राममणि दाहाल
मकवानपुर, कात्तिक २५ गते । मकवानपुर बकैया गाउँपालिका –३ हात्तीसुडेस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु छ ।
मंगलबार साँझ हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका खडकबहादुर घलानको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय घलानको चुरेहिल अस्पताल हेटौँडामा १९ः४५ बजेको समयमा उपचारको क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक बकैया गाउँपालिका ७ का २५ वर्षीय देवराज विक र मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका ६ का २० वर्षीय देवराज धानुकी घाइते भएको स्थानीय हात्तीसुडे मेडिकलमा उपचार गरिएको छ ।
सामान्य उपचार पश्चात् डिस्चार्ज भएका मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।