अमरराज नहर्की
तनहुँ, चैत २५ गते । तनहुँका कुखुरापालक किसान आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाएपछि आन्दोलित भएका छन् । उत्पादक किसान र उपभोक्ताबिचको मूल्यमा ठुलो अन्तर रहेको र बिचौलियाको चलखेलका कारण वास्तविक किसान मारमा परेको भन्दै उनीहरूले स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन्
जिल्लाका विभिन्न स्थानमा रहेका किसानहरूले कृषिप्रधान देशमा स्थानीय सरकारले आफ्नो पीडा नसुनेको गुनासो गर्दै तत्काल समर्थन मूल्य तोक्न माग गरेका छन् । यसै सन्दर्भमा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई ज्ञापनपत्र बुझाउँदै किसानहरूले बिक्रेताको मनोमानीका कारण पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । किसान विशन गुरुङले उत्पादकले लागत अनुसारको मूल्य नपाउने तर उपभोक्ताले भने पसलैपिच्छे चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । “बिक्रेताले महिनौँसम्म किसानलाई भुक्तानी नदिने प्रवृत्तिले हामी टाँट पल्टिने अवस्थामा पुगेका छौँ, यसमा नगरपालिकाले तुरुन्त हस्तक्षेप गर्नुपर्छ ।’’ उहाँले भन्नुभयो ।
अर्का किसान बोमबहादुर गमालले बाहिरबाट आउने कुखुराले स्थानीय उत्पादनलाई विस्थापित गर्न खोजेको र सप्लायर्सहरूले बजार नियन्त्रण गर्दा श्रम गर्ने किसान मर्कामा परेको बताउनुभयो ।
आन्दोलित किसानहरूले बुझाएको ध्यानाकर्षणपत्रमा कुखुराको मासुको न्यूनतम र अधिकतम समर्थन मूल्य तोक्न माग गरिएको छ । नगरपालिकाले श्रमको मूल्य सुनिश्चित नगरे र बजारमा एकरूपता नल्याए कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् । साथै, किसानसँग कुखुरा लगेपछि तुरुन्त भुक्तानी गर्ने व्यवस्था मिलाइदिन समेत उनीहरूको आग्रह छ । ज्ञापनपत्र बुझ्दै उपप्रमुख विकले किसानका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको र यसअघि पनि यसबारे छलफल भएकाले छिट्टै निकास निकाल्ने आश्वासन दिनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत पौडेलले उत्पादक, सप्लायर्स र उपभोक्ता अधिकारकर्मीहरूसँग संयुक्त छलफल गरी उचित निष्कर्षमा पुगिने जानकारी दिनुभयो ।