साहारा लिम्बू
ताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङमा विद्युतीय ट्रान्सफर्मर चोरी गरेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवाका ३३ वर्षीय फुपुनाम्गे शेर्पा र फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय आइतबहादुर लिम्बू रहेका छन् ।
शेर्पा र लिम्बूलाई गत कात्तिक २ गते राति करिब १ बजे जडान गरिएको ५० केभिए क्षमताको ट्रान्सफर्मर चोरी गरेको अभियोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । प्रहरी निरीक्षक बस्नेतका अनुसार शेर्पा र लिम्बूले फुङलिङ नगरपालिका –२ नागेश्वरी आँपगाछीमा वाईबा इन्फ्राटेक प्रालिले जडान गरेको ट्रान्सफर्मर र केही पार्टस् पुर्जाहरुको चोरी गरेका थिए ।
पक्राउ परेका व्यक्तिबाट इआई कोरको पत्तामा तामाको तार बेरिएको दुईवटा रोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ को ३ बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट १० दिनको म्याद लिई थप अनुसन्धानको कार्य जारी राखिएको प्रहरीको भनाइ छ ।