• २५ चैत २०८२, बुधबार

बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

blog

बैतडी जिल्ला प्रशासन कार्यालयमा बाल विवाह अन्त्यका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरू । तस्बिरः केशवराज भट्ट

केशवराज भट्ट
वासुलिङ, बैतडी, चैत २५ गते।
बैतडीमा बाल विवाह अन्त्यका लागि धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालयमा दलित समाज विकास मञ्चको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रममा बाल विवाह जस्ता सामाजिक समस्याको अन्त्यका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो। मञ्चका सचिव बलभद्र दयालले समाजमा बाल विवाह अन्त्य गर्न धार्मिक अगुवा, राजनीतिक दल र स्थानीय तहका सरोकारवालाको भूमिका महत्त्वपूर्ण भएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बाल विवाह समाजको गम्भीर समस्या भएकाले यसको अन्त्यका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले समयानुकूल कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको धारणा पनि व्यक्त गर्नुभयो।

सहभागी धार्मिक अगुवाहरूले बाल विवाह विरुद्ध जनचेतना अभिवृद्धिमा सक्रिय रहने प्रतिबद्धता जनाए भने राजनीतिक दलका प्रतिनिधिहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म सरकारी सक्रियता अपरिहार्य रहेको बताए।

सुरक्षा निकायका प्रतिनिधिहरूले कार्यक्रममा लागुऔषधसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले पछिल्लो समय बढ्दो लागुऔषध प्रयोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो।

कार्यक्रम संयोजक सुरेश सेरले बाल विवाहका सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी असरबारे छलफल गरिएको र समुदायस्तरमै सचेतना अभिवृद्धि गर्दै संयुक्त पहल आवश्यक रहेको बताउनुभयो।

मञ्चका अध्यक्ष सरस्वती नेपालीले समाजमा बाल विवाह लगायतका कुरीति विद्यमान रहेकोले यसको अन्त्यका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, किशोरी समूह र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।