• २९ वैशाख २०८३, मङ्गलबार

चट्याङले बैतडीमा पशुचौपाया मरे, विद्युत् अवरुद्ध

blog

बैतडी जिल्लाका विभिन्न स्थानमा चट्याङ पर्दा जिल्लाभर विद्युत् सेवा अवरुद्ध । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट
वासुलिङ, बैतडी, वैशाख २९ गते ।
बैतडी जिल्लाका विभिन्न स्थानमा चट्याङ पर्दा पशुचौपायाको मृत्यु हुनुका साथै जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–२, देहिमाण्डौमा सोमबार दिउँसो करिब साढे ३ बजे चट्याङ पर्दा स्थानीय भुवन बोहराका दुई वटा बाख्रा मरेका छन् । वनबाट बाख्रा चराएर घरतर्फ फर्काउँदै गरेका बेला परेको चट्याङबाट अर्को एक बाख्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

त्यसैगरी, सुर्नया गाउँपालिका–७, झार्कुमा मङ्गलबार बिहान करिब साढे ३ बजे स्थानीय डम्मर महराको घरमा चट्याङ पर्दा एउटा भैँसी र एउटा बाख्रा मरेका छन् । घटनाको जानकारी वडा सदस्य लालबहादुर महराले टेलिफोनमार्फत प्रहरी चौकी शङ्करपुरलाई गराउनुभएको थियो । त्यसपछि प्रहरी वरिष्ठ हवल्दार पदम धामीको नेतृत्वमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बल्देव बडुका अनुसार दुवै घटनामा मानवीय क्षति भने भएको छैन ।

सोमबार आएको हावाहुरी र चट्याङका कारण जिल्लाको विद्युत् प्रणालीमा क्षति पुग्दा सोमबारदेखि नै जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयको दैनिक जनजीवन, सञ्चार सेवा र कामकाज प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत कार्य गरिरहेको जनाएको छ । घटनाबारे थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।