प्रतीक इच्छुक शर्मा
सल्यान, चैत २५ गते। विभिन्न आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय सल्यानका कर्मचारी सुब्बा निरज परियारलाई अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोमबार साँझ पक्राउ परेका परियारलाई मङ्गलबार अदालतमा उपस्थित गराइ पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
परियारमाथि सेवाग्राहीलाई दुःख दिइएको, मुद्दा मिलाइदिने भन्दै पैसाको बार्गेनिङ गरेको, र सामाजिक सञ्जालमा नक्कली च्याट तयार गरी चरित्रहत्या गरेको आरोप लागेको छ। केही दिनअघि जेनजी सल्यानका संयोजक युवराज खड्काले मुद्दा मिलाइदिएबापत सेवाग्राहीमार्फत रकम लिएको र आफूलाई फसाउन गलत च्याट बनाइएको आरोप सार्वजनिक गर्नुभएको थियो।
त्यस्तै, अन्य दुई जनाले पनि आफूविरुद्ध नक्कली च्याट बनाएर बदनाम गरिएको भन्दै परियारविरुद्ध उजुरी दिएका छन्। प्रहरीका अनुसार यसै आधारमा उनीमाथि हाल साइबर अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक अडियोमा पनि मुद्दा मिलाइदिने नाममा रकम मागिएको आशयका संवाद भेटिएका छन्। अडियोमा “एक लाख २० हजार रुपियाँसम्म दिएमा मुद्दा मिल्ने, नभए नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि मिलाउन गाह्रो हुने” भनिएको सुनिन्छ। तर अडियोमा संलग्न व्यक्तिको पहिचान र सम्बन्धित मुद्दाको विवरण स्पष्ट छैन।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले सामाजिक सञ्जालमा आएका विषयबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। उहाँले सत्यतथ्यको आधारमा दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याइने बताउनुभयो।
उहाँले प्रमाणबिना कसैविरुद्ध व्यक्तिगत आरोप लगाउनु पनि कानुनअनुसार दण्डनीय हुने स्पष्ट पार्दै घटनाको यथार्थता पत्ता लगाएर आवश्यक कारबाही गरिने उल्लेख गर्नुभयो। हाल परियार प्रहरी हिरासतमा रहेर अनुसन्धान भइरहेको छ।