• २५ चैत २०८२, बुधबार

सडक बनाउन आफ्नो घर आफैँ भत्काउँदै

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत २५ गते । पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत मोरङको पथरी बजार क्षेत्रमा छ लेनको सडक कायम गर्न सडकभित्र परेका घरटहरा घरधनी आफैँले हटाउन सुरु गरेका छन् । सडकको ५० मिटर क्षेत्रभित्र बजारका ८१ वटा घरटहरा पर्छन् । अधिकांश घरटहराको अधिकतम छ फिटसम्म सडक क्षेत्रमा परेको छ । 

२०७६ सालमा सडकको डिपिआर गर्दा पथरी बजार क्षेत्रलाई अर्धसहरी क्षेत्र मानेर सडक ३३ मिटर चौडाको बनाउने निर्णय भएको थियो । स्थानीय सङ्घर्ष समितिले पूर्ण सहरी मापदण्ड अनुसार सडक ५० मिटरको बनाउन माग गर्दै काम रोकेपछि आयोजना प्रमुख, नगरपालिका र स्थानीय उपभोक्ताबिच सडक ५० मिटर बनाउने आन्तरिक सहमति जुटेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापाले बताउनुभयो । सडक ५० मिटरको बनाउनेसँगै छलफलमा स्थानीयले पथरी बजारपूर्वको लाटीहोलीको कलभर्ट र पश्चिमतर्फको पथरीखोलाको पुल ५०/५० मिटरको बनाउनुपर्ने माग राखेका छन् । सडक र पुल कलभर्ट ५० मिटरको बनाउनुपर्ने माग राखेपछि हाल पथरी बजार खण्डमा निर्माण रोकिएको छ । 

पूर्वपश्चिम राजमार्ग विस्तार योजना काँकडभिट्टा–लौकही सडक पश्चिम खण्ड इटहरीका आयोजना प्रमुख जगत प्रजापतिले सडक ५० मिटर बनाउने विषयमा आयोजना सधैँ सकारात्मक नै छ । कलभर्टको साइज ५० मिटर बनाउन पनि निर्माण कम्पनीसँग सहमति जुटाउन सकिन्छ तर हाल चार लेनका दुई वटा पुल निर्माण अन्तिम चरणमा छन् । दक्षिणतर्फको एकतर्फी पुल बनिसक्यो । पुलको साइज विस्तार गर्ने विषयमा आयोजनाले एक्लै निर्णय गर्न सक्दैन । उहाँले स्थानीय र नगरपालिकाको माग अनुसार साइट क्लियर भए सडक विस्तार गरी छ लेनको बनाउन सकिने तर पुल विस्तारका लागि दातृ निकाय र निर्देशनालयको सहमति आवश्यक हुने बताउनुभयो । 

आयोजना प्रमुख प्रजापतिले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजना हो, त्यति सजिलै डिपिआर बदल्न सकिन्न । थुप्रै कानुनी प्रक्रिया पूरा गर्नु पर्छ । स्थानीयले हरेक छलफलमा नयाँ नयाँ माग राख्दै जानुभएको छ । यस्ता मागले एकातर्फ गौरवको आयोजना समयमा सम्पन्न नहुने अवस्था सिर्जना भएको छ, अर्कातर्फ काम रोकिदिँदा निर्माण व्यवसायीलाई पनि समस्या हुने देखिन्छ ।” 

एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माणाधीन सडकको २०७६ सालमा डिपिआर निर्माण अर्धसहरी क्षेत्र मानेर चार लेनको बनाउने निर्णय भएको थियो तर स्थानीयले नाला, फुटपाथ, सर्भिस लेनसहित छ लेनको सडक हुनुपर्ने र पूर्ण सहरी मापदण्ड अनुसार निर्माण हुनुपर्ने माग राखेपछि हाल निर्माण पथरी बजार क्षेत्रमा ठप्प छ । 

पथरी शनिश्चरे–१ का वडाध्यक्ष भीमकुमार राईले भन्नुभयो, “हामी आयोजनाले भनेबमोजिम साइट क्लियर गर्न जुटिसकेका छौँ । पूर्ण रूपमा कसैका घर क्षति हुने देखिन्न । धेरै जनाले आफैँ घर, बरन्डा र पाली हटाइसक्नुभयो ।” पथरीलाई सहरका रूपमा विकसित गर्न नसकिए ५० वर्षपछि वडाध्यक्ष राईले बताउनुभयो । यता सङ्घर्ष समितिका सदस्य राजेन्द्र भण्डारीले पुलको चौडाइ ५० मिटर बनाउन नगरपालिकाको पहलमा आयोजना प्रमुखलाई सँगै लिएर सङ्घर्ष समिति र वडा नं. १ का वडाध्यक्ष सडक विभाग डेलिकेसन जाने तयारी भइरहेको जानकारी दिनुभयो ।