शालिग्राम नेपाल
चितवन, कात्तिक २५ गते । चितवन र नवलपरासी जोड्ने नारायणी नदीमाथि नारायणगढमा निर्माण हुने नयाँ पुलको डिजाइन तयार गर्न दुई वर्ष पाँच महिना लागेको छ । एक वर्षमा डिजाइन सकेर तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको हो ।
भारतीय विज्ञसँग गराइएको पुलको डिजाइन सडक विभाग पुल महाशाखामा पेस गरिएको थियो । पहिलो पटक बुझाएको डिजाइन उपयुक्त नभएको भन्दै महाशाखाले अस्वीकार गरेपछि कन्स्ट्रक्सनले पुनः दोस्रो पटक चीनको विश्वविद्यालयका एक जना प्रोफेसरको नेतृत्वको टोलीलाई डिजाइन गर्न लगाएको थियो ।
चीनको टोलीले गरेको डिजाइन सडक विभाग पुल महाशाखाले स्वीकार गरेर निर्माणका लागि स्वीकृति दिएको छ । चीनको टोलीले स्थलगत अध्ययन गरेर तयार पारेको डिजाइन गत भदौमा महाशाखामा पेस गरेको थियो । पेस गरेको डिजाइन महाशाखाका विज्ञले अध्ययन गरेपछि स्वीकार गरेको हो ।
पुल महाशाखा प्रमुख ललिजन खनालले भन्नुभयो, “पेस गरेको डिजाइन हामीले अध्ययन ग¥यौँ । भूबनोट अनुसारको डिजाइन उपयुक्त भएकाले निर्माणका लागि स्वीकृति दिएका छौँ । अब छिट्टै निर्माणको प्रव्रिmया अगाडि बढ्छ ।” निर्माण सम्झौता भएपछि सुरुमा पेस गरेको डिजाइन नेपालीको भूमि अनुसार उपयुक्त नभएका कारण अस्वीकार गरेको उहाँले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले चीनका विज्ञ प्रोफेसरको नेतृत्वमा डिजाइन गर्न लगाएको थियो । सो डिजाइनलाई अध्ययनपछि उपयुक्त ठहराएको प्रमुख खनालले भन्नुभयो । कार्यालयका अनुसार डिजाइन पास गरिएको छ । आगामी मङ्सिरबाट स्थलगत काम सुरु हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक वर्षमा सकिने डिजाइनले दुई वर्ष नाघिसकेको छ, अब धेरै ढिला गर्न हँुदैन । त्यसैले ढिला नगरी काम गर्न निर्देशन दिएका छौँ ।”
पुल महाशाखाका इन्जिनियर अमृत वर्माले लट्ठासहित १४ मिटरको हुने जानकारी दिनुभयो । पुटपाथसहित सवारीसाधन सञ्चालन हुने चौडाइ भने ११ मिटरको कायम हुने उहाँले बताउनुभयो । डिजाइनलाई पास गरेर निर्माणका लागि प्रव्रिmया अगाडि बढिसकेकाले केही दिनभित्रबाट काम थालिने जानकारी दिनुभयो ।
पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गर्नुभएको थियो । डिजाइन एन्ड बिल्डका आधारमा बन्ने यो पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले मूल्य अभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपियाँमा पाएको छ । चार वर्षभित्र निर्माण सक्ने गरी सो कम्पनीसँग विसं २०८० जेठ १९ गते सम्झौता भएको थियो । पहिलो वर्ष डिजाइनमा काम गर्ने र बाँकी अवधि तीन वर्षमा पुल निर्माणको काम सक्ने सम्झौतामा उल्लेख छ ।
अहिले चालु अवस्थामा रहेको नारायणी नदीमाथिको पुल विसं २०३७ मा निर्माण भएको हो । यसअगाडि नारायणी नदीमा डुङ्गाको सहायताले यातायातका साधन वारपार गराइएको थियो । पुरानो पुल जीर्ण बन्दै गएपछि नयाँ निर्माणको प्रव्रिmया अगाडि बढेको हो । नारायणगढदेखि बुटवलसम्म चार लेनको सडक विस्तार भएपछि अर्को पुल निर्माण गर्नुपर्ने बाध्यता बनेको छ । नारायणगढबाट पूर्व गोन्द्राङसम्म छ लेनको सडक निर्माण पूरा भएर चालु अवस्थामा छ । नदीमा नयाँ पुल बने पनि पुरानो पुल भने कायमै राखिने छ । नयाँ बन्ने सिग्नेचरमा दुई लेन र साढे तीन मिटरको फुटपाथ हुने छ । लम्बाइ अहिलेको पुलको जत्तिकै ४२० मिटर हुने छ ।
जम्मा चार वटा पिल्लर रहने पुलको तलबाट साना पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । पुल आकर्षक र आधुनिक बन्ने महाशाखाले जनाएको छ ।