• २५ चैत २०८२, बुधबार

कावासोतीमा पुनः सुरु भयो जग्गाको नापी

blog

कावासोती वडा नं. ८ मा जग्गा नापी गरिँदै । तस्बिर ज्ञानु पंगेनी

ज्ञानु पंगेनी
मध्यविन्दु, चैत २५ गते ।
नवलपुरको कावासोती नगरपालिकामा जग्गा नापीको काम पुनः सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने उद्देश्यसहित वडा नं. ८ बाट पुनः नापजाँचको काम सुरु गरिएको हो ।

जेनजी आन्दोलनपछि भूमिसम्बन्धी आयोग विघटन भएको थियो । अदालतको आदेशपछि आयोग पुनःस्थापना भएसँगै रोकिएको नापी कार्य फेरि अघि बढाइएको हो ।

कावासोती नगरपालिकाको भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन इकाइ प्रमुख पवन रुपाखेतीका अनुसार नगरपालिकाभित्र नापीको काम बाँकी रहेका वडाहरूमा अहिले पुनः नापी सुरु गरिएको हो ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले क्रमशः सबै वडामा नापी कार्य अगाडि बढाइने जानकारी दिनुभयो । साथै यसअघि नापी सम्पन्न भइसकेका स्थानमा आयोगसँग समन्वय गरी जग्गाधनी पुर्जा वितरण प्रक्रिया पनि सुरु गरिने उहाँले बताउनुभयो । नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न नापी कार्यलाई प्राथमिकताका साथ अघि बढाउने उहाँको भनाइ छ ।

कावासोती नगरपालिका भित्रका १७ वटा वडामध्ये धेरैजसो वडामा यसअघि नै जग्गा नापी भइसकेको छ । वडा नं. १, ४ र ५ मा केही जग्गाधनी पुर्जा समेत वितरण गरिसकिएको छ ।

भूमिहीनहरूलाई पुर्जा दिने विषयमा जनप्रतिनिधिका रूपमा गर्नुपर्ने समन्वय र खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराखी भूमिहीन तथा सुकुम्वासीलाई जग्गाको मालिक बनाउने नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभएको छ ।

कावासोती नगरपालिका भित्र हालसम्म भूमिहीन दलित ६९७, भूमिहीन सुकुम्वासी १,२४० र अव्यवस्थित बसोबासी ५, ५ ९ ६ जनाले फाराम भरेको इकाइ प्रमुख रुपाखेतीले जानकारी दिनुभएको छ ।