गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । थारु आयोगले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । आज काठमाडौंमा कार्यक्रम गरी आयोगले स्थापना दिवस मनाएको हो ।
आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुको सभापतित्मा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको सामु काम गर्ने जिम्मेवारी धेरै भए पनि चुनौती असंख्य रहेको बताउनुभयो । सीमित स्रोत साधन र जनशक्तिको अभावमा आयोगहरुलाई काम गर्न कठिन रहेको उहाँको भनाइ छ ।
संवैधानिक आयोगहरुले सिफारिस गरेका प्रतिवेदन कार्यान्वयनमा राज्यले खासै चासो नदिएका कारण आयोगको गतिविधि चलायमान हुन नसकिरहेको उहाँले गुनासो गर्नुभयो । सो अवसरमा उहाँले थारु आयोगको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
आयोगका सदस्य शान्ति मोदीले आनुवांशिक स्रोत बाँडफाँट र आदिबासीको अधिकारका विषयमा प्रस्तुति गर्नुभएको थियो । उहाँले संविधानमा भएको अधिकार पनि आदिबासीले कार्यान्वयन गराउन नसकेको बताउँदै त्यसमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आयोगका सचिव रुद्रप्रसाद लामिछानेले आयोगको काम सरकारलाई सफारिस गर्ने रहेकाले कुनै निर्णय गर्न नसकिएको बताउनुभयो । थारु समुदायको समग्र हितमा आयोगले काम गरे पनि आशालाग्दो परिणाम आउन नसकेको उहाँले स्वीकार्नुभयो । सरकारले आयोगको कामलाई खासै प्राथमिकतामा नराखेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष प्रेमीलाल चौधरीले सरकारले आयोगलाई बजेट कटौती गर्दैगएको सूचना प्राप्त भएकाले कार्यक्रम र गतिविधि कमजोर भएको आफूले जानकारी पाएको बताउनुभयो । आयोगलाई शक्तिशाली बनाउन छाडेर सरकारले झन कमजोर बनाउनु आदिबासीप्रति राज्य उदासिन रहेको प्रष्ट भएको उहाँले गुनासो गर्नुभयो ।
कार्यक्रममा आयोगले विभिन्न थारु व्यक्तित्वहरुलाई थारु रत्न र थारु गौरव सम्मानले सम्मानित गर्ने जनाएको छ । माघीको अवसरमा उहाँहरुलाई सम्मान गर्ने आयोगका सदस्य मोदीले जानकारी दिनुभयो ।