काठमाडौँ, असोज १९ गते । असोज १७ गतेको मध्यरातदेखि जारी वर्षाका कारण काठमाडौँ, भक्तपुर र ललितपुरमा बागमती, हनुमन्ते नदीसहित सहायक खोला आफ्नो धार खोज्दै सहर र बस्तीतर्फ सोझिएका छन् ।
अव्यवस्थित सहरीकरणसँगै नदी र खोलाको अतिक्रमण तीव्र हुँदा बस्ती पनि जलमग्न भएका हुन् । उपत्यकाका तीन वटै जिल्लाका सबै नदीखोलामा पानीको सतह शनिबार साँझसम्म खतराको तहमा पुगेको छ । २०८१ असोज १० देखि १२ गतेसम्म पनि काठमाडौँमा बाढी र डुबान भएको थियो ।
खोलानदी किनार मिचेर निर्माण गरिएका घर, टहरा, व्यापारिक भवन, अस्पताल, स्कुल र कलेज बाढीले जलमग्न भएका छन् । बागमती नदी, विष्णुमती खोला, धोबीखोला, मनोहरा, हनुमन्ते, टुकुचा, गोदावरीसहित सबै खोला उर्लिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले त्रिपुरेश्वरको शान्ति निकेतन माविदेखि बल्खु हुँदै चोभारसम्मका सम्पूर्ण बस्ती सुरक्षित स्थानमा सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “असोज १७ गतेदेखि नै सुरक्षाकर्मी परिचालन गरेर जोखिमयुक्त क्षेत्र खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।”
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुर नगरपालिका वडा नं. १, ४, ५, ७ र ८, सूर्यविनायक नगरपालिकासँगै मध्यपुरथिमि नगरपालिकास्थित राधे राधे, बालकोट, लोकन्थली क्षेत्रमा बाढीको जोखिम उच्च रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको र सुरक्षित हुन सूचित गराइएको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका केही क्षेत्रमा पहिरोको जोखिम रहेकाले उद्धार र राहतका लागि चाहिने सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सुरक्षाकर्मीको विशेष टोली रबरबोटसहित परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार बागमती नदी किनारका बस्ती र नख्खुखोला आसपासका बस्तीसँगै जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
मन्त्री घिसिङ निरीक्षणमा
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार उपत्यकाको नदी निकास क्षेत्र चोभार गल्छीको निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङसँगै सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल पनि निरीक्षणका लागि चोभार गल्छी पुग्नुभयो ।
सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार मन्त्री घिसिङले बागमती नदी किनारसहित उच्च जोखिमयुक्त क्षेत्रको निरीक्षण गरी बस्तीआसपासका क्षेत्रबाट स्थानीयवासीलाई सुरक्षित स्थानमा लान सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । उहाँले सुरक्षित भएर बस्न स्थानीयवासीलाई आग्रह पनि गर्नुभयो ।
सहसचिव मैनालीका अनुसार मन्त्री घिसिङले उपत्यकाका सबै नदीखोला किनारका जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गर्नुभएको छ । उहाँले भन्नुभयो, “चोभार गल्छीमा गत वर्ष खसेका ढुङ्गा र गेग्य्रान स्थानीयको विरोधका कारण अहिलेसम्म पनि हटाउन सकिएको छैन । त्यहाँको जोखिमबारे निरीक्षण गरिएको छ । साथै कालीमाटीमा जलमग्न घरटहरामा आधा आधा डुबेर बसेका स्थानीयलाई सुरक्षाकर्मीले उद्धार गरेपछि मन्त्रीसहित मन्त्रालयको टोली फर्किएको छ ।”
अतिक्रमणले निम्तिएको हो बाढी
सर्वोच्च अदालतले बागमती नदीको बहाब क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाब क्षेत्र २० मिटर बनाउन फैसला गरेको छ तर सो फैसला पुनरवलोकनको विषय थाती रहँदा काठमाडौँ उपत्यकामा नदी र खोलाकै किनारमा अतिक्रमण गरिएका र स्वाभाविक क्षेत्रमा निर्मित भौतिक संरचना पनि वर्षाका कारण डुबानमा परेका छन् ।
बागमती नदी उर्लिंदा शान्तिनगर, विजयनगर, जागृतिनगर, गैह्रीगाउँ, चाँदनी टोल, प्रगति टोल, कालीमाटी टोल, किमाल फाँट, वंशीघाट, कुरियागाउँ, बुद्धनगर, शङ्खमूलसहित थापाथली, कालीमाटीदेखि बल्खुसम्मै बाढी पसेको छ । विष्णुमती खोला किनारका बस्ती ढिकुरेचौकी, कुमारीस्थान बुद्धज्योति मार्ग, बालाजु जागृति टोल, सङ्गम टोलसहितका क्षेत्रमा रहेका सुकुमवासी बस्ती विस्थापित भएका छन् । हनुमन्ते उर्लिंदा नेकपा (एमाले) को कार्यालय रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवन डुबानमा परेको छ । ललितपुरको ग्वार्को क्षेत्र कर्मनासा खोलाको बाढीले डुबानमा परेको छ । मनोहरा खोलाको बाढीले मनोहरा वबस्ती डुबानको जोखिम छ ।
विसं २०८० पुस ३ गते सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले बागमती नदीको बहाब क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाब क्षेत्र २० मिटर बनाउनुपर्ने फैसला गरेको थियो । वरिष्ठ अधिवक्ता एवं प्रकृति संरक्षण अभियन्ता प्रकाशमणि शर्माले काठमाडौँ उपत्यकाको पानीको स्रोत जोगाउन र नदीखोलालाई आफ्नो बहाब क्षेत्रमा बग्न दिनुपर्ने र सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सभ्यता र संस्कृतिसँग जोडिएका नदीखोला अतिक्रमण भएपछि नै सहरमा बाढीको अत्यास आएको हो । त्यसैले नदीखोलाको बहाब क्षेत्रबाट सबै संरचना हटाउनु पर्छ ।”