बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), चैत २५ गते । शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षाक्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालय
केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षामन्त्री पोखरेलले सीमित स्रोतसाधनका बिच पनि सरकारले शिक्षाक्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।
सबैको साथ र सहयोगले आगामी पाँच वर्षमा शिक्षाक्षेत्रमा नयाँ परिवर्तनको आभास हुने छ, मन्त्री पोखरेलले भन्नुभयो, “शिक्षाक्षेत्रको सुधारका लागि लगानी बढाउँदै स्वास्थ्यलगायत अन्य क्षेत्रको पनि समग्र विकासका लागि सरकारले सक्दो प्रयास गर्छ ।”
सुदूरपश्चिम विश्वविद्यालयमा पूर्वाधार विकास तथा आवश्यक लगानीका लागि पर्याप्त बजेट तथा अनुदान बढाउँदै लैजान सरकार सकारात्मक रहेको मन्त्री पोखरेलले बताउनुभयो । उहाँले आगामी तीन महिनाभित्र सुदूरपश्चिम विश्वविद्यालयमा दलीय सङ्गठन हटाउँदै शिक्षा आर्जन गर्ने क्षेत्रलाई राजनीतिमुक्त बनाइने बताउनुभयो ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य केपी खनालले सुदूरपश्चिमका विद्यार्थीले अब अध्ययनका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभयो । यहाँका विश्वविद्यालयलगायत शैक्षिक क्षेत्रमा सरकारले लगानी बढाउनेमा विश्वस्त रहन आग्रह गर्दै खनालले सुदूरका विद्यार्थीको मेडिकल पढ्ने चाहना पूरा गरिने बताउनुभयो ।
आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा अध्यापन सुरु गरिने बताउनुहुँदै उहाँले सुदूरपश्चिम विश्वविद्यालयलाई सशक्त बनाउँदै लैजाने बताउनुभयो । समग्र सुदूरपश्चिम क्षेत्रको शैक्षिक गुणस्तर बढाउने विषयमा साझा अवधारणा बनाएर सबैजना एक भएर अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले विश्वविद्यालयको सुधारका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।