• १२ पुस २०८१, शुक्रबार

फेरियो गाउँले शैली

blog

काठमाडौँबाट पूर्व एक नम्बरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखासम्मका गाउँमा बनेका घिउ, नौनी, पनिर र छुर्पी विगतमा काठमाडौँ उपत्यकामा सहजै पाइन्थ्यो । 

अझ चाडपर्वमा दूध–दही छेलोखेलो हुन्थ्यो। एकाध परिवारको मात्र विशेष कारणले दूध–दही हुँदैनथ्यो । अहिले गाउँमा अवस्था उल्टिएको छ । एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । जसको घरमा पाखुरा दह्रो भएको मान्छे सहर र विदेश पसेको छैन उसका घरमा मात्रै दूध–दही दिने गाई–भैँसी देखिन्छन् । 

घाँस आँगनमै छ तर घाँस काट्ने बलशाली पाखुरा अन्यत्र बसाइँ सरेपछि कसले गाई–भैँसी पाल्नु ? अहिले गाउँमा भेटिने अधिकांश ज्येष्ठ नागरिकको गुनासो यही छ ।

सिन्धुपाल्चोकको भोटसिपा, सिपापोखरे, सिपाघाट, तीनघरे, काभ्रेपलाञ्चोकको चण्डेनी मण्डन, महादेवस्थान मण्डन र ज्याम्दी मण्डनका स्थानीय त्यतिबेला इन्द्रावती बगरमा पुगेर कांसको घाँस काट्थे । पोषिलो र दूधालु हुने भएकाले हरेक दिन बिहान सबेरै उठेर घाँस काट्न जाने गरिन्थ्यो ।

२०६० सालपछि गाउँमा मान्छे कम हुन थाले। वस्तुभाउ पाल्न नै छोडियो । अहिले इन्द्रावती बगरमा कांसको झाडी छ । घाँस काट्ने मान्छे सहर र विदेश पलायन भएपछि घरमा दूधसमेत पाउन मुस्किल बनेको छ ।

पाहुनालाई ‘कोल्ड ड्रिङ्क्स’ दिएर स्वागत गर्ने परिपाटी गाउँमा विकास भएको छ । दूध–दहीजस्ता सस्तो, सहज र स्वस्थकर रैथाने उत्पादनको ठाउँमा बहुराष्ट्रिय कम्पनीको महँगो र अस्वस्थकर उत्पादन गाउँमा पुग्दा कहिल्यै गाउँले नसुनेको चिनी रोग पुगिसकेछ । 

यो कुराले सबैको मन चसक्क हुन्छ। गाउँमा दूध–दही भेट्न मुस्किल छ तर बियर र अन्य ब्रान्डका मदिरा सजिलै पाइन्छ । त्यसको उपभोग पनि निर्धक्क गाउँले गरिरहेका छन् ।

दसैँदेखि तिहारसम्म गाउँ चम्किएको हुन्छ। धेरैजसो घरमा मान्छे आएका हुन्छन् । आँगन सफाई गरिएको हुन्छ । तिहार सकिँदा नसकिँदै गाउँघर फेरि पुरानै अवस्थामा फर्किन्छन् ।

दसैँमा गाउँमा रौनक ल्याउन पिङले ठूलो भूमिका खेल्छ। पहिले पहिले दसैँमा हरेक गाउँमा रोटेपिङ हालिन्थे, साथमा लिङ्गेपिङ । गाउँमा युवाशक्ति पातलिएका बेलामा रोटेपिङ बनाउन त्यति सजिलो छैन । सिप भएका मानिसको सङ्ख्या क्रमशः घट्दो क्रममा छ ।

तर काभ्रेको पनौती नगरपालिकामा ४३ वर्षपछि दसैँमा रोटेपिङ हालिएको छ ।  रोटेपिङमा खामो, पारिका, आग्ला, पाखुरी, पिर्का, माल्टा र चुकुलको संयोजनबाट बन्ने कुरा नयाँ पुस्ताले सिक्ने मौका पाएको छ । विगतमा पिङमा गुञ्जने लोकभाकामा मन बहलाउन स्थानीय बुढापाका पनि झुम्मिन्थे तर अहिले त्यस्तो अवस्था छैन, गाउँ गाउँमा ठूलो आवाज आउने स्पिकरको युग आएको छ ।