काठमाडौँ, कात्तिक १ गते । यसअघिका बाढीपहिरो जस्ता विपत्का घटनामा मानवीय उद्धार र उपचार पहिलो प्राथमिकतामा परे पनि यस पटक भने मानवसँगै पशुको पनि उद्धार र उपचार गरिएको छ । असोजको तेस्रो साताको बाढीपहिरोमा सरकारका तिनै तहको समन्वयमा इलाममा मानवसँगै पशुको पनि उद्धार र उपचार गरिएको हो । घाइते पशुको उपचार र मरेका पशुबाट रोग फैलन नदिन पशु चिकित्सकसहितको टोली टोल टोलमा पुगेर काम गरेका छन् ।
इलाममा रहेका पशु भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले स्थानीय तहका पशुसेवा शाखाको समन्वयमा घुम्ती सेवा दिइरहेका छन् । त्यससँगै घुम्ती सेवामा उपचार सेवा, क्षतिग्रस्त गोठ व्यवस्थापनका लागि त्रिपाल, आहाराका लागि दाना र मरेका पशुबाट रोग फैलन नदिन औषधी प्रदान गरिँदै आएको छ ।
असोज १७ गतेदेखि १९ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो । पशुधनमा पनि ठुलो क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इलामले उल्लेख गरेको छ ।
भिरालो जमिनमा घरभन्दा पर गोठ बनाउने परिपाटीले इलाममा पशुधनको ठुलो क्षति पुगेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इलामका प्रमुख डा. राघवेन्द्र तिवारीका अनुसार कम्तीमा १२५ वटा गाई, बाच्छा १७ वटा, भैँसी ती वटा, पाडी दुई वटा, राँगा चार वटा मरेका छन् । त्यस्तै बाख्रा २४८ वटा, बङ्गुर १४९ वटा र दुई वटा घोडा पहिरोले पुरिएर मरेका छन् । कुखुरा ५९३ वटा र ९१० किलो माछा मरेका छन् ।
यसअघिका विपत्मा सङ्घीय, प्रदेश र स्थानीय तहका पशु र कृषि प्राविधिकबिचको समन्वय अभाव हुने गरेकोमा इलाममा भने नयाँ उदाहरण प्रस्तुत भएको छ । मरेका पशुको सिनो व्यवस्थापनसँगै उपचारमा सहजीकरण भएको देखिएको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले उल्लेख गर्नुभयो ।
सुरक्षा निकायले पनि मानवीय उद्धारपछि पशुको उद्धारमा पहिलो प्राथमिकता राखेको थियो । विपत्मा सुरुवातदेखि नै क्रियाशील सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक सुरेन्द्र डोटेलले मानवीयसँगै पशुको उद्धारमा प्राथमिकता दिएको बताउनुभयो ।
विपत्को समयमा पशुपन्छीले सबैभन्दा बढी पीडा भोग्ने गरेका उदाहरण छन् । २०८१ असोजको बाढीपहिरोले सबैभन्दा ठुलो क्षति पारेको काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र रोसी गाउँपालिकामा खाना र पानी नपाएर गाईभैँसीले पाएको पीडा सार्वजनिक भएको थियो । त्यस्तै इलाममा बाढीपहिरोले मानवीय क्षतिसँगै पशुधनमा ठुलो क्षति गराए पनि पशुधनको सुरक्षामा समन्वयकारी भूमिका देखिएको डा. शाहीले उल्लेख गर्नुभयो ।
यतिबेला इलाममा पशुसेवा विभागबाट डा. प्रवेश शर्माको टोली पुगेर पशुको उपचार, हुन सक्ने सम्भावित जोखिमको क्षेत्रमा काम गरिरहेको छ । कोशी प्रदेशको पशु अन्वेषण प्रयोगशाला विराटनगरबाट डा. अमित घिमिरेको नेतृत्वको टोलीले इलाममै बसेर गाउँबस्तीमा पुगेर पशुको उपचार गरिरहेको छ ।
स्थानीय तहले मानवीयसँगै भौतिक र पशुधनमा भएको क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । पशु सेवाविज्ञ केन्द्र इलामसँग त्यहाँका १० वटा नै स्थानीय तहका पशु तथा कृषि शाखाले समन्वयमा काम गरेको डा. तिवारीले बताउनुभयो । विपत्को समयमा पशुहरू बाँधिएका, खोरमा थुनिने भएकाले यो समयमा पशुको उद्धारमा विशेष ध्यान पु¥याइएको उहाँले दाबी गर्नुभयो ।
पीडाको समयमा मानिस आफ्नै सुरक्षाको व्यवस्थामा लागेको अवस्थामा पशुप्रति पर्याप्त ध्यान जान नसक्दा ठुलो सङ्ख्यामा पशुपन्छी र माछा मर्ने गरेकाले त्यसमा विशेष ध्यान पु¥याउन आवश्यक हुने पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले उल्लेख गर्नुभयो ।