प्रकाशविक्रम शाह
धनगढी, चैत २५ गते । सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरस्थित रामारोशन हलमा आज नेपालको उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको हो ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्याल तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. ध्रुवकुमार गौतमले सो सहमतिपत्रमा हस्ताक्षर गर्दै आपसी सहकार्यलाई औपचारिकता दिनुभएको छ ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा. विनोद लेखकले स्वागत मन्तव्य व्यक्त गर्दै यस समझदारीले विश्वविद्यालयबिचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विशेषगरी उच्च प्राज्ञिक जनशक्तिको अभावलाई डिजिटल माध्यमबाट पूर्ति गर्दै दक्ष जनशक्ति व्यवस्थापनमा यो सम्झौता कोशेढुंगा सावित हुने बताउनुभयो । साथै, यसले शिक्षक तथा विद्यार्थीहरूको अध्ययन र अनुसन्धान कार्यलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सम्झौताले तीन विश्वविद्यालयबिच शैक्षिक स्रोत, अनुसन्धान, प्रविधि र अनुभव आदानप्रदानलाई संस्थागत गर्ने लक्ष्य राखेको छ । विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य र प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने जनाइएको छ ।
सो कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायका डीन, निर्देशक, शिक्षक तथा कर्मचारीको उल्लेखनीय उपस्थिति थियो ।
यो सहकार्यले नेपालको उच्च शिक्षामा गुणस्तर अभिवृद्धि, स्रोतको प्रभावकारी उपयोग तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।