• २२ कात्तिक २०८२, शनिबार

आफ्नै मुद्रणमा लाइसेन्स छपाइ सुरु

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल शुक्रबार काभ्रेस्थित सुरक्षण मुद्रण केन्द्रबाट छापिएका सवारीचालक अनुमतिपत्र सार्वजनिक गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

काभ्रेपलाञ्चोक, कात्तिक २२ गते । ट्रायल पास भएको लामो समयसम्म पनि सेवाग्राहीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नपाएर सरकारले आलोचना खेप्नु परिरहेको अवस्थामा शक्रबारदेखि आफ्नै स्वामित्वमा रहेको मुद्रणबाट सरकारले लाइसेन्स छाप्न सुरु गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्र प्रेसबाट लाइसेन्स छपाइको कार्य सुरु भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री परिषद्को बैठकमा ट्रायल पास भएको लामो समयसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाएको गुनासो गरेको सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लाइसेन्स छपाइको प्रस्ताव लगेसँगै तत्काल कार्य अघि बढाउन निर्देशन दिनुभएको थियो । 

काभ्रेपलाञ्चोकको श्रीखण्डपुरमा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारीचालक अनुमतिपत्र छपाइको शुभारम्भ गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीले छ महिनाभित्र बाँकी रहेका २८ लाख लाइसेन्स छपाएर सुशासनमा टेवा पु¥याउन आवश्यक निर्देशन दिनुभएको उल्लेख गर्नुभयो । 

उहाँले नीतिगत समस्या, बेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाइसेन्स छपाइ सुरु गरिएको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो । केन्द्रको बेथिति, कानुनी अफ्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोतसाधन सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्स छपाइ सुरु गरिएको हो । अब क्रमशः  अन्य विभिन्न छपाइ पनि केन्द्रबाटै हुन्छ । यसबाट मुलुकको पैसा बाहिर जान रोकिन्छ । राष्ट्रिय सुरक्षाका हिसाबले पनि महत्वपूर्ण र राम्रो सुरुवात हो । यसलाई निरन्तरता दिनु पर्छ ।”

लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोतसाधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताउनुभयो ।

मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको दाबी गर्नुभयो । उहाँले सुरक्षण मुद्रण केन्द्र भनेपछि अख्तियार, अदालत सबैको डर मान्नु पर्ने अवस्थामा जोखिम मोलेर छपाइको कार्य सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सौंदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपुर्जाको धुलो पन्छाएर छपाइ सुरु गरेका छौँ । यसले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पुगेर छपाइको काम गरोस् ।”

केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन नसक्दा भवन खण्डहर भएको थियो भने मेसिनहरू कामविहीन भएका थिए । “अहिले हामीले निकै मेहनत गरेर सरकारी प्रेसबाटै लाइसेन्छ छपाइ सुरु गरेका छौँ,” सञ्चारमन्त्री खरेलले भन्नुभयो, “२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।” 

मन्त्रालयका सचिव राधिका अर्यालले छपाइको हजारौँ किलोमिटरको यात्रा काभ्रेपलाञ्चोकको मुद्रण केन्द्रबाट सुरु भएको उल्लेख गर्नुभयो । पनौती नगरपालिकाको प्रमुख रामशरण भण्डारीले देशका लागि आवश्यक महत्वपूर्ण सामग्री छाप्न आफ्नो जिल्लाले योगदान दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले छपाइको कामले निरन्तरता पाउने बताउनुभयो । 

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरु गरिएको बताउनुभयो । उहाँले पहिलो चरणमा 

१२ लाखप्रति छपाइको सम्झौता भए अनुरूप शुक्रबारबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । कार्डमा आधारित छपाइ सुरु गरिएको हो । 

निर्वाचनको वातावरण बनाउन आग्रह

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको माध्यमबाट मात्रै अहिलेको असहज परिस्थिति हट्ने भएकाले शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन हुने वातावरण तयार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । 

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभाका अध्यक्ष दाहालले प्रतिनिधि सभा नरहेको अवस्थामा राष्ट्रिय सभाको भूमिका अझै बढेको र सरकारले समन्वय गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सहज परिस्थिति छैन । सरकार, दल र जनप्रतिनिधि सबैमाथि दबाब छ । वातावरण सहज बनाउन सरकारले राष्ट्रिय सभासँग समन्वय गर्न जरुरी छ ।”

समितिको बैठकमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संसदीय अभ्यासमा वर्तमान सरकार र मन्त्रीपरिषद्का सदस्य अभ्यस्त नरहेकाले कमीकमजोरी भएको हुन सक्ने बताउनुभयो । बैठकमा सभाका उपाध्यक्ष विमला घिमिरेसहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा समितिका सभापतिको सहभागिता थियो ।    

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।