काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले देशको सुरक्षा र निर्वाचन तयारीका सन्दर्भमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सम्पन्न उच्चस्तरीय सुरक्षा बैठकमा समग्र सुरक्षा स्थितिसँगै आन्दोलन घोषणा गरेका समूहका सन्दर्भमा पनि विश्लेषण भएको छ । प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चार वटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्था र सम्बन्धित निकायको तयारीबारे जिज्ञासा राख्नुभयो । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पनि केही समूहले सडक प्रदर्शनमा उत्रिने बताइरहँदा सरकारले सुरक्षा व्यवस्थाका सन्दर्भमा संवेदनशील ढङ्गले छलफल गरिएको छ ।
जेनजी आन्दोलनका माग सम्बोधन गर्दै सुशासन कायम गरेर फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नुपर्ने ऐतिहासिक दायित्वबिच सुरक्षा अवस्था दृष्टिगत गरेर प्रधानमन्त्रीले सम्बन्धित सबै संयन्त्रसँग ब्रिफिङ लिनुभएको छ । बैठकपछि गृहमन्त्री अर्यालले देशको सुरक्षा अवस्थामा सूक्ष्म विश्लेषण भएको जानकारी दिनुभयो । उहाँले स्थिति सामान्यीकरण गर्ने र निर्वाचनको वातावरण बनाउनका लागि चाहिने सुरक्षा र सुरक्षाको प्रत्याभूति दिने कुरामै सरकार केन्द्रित रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक प्रदर्शनसँग सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक प्रदर्शनबाट निम्त्याइने सुरक्षा जोखिमबारे गहन छलफल भएको छ । जसका पनि राजनीतिक माग छन् भने सरकारले संवादकै माध्यमबाट सम्बोधन गर्ने छ । सरकारले ती माग सुन्छ ।”
बैठकमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी हुनुहुन्थ्यो ।
संवादबाटै निकास
छठ पर्वपछि आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा विभिन्न समूहले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने कोसिस गरिरहँदा सरकारले संवादलाई जोड दिएको छ । गृहमन्त्री अर्यालले वार्ता र सहमतिकै माध्यमबाट राजनीतिक माग राख्न आग्रह गर्नुभयो । उहाँले सडकमा जानु पनि सरकारलाई संवादबाट अपिल गरिएको बताउँदै सडकमै नगई संवाद गर्न सकिएमा सडकमा गइराख्न नपर्ने प्रस्ट पार्नुभयो ।
उहाँले राजनीतिक शक्तिले राजनीतिक व्यवहार र संस्कार देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा जानैपर्ने स्थिति बनेमा लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन हुनु पनि भएन । सार्वजनिक सम्पत्तिमा क्षति पनि हुनु भएन । निजी सम्पत्तिमा क्षति पु¥याउनु पनि भएन । हिंसा हुनु भएन । यो कुरा विभिन्न राजनीतिक समूहलाई आग्रह गरिरहेका छौँ ।”
गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले सबै पक्षका जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न आग्रह गरेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउनेसमेतका हक अधिकार कुण्ठित हुन नदिन आग्रह गर्नुभएको हो । उहाँले सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हित प्रवर्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध गर्नुभएको छ ।
गृह मन्त्रालयले जेनजी आन्दोलनपछि सार्वजनिक सेवा पुनः सुचारु भएको र क्षतिग्रस्त संरचना पुनर्निर्माण प्रक्रिया आरम्भ गरी शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याएर निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गरेको बताएको छ ।
मन्त्रालयले अहिले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवं अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकसमेत सचेत हुनुपर्ने देखिन्छ ।”
निरन्तर संवादमा प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्की निरन्तर संवादमा हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलका आह्वानमा विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँगको संवादपछि पनि प्रधानमन्त्री कार्कीले संवाद र परामर्श जारी राख्नुभएको हो । उहाँले गत मङ्गलबार जेनजी आन्दोलनका मुद्दा सम्बोधन गर्ने, निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्दै भ्रष्टाचारका सन्दर्भमा उठेका विषयलाई कानुनी दायरामा ल्याउने विषयमा दलहरूसँग छलफल गर्नुभयो । सर्वदलीय बैठकमा निर्वाचनको माहोल बनाउन सरकार, राजनीतिक दल, जेनजी पुस्तासहित सबैको सहभागिता सुनिश्चित हुनुपर्ने विषयमा छलफल भयो ।
छलफलमा मन्त्रीहरूसहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) का नेताहरू सहभागी थिए ।
कलाकारसँग पनि संवाद
प्रधानमन्त्री कार्कीले नेपाली कला क्षेत्रका अगुवासँग पनि संवाद गर्नुभयो । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “संवादका क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएका छन् । मुलुकको अवस्था र सरकारका कामबारे उहाँहरूले व्यक्त गर्नुभएको गहिरो चासो, चिन्ता र सरोकारले सरकारलाई थप आत्मबल मिलेको छ । जेनजी आन्दोलनको भावना र कार्यादेशमा हामी स्पष्ट छौँ ।”
होटल हायातबारे चासो
पाँचतारे होटल हायात रिजेन्सी व्यवस्थापनले होटलको सेवा बन्द गरेकोमा सरकारले चासो लिँदै होटल सुचारु गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले यो विषयमा चासो राखेपछि अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनसँग छलफल गरी आवश्यक सहजीकरण सरकारले गर्ने बताउनुभएको हो ।
होटल व्यवस्थापनले जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड भएको र सुरक्षाजन्य संवेदनशीलता पनि रहेका कारण होटल अनिश्चितकालका लागि बन्द भएको सूचना जारी गरेको थियो ।