• २४ वैशाख २०८१, सोमबार

राष्ट्र निर्माणमा होमिने उद्घोष

blog

काठमाडौँ, पुस ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक रूपान्तरणमार्फत सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दै ८० को दशकलाई तीव्र विकासको दशकका रूपमा परिणत गर्ने उद्घोष गर्नुभएको छ ।

सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारबाट मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र निर्माणको अभियानलाई निर्णायक रूपमै अगाडि बढाउने घोषणा गर्नुभएको हो । उहाँले जनजीविका, शिक्षा, स्वास्थ्य, यातायात, ऊर्जा, सञ्चारको तीव्रत्तर विकास गर्दै सुशासनमार्फत समुन्नत राष्ट्र निर्माण गर्ने अठोट गर्नुभयो । 

उहाँले नागरिकले महसुस गर्ने गरी विकास गरिने प्रस्ट पार्नुभयो । उहाँले पूर्वाधार निर्माणमा कम्तीमा दुई सिफ्टको प्रत्याभूति हुने र सकेसम्म ‘ब्यारेक मोडल’ मा लैजाने गरी नीतिगत र व्यावहारिक छलफल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “८० को दशक तीव्र विकासको दशक भन्ने सङ्कल्पसँगै पूर्वाधारमा देशले नयाँ ढङ्गले फड्को मार्नै पर्छ ।”

उत्पादनमा आधारित अनुदान प्रणाली लागु

प्रधानमन्त्री प्रचण्डले कृषिमा राज्यको लगानी कायम रहे पनि उत्पादकत्व वृद्धि नभएको भन्दै उत्पादनमा आधारित अनुदान प्रणाली लागु गरिने बताउनुभयो । उहाँले प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली’ लागु गरिने र दुध किसानको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुने प्रस्ट पार्नुभयो ।  प्रधानमन्त्री प्रचण्डले खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरण गर्न कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक (विसं २०८१–२०९१) नै घोषणा गरी अगाडि बढ्ने तयारीमा सरकार रहेको बताउनुभयो । 

बिजुलीको उज्यालो अब देशकै उज्यालो

प्रधानमन्त्री प्रचण्डले विद्युत् विकास लोकतन्त्रकै महत्त्वपूर्ण उपलब्धि भएको तर्क गर्दै बजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अगाडि बढ्ने बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गर्नुभयो । 

उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री हुनुअघिसम्म देशमा १८ घण्टासम्म लोडसेडिङ हुनुलाई नियति मानिएको स्मरण गर्दै अहिले लगभग सिङ्गो देशमा विद्युत्को पहुँच पुगेको बताउनुभयो । उहाँले वर्षायाममै विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको स्मरण गर्नुभयो । 

उहाँले एक वर्षमा ५४१ मेगावाट थप भएको जानकारी दिँदै भारतसँगै बङ्गलादेशसँग पनि विद्युत् व्यापारको ढोका खुलेको बताउनुभयो । उहाँले नेपालको समृद्धिका लागि इतिहासकै सबैभन्दा ठुलो र दूरगामी महत्त्वको सहमति आफ्नो भारत भ्रमणमा भएको बताउँदै नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन लागेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा चिलिमे–केरुङ २२० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको बताउँदै प्रसारण लाइन बन्नेबित्तिकै चीनसँग पनि विद्युत् व्यापारको ढोका खुल्ने भनाइ राख्नुभयो । उहाँले हरेक वर्ष कम्तीमा पाँच खर्ब रुपियाँको बिजुली निर्यात गर्न र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सकिए समुन्नत राष्ट्र बनाउन समय नलाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म निराशावादीलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठुलो आर्थिक सम्भावनाको नजिक इतिहासमै यसअघि कहिल्यै थियो र ? बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ । के यो लोकतन्त्रको उपलब्धि होइन र ?”

सरकारको ध्यान ठुला आयोजनामा

प्रधानमन्त्री प्रचण्डले सरकारको ध्यान गेम चेन्जर ठुला जलविद्युत् आयोजना रहेको बताउनुभयो । उहाँले भारत, बङ्गलादेश र चीन हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेम चेन्जर ठुला जलविद्युत् आयोजनामा लागेको बताउनुभयो । उहाँले बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार कर सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट पार्नुभयो ।  

उहाँले नेपाल विद्युत् प्राधिकरणबाट १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिनुभयो । उहाँले एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको, हाल कार्यान्वयनमा रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनालाई पनि सहजीकरण गरिरहेको र एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । 

सरकारको कार्यशैली बदल्ने

प्रधानमन्त्री प्रचण्डले सरकारको कार्यशैली बदलिने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएन, म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु, देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु, यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ ।”

उहाँले केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा रहेको बताउनुभयो । 

निर्यात बढाउन उत्पादन वृद्धि गरिने

प्रधानमन्त्री प्रचण्डले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिने बताउनुभयो । उहाँले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताउनुभयो । 

उहाँले बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको तथा यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित रहेको बताउनुभयो । उहाँले पुँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार भए पनि अपेक्षित सुधार नहुँदा आफू चिन्तित रहेको बताउनुभयो । 

उहाँले आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्न आवश्यक पहल लिने बताउनुभयो । उहाँले विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको र अब आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सिप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने प्रस्ट पार्नुभयो । 

विश्वविद्यालयमा भागबन्डा हुने छैन

प्रधानमन्त्री प्रचण्डले अब विश्वविद्यालयमा राजनीतिक भागबन्डा नहुने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभङ्गताको अपिल गर्दछु, अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालय सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने छन् ।”

उहाँले योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रस्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने प्रस्ट पार्नुभयो । 

भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा 

प्रधानमन्त्री प्रचण्डले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताउनुभयो । उहाँले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयातलगायतका काण्डमा इतिहासकै सबैभन्दा ठुलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको बताउनुभयो । 

उहाँले कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थ कानुनको नियन्त्रणमा आएको बताउँदै देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापर्बाही नगरेको प्रस्ट पार्नुभयो । 

उहाँले मिटरब्याजी र सहकारीका ठग पनि राज्यको नियन्त्रणमा आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिबद्ध छ । एनसेलको सेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ ।”