• २९ वैशाख २०८३, मङ्गलबार

स्वास्थ्य सेवा कार्यालय कालीकोटमा ई–हाजिरी प्रणाली सुरु

blog

स्वास्थ्य सेवा कार्यालय कालीकोटमा ई–हाजिरी प्रणाली सुरु भएपछि हाजिरी गर्दै कार्यालय प्रमुख डा. रत्नवीर सुनार । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, वैशाख २९ गते ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले आफ्नो प्रशासनिक कार्यसम्पादनलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल ई–हाजिरी प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यालय तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको उपस्थिति तथा समयपालनालाई व्यवस्थित गर्न ई–हाजिरी प्रणाली सुरु गरिएको हो ।

सरकारी कार्यालयहरूमा कर्मचारीको नियमित उपस्थिति र समयपालनाबारे पटक–पटक प्रश्न उठ्दै आएको सन्दर्भमा स्वास्थ्य सेवा कार्यालय कालीकोटले थालेको यो कदमलाई महत्त्वका साथ हेरिएको छ । डिजिटल हाजिरी सुरु भएसँगै अब कर्मचारीहरूको कार्यालय प्रवेश र प्रस्थान समय सफ्टवेयरमार्फत प्रत्यक्ष निगरानी हुने भएको छ । यसले परम्परागत कागजी हाजिरीमा हुने त्रुटि तथा अनुपस्थित भएर पनि हाजिरी गर्ने जस्ता गलत अभ्यासलाई निरुत्साहित गर्ने विश्वास गरिएको छ ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको समयमै उपस्थिति अनिवार्य हुने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ । प्रणाली लागु भएसँगै बिरामीहरूले समयमै उपचार पाउने र अस्पतालको प्रशासनिक सुशासनमा समेत सुधार आउने विश्वास गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारका अनुसार प्रविधिको प्रयोगले कर्मचारीहरूमा अनुशासन कायम गराउनुका साथै कार्यसम्पादन मूल्याङ्कन गर्न पनि सहज हुने छ ।

सरकारको सरकारी निकायलाई डिजिटल बनाउने अभियान अन्तर्गत जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले यो प्रणाली लागु गरेको प्रमुख सुनारले बताउनुभयो । यसबाट दुर्गम क्षेत्रका नागरिकले पाउने स्वास्थ्य सेवामा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने र अस्पतालको सेवा प्रवाह थप जिम्मेवार बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।