• २५ असोज २०८२, शनिबार

एम्बुलेन्सलाई बाटो छैन, बिरामी स्ट्रेचरमा

blog

काठमाडौँ, असोज २५ गते । बिरामी पर्दा सिधै एम्बुलेन्सबाट बनेपा र काठमाडौँसम्म आउने काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय पुनः स्ट्रेचरमै  बिरामी बोक्न बाध्य बनेका छन् । गाउँपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स पनि छन् तर पहिरोले दर्जनौँ ठाउँमा अवरोध भएपछि त्यहाँका नागरिक पुनः स्ट्रेचरमै बोकाएर अस्पतालसम्म ल्याउने बाध्यता सुरु भएको छ । 

डाडाँपारिवासीले एम्बुलेन्स सेवा पाउन लागेको दुई वर्ष मात्रै भयो । त्यसअघि सिधा सडक सम्पर्क नभएका गाउँपालिकाले सङ्घीयता कार्यान्वयनपछि आफूलाई विकटभित्रको विकट गाउँबाट क्रमशः सुगम गाउँमा रूपान्तरण गर्दै थिए । गाउँपालिकाले एम्बुलेन्स सेवामा सहुलियत दिएका थिए । 

२०८१ असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि डाडाँपारिका दुई गाउँपालिकाको ‘लाइफलाइन’ का रूपमा रहेको रोसीखोलामा बनेको पक्की पुल बगाएपछि डाडाँपारिवासी फेरि स्ट्रेचरकै जोरजाम गर्दै छन् । पक्की पुल बगाएपछि बनाएको अस्थायी कलभर्ट पनि असोज १८ गते भएको अविरल वर्षापछि आएको बाढीले बगाएपछि सडक, बिजुली सेवाबाट दुई वटा पालिका वञ्चित भएका हुन् । दुई पालिकालाई जोड्ने सडक अवरुद्ध भएका छन् । रोसी गाउँपालिकाका धेरै वडासम्म जाने सडक सञ्जाल टुटेको छ । पालिकासँग एस्काभेटर र डोजर भए पनि पर्याप्त डिजेल नहुँदा समस्या छ । एक वर्षमा पटक पटक सङ्घीय सरकार र प्रदेश सरकारबाट बेलीब्रिजको आश्वासन पाए पनि कार्यान्वयन भने हुन सकेको छैन । 

रोसी गाउँपालिका–७ र नमोबुद्ध नगरपालिका–५ को सिमाना थाङसेनबेँसीमा रहेको पक्की पुल बगाएपछि डाडाँपारिवासीको दुःखका दिन फेरि सुरु भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले उल्लेख गर्नुभयो । महाभारत गाउँपालिकामा भएका १२ वटा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार भए पनि गम्भीर प्रकृतिको उपचारका लागि स्ट्रेचरमा बोकेर ल्याउने गरेको उहाँले बताउनुभयो । 

सरकारले सुत्केरी हुन नसकेकाका लागि हेलिकोप्टरको व्यवस्थापन गरे पनि सबैलाई त्यसो गर्न सम्भव नभएपछि स्ट्रेचरको विकल्प नभएको बताउनुभयो । “एक जना बिरामी ल्याउन १० जनासम्मको जनशक्ति आवश्यक पर्ने र दुई दिनको बाटो बोकेर ल्याउने बाध्यता छ,” जिम्बाले भन्नुभयो । 

महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र रोसी गाउँपालिकाबाट स्ट्रेचरबाट नै दैनिक १० जनासम्म बिरामी बोकेर ल्याउने गरेको मनसुनजन्य विपत् उद्धार अस्थायी वेश भकुन्डेबेँसीका प्रमुख आलोक बस्नेतले उल्लेख गर्नुभयो । निक्कै सिकिस्त बिरामी ल्याउने गरेको र बिरामी ल्याउन आवश्यक सहयोग र सहजीकरण सुरक्षा निकायले पनि गरिरहेको उहाँले उल्लेख गर्नुभयो । 

बत्तीमुनिको अँध्यारो भने जस्तै सङ्घीय राजधानीबाट १३० किलोमिटर र प्रदेश राजधानीबाट ५० किलोमिटरको दुरीमा रहेको डाँडापारि क्षेत्रका जनताले समस्या बेहोरेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले उल्लेख गर्नुभयो । उहाँले अविरल वर्षापछि आफ्नो गाउँपालिकाको प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएको र त्यसको मारमा गम्भीर प्रकृतिका बिरामी परेको बताउनुभयो । “गाउँपालिकासँग अत्याधुनिक एम्बुलेन्स छन् तर एम्बुलेन्स चलाउने बाटो नभएपछि स्ट्रेचरमै बोक्ने बाध्यता छ, उहाँले थप्नुभयो, हामी युद्धस्तरमा सडक खुलाउने कार्यमा जुटेका छौँ, आशा गरौँ एक/दुई दिनमा सडक खुल्छ ।’’  

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।