• २५ चैत २०८२, बुधबार

पदमार्गमा आधारित पर्यटन विकास

blog

इलामको सन्दकपुरमा निर्माणाधीन फाल्गुनन्द पदमार्गमा आन्तरिक तथा भारतीय पर्यटक । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 

विराटनगर, चैत २५ गते । कोशी प्रदेश सरकारले पदमार्गमा आधारित पर्यटन विकासलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणको कामलाई गति दिन थालेको छ । 

‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी)’ मार्फत रणनीतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिएको हो । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेशका आठ जिल्लाका २९ स्थानीय तहमा यो परियोजना सञ्चालन भइरहेको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीका अनुसार यस परियोजना अन्तर्गत अहिले चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्धुम गरी चार वटा प्रमुख पदमार्ग निर्माण भइरहेका छन् । विशेष गरी मुन्धुम ट्रेललाई केन्द्रमा राखेर पदमार्गमा आधारित पर्यटनको अवधारणा अघि सारिएको हो । मुन्धुम पदमार्ग अन्तर्गत १७०.७९ किलोमिटर मार्ग निर्माणको लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा १५.१३ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । 

मन्त्री पराजुलीले चालु आव २०८२/८३ मा १० करोड ३८ लाख रुपियाँको बजेटमा ५२.७८ किलोमिटर पदमार्ग निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आगामी आव २०८३/८४ का लागि ७५ किलोमिटर पदमार्ग निर्माण गर्न थप १४ करोड रुपियाँ बराबरको बजेट प्रस्ताव गरेका छौँ ।”

पदमार्ग निर्माणसँगै पर्यटन प्रवर्धनका लागि बहुआयामिक योजना पनि कार्यान्वयनमा छन् । जस अन्तर्गत स्थानीय रैथाने खानाको अध्ययन गरी सूची प्रकाशन गर्ने, स्थानीय कला संस्कृतिको अभिलेखीकरण गर्ने र विभिन्न महोत्सव आयोजना गर्ने काम भइरहेको मन्त्री पराजुलीले जानकारी दिनुभयो । 

स्थानीय लाभ र पर्यटकीय आकर्षण 

पछिल्लो समय नेपालमा पदयात्रा (ट्रेकिङ) तर्फ आन्तरिक पर्यटकको आकर्षण निकै बढेको छ । पदमार्गमा आधारित पर्यटनले पूर्वाधार विकासमा योगदान पु¥याउनुका साथै ग्रामीण अर्थतन्त्रमा समेत योगदान गर्ने भएकाले सरकारले त्यसतर्फ विशेष जोड दिएको हो । पदमार्गआसपासका स्थानीयले घरबास (होमस्टे) सञ्चालन गरी आयआर्जन गर्न सक्छन् भने आफ्ना रैथाने कृषि उपज र हस्तकलाका सामग्रीलाई पर्यटकीय वस्तुका रूपमा बिक्री गरी आम्दानी बढाउन सक्ने सरकारको विश्वास छ ।  

मुन्धुम जस्ता ऐतिहासिक र सांस्कृतिक महत्वका ट्रेलले कोशी प्रदेशको पहिचानलाई विश्वमाझ चिनाउने, स्थानीयलाई गाइड, भरिया र साना उद्यमीका रूपमा प्रत्यक्ष रोजगारीसमेत सिर्जना गर्ने भएकाले सरकारले यसमा लगानी बढाइरहेको पराजुलीले बताउनुभयो ।