन् । शूद्र र अछुत ब्रह्माको खुट्टाबाट जन्मेका हुन् भन्नेमा सबै जना विश्वास गर्छन् । वेदशास्त्रले पनि यही भनेका छन् । कोही पनि यसभन्दा भिन्न तरिकाले सोच्ने साहसै गर्दैनन् । किन होला गुरु ?”

“हो, मलाई थाहा छ तर कसैले विश्वास गरे पनि नगरे पनि सत्य त सत्य नै हो । करोडौँ मान्छेले विश्वास गरे पनि झुट त झुट नै हुन्छ । सत्यको बाटोमा हिँडेर जीवननिर्वाह गर्न ठुलै साहस 

चाहिन्छ, सुजाता !”

बुद्ध शिक्षा

ज्ञान प्राप्तिपछि तपस्वी सिद्धार्थ बुद्ध नामले प्रसिद्ध भए । उनले असार पूर्णिमाका दिन सारनाथमा आफ्ना पूर्वतपस्वी मित्र कौडन्न, महानाम, भद्दीय, बप्प र अस्सजीलाई आफूलाई प्राप्त ज्ञानबारे प्रवचन दिए । बौद्ध साहित्यमा त्यसलाई धर्मचव्रm प्रवर्तन भनिन्छ । 

“मित्रहरू, ज्ञानमार्गका अनुयायी सबै जना अतिवादबाट बच्नु जरुरी छ । विषय वासना (भोगविलास) मा चुर्लुम्म डुब्नु एउटा अति हो । शरीरलाई कष्ट दिनु वा आधारभूत आवश्यकताबाट वञ्चित राख्नु अर्को अति । अतिबाट विफलता मात्र मिल्छ । मलाई प्राप्त ज्ञानमा अतिको कुनै स्थान छैन । मेरो तरिका मध्यमार्ग हो । यसले नै मान्छेलाई ज्ञान, मुक्ति र शान्तिको मार्गतिर अग्रसर गराउँछ । मान्छे दुःखी छ, दुःखको कारण छ, दुःखबाट मुक्ति पाउन सकिन्छ र मुक्ति पाउने उपाय पनि छ । यी हाम्रो जीवनका चार आर्य सत्य हुन् ।”

बुद्धका अनुसार पहिलो आर्य सत्य जन्म, जरा, रोग, मृत्यु, शोक, व्रmोध, द्वेष, चिन्ता, उद्वेग, भय र निराशा सबै दुःख हुन् । मानिसको जीवनमा यी सबैको उपस्थिति छ । प्रियजनसँगको वियोग र अप्रियजनसँगको मिलन पनि दुःख हो । दोस्रो आर्य सत्य, दुःखको मूल अज्ञान हो । तेस्रो आर्य सत्य, जीवनको सच्चा ज्ञान प्राप्तिपछि दुःख र शोकको निदान हुन्छ । चौथो आर्य सत्य हो, दुःख निदानको उपाय । यो अष्टाङ्ग मार्गबाट प्राप्त गर्न सकिन्छ । बुद्धको अष्टाङ्ग मार्ग सही (सम्यक्) ज्ञान, सही विचार, सही वाणी, सही कर्म, सही जीवनयापन, सही प्रयास, सही चेतना र सही एकाग्रता हुन् ।

उनले भने, “मित्रहरू, ज्ञान दुःखसँग सोझै सामना गर्ने मार्ग हो । खासमा यो सचेत अवस्थामा अर्थात् हरेक क्षण जागृत भएर बाँच्ने तरिका हो । सचेत अवस्थाको अभ्यासले एकाग्रता प्राप्त हुन्छ । अनि एकाग्रतामै ज्ञान प्राप्त गर्न सकिन्छ । सही एकाग्रताले सही चेतना, सही विचार, सही वाणी, सही कर्म, सही जीवनयापन र सही कर्म प्राप्त गर्न सकिन्छ । यसरी प्राप्त ज्ञानले दुःखका हरेक बन्धनबाट मुक्ति मिल्छ । अनि सही शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ ।”

यही ज्ञान उनले भारतवर्षभरि बाँड्दै हिँडे; जुन आज संसारभरि फैलिएको छ ।

‘शूद्र’ को प्रतिभा

बुद्धको ज्ञान अन्याय, अत्याचार, अन्धकार, जातिभेद, अशान्तिलगायत सारा अज्ञानबाट मुक्तिका लागि थियो । त्यसलाई उनी आफैँले लागु गरेर देखाए । 

तिक न्यात हन्हको सोही पुस्तक अनुसार वर्षा प्रवासपछि एक दिन बुद्ध र उनका भिक्षुहरू गङ्गाकिनारको एक गाउँमा भिक्षाटन गरिरहेका थिए । बुद्धले मलमूत्रको बाल्टिन बोकेर हिँडिरहेका एक युवकलाई देखे । तिनको नाम थियो सुनीत । उनको कपडा मैला थिए र मलमूत्रको गन्ध सहिनसक्नु थियो । उच्च वर्ग र जातका बुद्ध अनि उनका उच्चवर्गीय भिक्षुहरू आफ्नो स्पर्शबाट अपवित्र नहोऊन् भनेर ती दलित युवक बाटोबाट पन्छिएर गङ्गाको किनार हुँदै अगाडि बढे । बुद्धले उनलाई पछ्याए । सारिपुत्त र मेघीय नामका भिक्षु पनि बुद्धको पछि लागे । युवक डराए । उनी बाल्टिन एकातिर राखेर नदीमा लुक्न गए तर पानी घुँडासम्म मात्र आयो । अन्ततः हात जोडेर उनी त्यहीँ उभिए । बुद्धले भने, “मित्र नडराऊ, यहाँ आऊ, म तिमीसँग कुरा गर्न चाहन्छु ।”

हात जोड्दै सुनीतले भने, “म अछुत हुँ, तपाईं र तपाईंका भिक्षुलाई अपवित्र पार्न चाहन्नँ गुरु !”

बुद्धले भने, “‘सुनीत, तिमी हामी जस्तै मान्छे हौ । लोभ, घृणा र हिंसाले मान्छेलाई अपवित्र बनाउँछ । तिमी श्रमिक हौ, मेरो सङ्घमा आऊ । त्यहाँ कोही उँचा र निचा अनि छुत र अछुत हुँदैन ।”

बुद्धको कुराले द्रवित हुँदै उनले भने, “आजसम्म कसैले मसँग यति आत्मीय भएर बोलेको थिएन । आजको दिन मेरा लागि सर्वाधिक प्रसन्नताको दिन हो । तपाईं मलाई शिष्य बनाउनुहुन्छ भने म अवश्य आफ्नो सम्पूर्ण चेतनासाथ तपार्इंको शिक्षा अनुरूप अगाडि बढ्छु ।”

त्यसपछि बुद्ध स्वयम् र उनका भिक्षुले सफा हुने गरी सुनीतलाई नुहाइदिए । अनि नदीकिनारमै प्रव्रज्या दिए । 

यस खबरले उच्च वर्ग र जातबिच ठुलो खलबली मच्चियो । कोसलको इतिहासमा यतिन्जेल कसैले शूद्रलाई धार्मिक समुदायमा प्रवेश दिएको थिएन । यस ‘पवित्र परम्परा’ लाई उल्लङ्घन गरेको भन्दै मानिसहरूले बुद्धको निन्दा गर्न थाले । बुद्ध कति पनि विचलित 

भएनन् । भिक्षुहरूसँग उनले भने, “सुनीतलाई प्रव्रज्या दिँदा आज हामीले कठिनाइ झेल्नु परेको छ; यो साँचो हो तर यो यस्तो अपूर्व घटना हो जसका लागि आगामी पिँढीले हामीलाई धन्यवाद दिने छ । हामीले धैर्य र साहस गुमाउनु हुँदैन ।”

बुद्धको निन्दा चुलिँदै गएपछि एक दिन राजा प्रसेनजित स्वयम् बुद्धलाई भेट्न आइपुगे । उनी आउँदा कुटीबाहिर भिक्षुको सानो दललाई अर्का भिक्षु आकर्षक शैलीमा विद्वत् प्रवचन दिइरहेका 

थिए । राजाले उनको बारे सोध्दा बुद्धले भने, “तिनको नाम सुनीत हो, कुनै दिन उनी अछुत मानिन्थे र मानिसहरूको मलमूत्र बोक्ने काम गर्थे । तपाईंलाई उनको प्रवचन कस्तो लाग्यो ?”

बुद्ध शिक्षाको प्रभावकारिता देखेर राजा अचम्मित भए । त्यसपछि यो विवाद त्यत्तिकै सामसुम भयो । भिक्षु सङ्घमा पछि स्वास्ति, सुनीत मात्र होइन; अर्का दलित युवक उपालि पनि उच्च सम्मानित पदमा पुगे । विगतमा शूद्र भएकामा तिनको सम्मान र आत्मसम्मानमा कहिल्यै आँच आएन । 

अन्त्यमा

जातव्यवस्थाको अन्त्य आज ठुलो राजनीतिक मुद्दा बनेको छ । त्यसको समाधान अब इतिहासदेखि भएको अन्यायको क्षतिपूर्तिबाट मात्र सम्भव छ तर ‘जन्मैले कोही उँचो र निचो हुँदैन’ भन्ने सन्देश व्यवहारबाटै साबित गरेर २६ सय वर्षअघि नै बुद्धले त्यसको समाधान पहिल्याइसकेका थिए । २१ औँ शताब्दीको हाम्रा गणतान्त्रिक संरचनाहरूमा अझै दलितलाई तिनको अधिकारका रूपमा नभई दयाका रूपमा समावेश गरिएको छ । सामाजिक जीवनमा त तिनको आत्मसम्मानमाथि पु¥याइएका चोटको हिसाब गरिनसक्नु छ । उच्च शिक्षितहरूबिच समेत ‘आशय छुवाछुत’ बाँकी छ । २६ सय वर्षअघिका बुद्धबाट हामीले कहिले सिक्ने होला ?

लेखक बाट थप