गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २४ गते । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ ले जितेको छ । काठमाडौँको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सोमबार भएको समापन कार्यक्रममा उक्त चलचित्रलाई ट्रफी र एक हजार पाँच सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुद्र भट्ट निर्देशित ‘गुन्युचोलो : दी ड्रेस’ ले पाएको छ । चलचित्रले ट्रफीसँगै एक हजार अमेरिकी डलरले प्राप्त गरेको छ । यसै चलचित्र भट्टले उत्कृष्ट निर्देशकको र नायक नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जित्नुभएको छ । यस्तै चलचित्र ‘कोसेढुङ्गा’ बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट नायिकाको अवार्ड पाउनुभएको छ । राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र ‘केटी हराएको सूचना’ बाट दीपेन्द्र गौचन पाउनुभयो भने सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड चलचित्र ‘कोसेढुङ्गा’ बाटै बाबु श्रेष्ठलाई प्रदान गरियो ।
दक्षिण एसियाली चलचित्र अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय चलचित्र ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ । फुर्वाक्षिरिङ लामा निर्देशित चलचित्रले ट्रफी र पाँच सय अमेरिकी डलर पाएको छ । त्यस्तै सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ ले पाएको छ । इर्सा रोका फ्यानवर्ग निर्देशित डकुमेन्ट्रीलाई ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड ‘सिप’ लाई प्रदान गरिएको छ । हादी बाबेइफरद्वारा निर्देशित इरानको सर्ट फिल्म ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ ।
सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड जितेको ‘स्पिरिट अफ दी माउन्टेन’ ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ । पाङ जियाद्वारा निर्देशित यो चिनियाँ सर्ट फिल्म हो । सर्वोत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र ‘पासारिन्हो’ घोषित भएको छ भने चलचित्रलाई पाँच सय डलर र ट्रफीले सम्मान गरिएको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री दीपक छोदेन लामाद्वारा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको सुरज पौडेलद्वारा ‘रिहाना’ घोषित भए । यी दुवैलाई ट्रफी र पचास हजार रुपियाँले सम्मानित गरिएको थियो ।
डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड इरानी चलचित्र ‘माई डटर्ज हेयर’ लाई प्रदान गरिएको छ । स्पेसल मेन्सन राष्ट्रिय डकुमेन्ट्री ङिमा गेलु शेर्पाद्वारा निर्देशित ‘एज डे गोज बाई’ र स्पेसल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म भारतको ‘हाउसकिप्पर’ घोषित भयो । स्पेसल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्र अवार्ड भने चिनियाँ चलचित्र ‘दी शोर अफ लाइफ’ घोषित भएको छ । कार्यक्रमका प्रमुख अतिथि हार्तम्छालीले अवार्ड कार्यक्रम आयोजना गरी विदेशी चलचित्र उद्योगसँग नेपाली चलचित्रलाई जोड्ने र सम्बन्ध विस्तारको काम गरेको बताउनुभयो ।