• २४ कात्तिक २०८२, सोमबार

दाङमा खाद्यले धान खरिद गर्न सुरु

blog

धान सङ्कलन केन्द्रमा किसानले धान बिक्रीका लागि लोड गरेर लगेका ट्याक्टर । तस्बिर : लीलाधर वली

लीलाधर वली 
घोराही, कात्तिक २४ गते ।
दाङको देउखुरीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले सम्झौता अनुसार गढवा गाउँपालिका–५, गढवाबाट किसानसँग धान खरिद गर्न सुरु गरेको हो ।

धान खरिदका लागि किसानको अभिलेखीकरणसँगै खरिद गर्न सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार खाद्यले सोमबार धान खरिद गर्न सुरु गरेपछि धान बिक्रीका लागि बिहानैदेखि किसान लाइनमा बसेका छन् ।  खाद्यले गढवामा दुई हजार क्वीन्टल धान खरिद गर्ने भएको सूचना अधिकारी डाँगीले बताउनुभयो ।

सूचना अधिकारी डाँगीका अनुसार खाद्यले यो वर्ष दाङमा पाँच हजार क्विन्टल धान खरिद गर्ने भएको छ । उहाँका अनुसार खाद्यले यस वर्ष धान खरिदका लागि गढवासँगै लमही नगरपालिका र राप्ती गाउँपालिका किसानका किसानको धान खरिद गर्ने भएको छ ।

तत्कालका लागि दाङमा पाँच हजार क्विन्टल धान खरिद गर्ने केन्द्रबाट परिपत्र भएको भन्दै सूचना अधिकारी डाँगीले धान धेरै आएमा कोटा बढ्नसक्ने बताउनुभयो । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल मूल्य तीन हजार चार सय ६३ रुपियाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार छ सय २८ रुपियाँ ३३ पैसा निर्धारण गरेको छ ।