• २६ असोज २०८२, आइतबार

प्रमसँग जेनजी अभियन्ताको विमर्श

सुशासनसँगै निर्वाचनमा जुट्नु छ

blog

प्रधानमन्त्री सुशीला कार्की शनिबार राष्ट्रपति कार्यालय शीतलनिवासमा जेनजी आन्दोलनका प्रतिनिधिसँग परामर्श गर्नुहुँदै । तस्बिर : रासस

भ्रष्टाचारविरुद्ध सरकार कडाइसाथ लाग्नुपर्ने विषय उठेको छ । केही असन्तुष्टि र असहमतिका विषय उठे पनि जेनजी अभियानले सरकारलाई साथ दिने र सरकारले पनि जेनजीका मुद्दा सम्बोधन गर्दै जाने विषयमा संवाद भयो ।

काठमाडौँ, असोज २६ गते । जेनजी पुस्ताको विद्रोहको जगमा सरकार गठन भएको एक महिनापछि सरकार र जेनजी अभियन्ताबिच राजनीतिक कार्यदिशा, फागुन २१ गतेको निर्वाचन, सुशासनसहित समग्र विषयमा विमर्श आरम्भ भएको छ । प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र जेनजी मुभमेन्ट अलायन्स (जेनजी अभियान) का प्रतिनिधिबिच मुख्यतः निर्वाचनलाई सफल बनाउँदै देशलाई राजनीतिक निकास दिने विषयमा केन्द्रित भएर परामर्श सुरु भएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा जेनजी अभियन्तासँग निर्वाचनको माहोल बनाउने तथा निर्वाचनमा जेनजी पुस्ताको सहभागिताका सन्दर्भमा बैठक आह्वान गर्नुभएको थियो । बैठक सुरु हुनुअघि राष्ट्रपति पौडेलको स्वास्थ्य प्रतिकूल भएपछि प्रधानमन्त्री कार्कीले जेनजी अभियन्ता, जेनजी आन्दोलनका घाइते र सहिद परिवारका प्रतिनिधिसँग संवाद गर्नुभयो । बैठकमा सहभागी जेनजी अभियन्ता रक्षा बमका अनुसार प्रधानमन्त्री कार्कीले एक महिनाको अवधिमा भएका काम र गरिएका प्रयासबारे जानकारी दिनुभयो । 

कामका विवरण प्रस्तुत 

जेनजी अभियन्तासँगको अनौपचारिक संवादमा प्रधानमन्त्री कार्कीले एक महिनाभित्र सरकारले गरेका कामको विवरण प्रस्तुत गर्नुभयो । साथै सरकारका कामको समीक्षा पनि भयो । अभियन्ता बमले भन्नुभयो, “जेनजी आन्दोलनको मर्म र भावना अनुसार सरकार अघि बढ्छ भन्ने कुरा प्रधानमन्त्रीले राख्नुभयो । राष्ट्रपतिले पनि सर्वदलीय बैठकमा दलका नेताहरूसँग जेनजी आन्दोलनको म्यान्डेट बुझेर निर्वाचनमा सहभागी हुन र निर्वाचनको माहोल बनाउन आग्रह गर्नुभएको थियो । जेनजीसँगको बैठकमा पनि प्रधानमन्त्रीले निर्वाचनलाई दृष्टिगत गरेर जानुपर्ने प्रस्ट पार्नुभयो ।”

उहाँले परामर्शका क्रममा भ्रष्टाचारविरुद्ध सरकार कडाइसाथ लाग्नुपर्ने विषय उठेको बताउनुभयो । उहाँले केही असन्तुष्टि र असहमतिका विषय उठे पनि जेनजी अभियानले सरकारलाई साथ दिने र सरकारले पनि जेनजीका मुद्दा सम्बोधन गर्दै जाने विषयमा संवाद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पनि सरकारलाई साथ दिनु पर्छ । निर्वाचनको माहोल बनाउनु पर्छ । भ्रष्टाचारले व्याप्त राज्यका संरचनाभित्र नयाँ सरकारका चुनौती धेरै छन् । पुनर्निर्माण अघि बढाउनु पर्छ । काम गर्न कठिनाइ छ । तर प्रधानमन्त्रीलाई बिचौलियाले घेरेर भ्रष्टाचार गर्ने आँट गरेको छैन । यो परिस्थितिमा पुराना भ्रष्टाचारका फाइल खोल्ने र नियमित कामलाई पनि अघि बढाउनेतर्फ सरकार केन्द्रित भएको कुरा आएको छ ।”

अभियन्ता बमले सरकार गठनपछि राज्य सञ्चालनसँगै देशमा वर्षा बाढी, डुबान र पहिरोले जनधनको क्षति भएको र सरकारले द्रुत रूपमा उद्धार र राहत अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “काम धेरै गर्नुपर्ने छ । सुशासन, विकास र रूपान्तरणका पक्षमा हामी लाग्छौँ । जेनजी आन्दोलनका क्रममा उठेका माग सम्बोधन गर्ने सन्दर्भमा सरकारले पनि काम अघि बढाउने भनेर आश्वस्त पारेको छ ।”

निर्वाचनमा भाग लिन आह्वान 

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावना स्वीकार गर्दै फागुन २१ गतेको निर्वाचनमा सहभागी हुन दलहरूलाई आह्वान गरेको एक दिनपछि जेनजी अभियन्तासँग सम्पन्न बैठकमा सरकारले निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । साथै जेनजी अभियन्ताले पनि निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेका छन् । अभियन्ता रक्षा बम र मिराज ढुङ्गानाले निर्वाचनलाई सदुपयोग गरेर राजनीतिक निकास र रूपान्तरणका पक्षमा अघि बढ्न आग्रह गर्नुभयो । बमले भन्नुभयो, “निर्वाचन देशको समग्र रूपान्तरणका लागि मार्गप्रशस्त गर्ने लोकतान्त्रिक अभ्यास हो । सबै सहभागी हुनु पर्छ ।” अभियन्ता ढुङ्गानाले सबै राजनीतिक दलसँगै नयाँ पुस्ता पनि निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्ने र सबै दल सहभागी भएर देशलाई सुधारसँगै राजनीतिक निकासतर्फ अघि बढाउनुपर्ने बताउनुभयो । छलफलमा अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी हुनुहुन्थ्यो ।