मकवानपुर समाचारदाता
मकवानपुर, वैशाख १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साधारण खर्च कटौतीलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । उहाँले भ्रमणलगायतका फजुल खर्च कटौती गरिएको भन्दै पेट्रोलिय पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धिपछि अनावश्यक रूपमा सवारीसाधनको प्रयोग नगर्नेलगायतका सुधार काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले सहज रूपमा सेवा पाउने अवस्थाको सुनिश्चितता गर्न सरकार लागेको बताउनुभयो ।
साधारण खर्च कटौतीसँगै नागरिकलाई प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन लागेका छौँ । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “जनताले सहज र छिटोछरितो रूपमा सेवा पाउने अवस्थाको सुनिश्चितता गर्न प्रदेश सरकारले काम गरिरहेको छ ।” चालु आवका लागि यसअघिका सरकारले विनियोजन गरेको चालुतर्फको बजेटमा खर्च कटौती गरिएको भन्दै ६७ अर्बमध्ये ४१ अर्ब पुँजीगत र २६ अर्ब चालुतर्फ रहेको छ, २६ अर्बबाट साधारण खर्च दुई अर्ब रुपियाँ कटौती गरिएको जानकारी दिनुभयो ।
कतिपय सञ्चार माध्यममा मुख्यमन्त्री र प्रमुख सचिवबिचको नोकझोकलगायतका नकारात्मक विषय आउने गरेको भन्दै कार्यसम्पादनका व्रmममा संवाद र छलफलका बारेमा सत्य तथ्य समाचार नजाँदा समाजमा नै भ्रम सिर्जना हुने गरेको बताउनुभयो ।
राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबिच कुनै विवाद र समस्या नरहेको उहाँको स्पष्ट भनाइ थियो । उहाँले परदर्शी, जवाफदेही र जनताप्रति उत्तरदायी प्रशासनको पक्षमा वर्तमान प्रदेश सरकार रहेको भन्दै कर्मचारीबाट सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न तत्परताका साथ प्रदेश सरकार लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई प्रत्यक्ष सेवा दिने, प्रदेश सरकार मातहतका यातायातलगायत कार्यालयलाई गुनासोरहित बनाउन लागेका छाँै ।”
प्रदेश सरकारको राजस्वको मूल स्रोत यातायात भएकाले राजस्व वृद्धिका लागि गर्नुपर्ने सुधार र प्रविधिमैत्री बनाउन लागेको भन्दै मुख्यमन्त्री बानियाँले भन्नुभयो, “घरबाटै सेवा पाउने गरी सूचना र प्रविधि प्रयोग गर्न लागिएको छ, जनताले सहज र छिटोछरितो रूपमा सेवा पाउने अवस्थाको सुनिश्चितता गर्न सरकार लागेको छ ।”
मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव बाबुराम गौतमले मुख्यमन्त्री कार्यालयका बारेमा तथ्यपूर्ण समाचार प्रकाशन प्रसारण गर्न आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र प्रदेश सचिव रामबाबु पुरीको उपस्थिति रहेको थियो ।