• २४ कात्तिक २०८२, सोमबार

लालबहादुरले बेच्नुभयो १० क्विन्टल अकबरे

blog

कृषक लालबहादुर पुनको बारीमा फलेको अकबरे खुर्सानी । तस्बिरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक २४ गते । बेनी नगरपालिका–३, भकिम्लीका लालबहादुर पुनले वैदेशिक रोजगारी त्यागेर स्वदेशमै कृषि कर्मलाई रोज्नु भएको छ । तीन वर्ष वैदेशिक रोजगारीमा रहेर फर्किनुभएका पुनलाई पछिल्लो पटक बेलायत (युके) जाने भिसा लागेको भए पनि उहाँले विदेश जानुको सट्टा गाउँमै बसेर कृषि व्यवसाय सुरु गर्नुभएको हो । 

युकेको भिसा लाग्दा पनि नजाने भनेर गाउँघरमा धेरैले कुरा काटेको भए पनि अहिलेको कृषि कर्म देखेर आफैलाई खुसी लाग्ने गरेको उहाँले सुनाउनुहुन्छ । तीन वर्ष विदेश बसेँ त्यसपछि का १६ वर्ष यही मिहिनेत गरेर बसेको छु उहाँले भन्नुभयो ।

लालबहादुरले यस वर्ष उहाँले उत्पादन गरेको अकबरे खुर्सानी १० क्विन्टल बिक्री गर्नुभएको छ । 

प्रतिकेजी दुई सय रुपियाँका दरले बिक्री गरेको र अझै पनि करिब तीन क्विन्टल हाराहारी खुर्सानी टिप्नै बाँकी रहेको अनुमान उहाँको छ । बेनी नगरपालिका–३ भकिम्लि सिममा उत्पादन भएको अकबरे खुर्सानी म्याग्दी जिल्लाको सदरमुकाम बेनी, बागलुङ, पोखरा र पर्वतको कुश्मा तथा बाच्छा लगायतका बजारमा पठाइएको लालबहादुरकी श्रीमती चन्द्रकली छन्त्यालले बताउनुभयो । 

हाम्रो वडामा कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्ने लालबहादुर एक मिहिनेती व्यक्ति हुन् बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “लालबहादुरले आफ्नै घरमा बसेरै परिवार पाल्ने मात्र नभएर शिक्षा दिक्षाका लागि पनि महत्वपूर्ण काम गर्दै आफ्नै ठाउँलाई खनीखोस्री गरेर राम्रा आम्दानी गर्नुभएको छ ।”

वडाध्यक्ष पुनका अनुसार लालबहादुरले घरमै बसेर परिवारसहित कृषिमा गरेको मेहनतका कारण वार्षिक १० लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “लालबहादुरले देखाएको उदाहरणले स्वदेशमै पनि राम्रो आम्दानी र सम्मान प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिब बाँस्तोलाले लालबहादुरको खुर्सानीका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको बताउनुभयो । उच्च पहाडी क्षेत्रमा हुने अकबरे खुर्सानी उत्पादनका हिसाबले निकै राम्रो तबरले भकिम्लिमा भएको उहाँको भनाइ छ । 

कृषिका लागि मिहिनेत गर्नुपर्छ र लालबहादुरले उत्कृष्ट तबरले मेहनत गरेको कारणले नै सफलता हात लागेको बाँस्तोलाको भनाइ छ । उहाँले भन्नुभयो, “खुर्सानी उत्पादन यस वर्ष निकै राम्रो गर्नुभएका लालबहादुरले किवीको उत्पादन पनि राम्रो गर्नुभएको बताउनुभयो ।

कृषिसँगै पुनले फलफूल तथा व्यावसायिक खेतीमा पनि रुचि देखाउनुभएको छ । उहाँको बगानमा हाल २५० वटा किवीका बोट रहेका छन् । साथै गाउँमै सञ्चालन गरिएको फर्निचर व्यवसायबाट पनि उहाँले उल्लेख्य आम्दानी गर्न सफल भएको वडा अध्यक्ष पुनको भनाइ छ ।

पुनकी श्रीमती ४२ वर्षीया चन्द्रकली छन्त्याल कृषि तथा घरेलु काममा सक्रिय रहँदै श्रीमानलाई साथ दिँदै आउनुभएको छ । उहाँहरूको १३ वर्षका छोरा र १७ वर्षीया छोरी छन् । कृषि कर्मबाट आत्मनिर्भर बन्न सफल पुनले आगामी वर्ष उत्पादन विस्तार गरी २० क्विन्टलसम्म अकबरे खुर्सानी उत्पादन गर्ने लक्ष्य राखिने बताउनुभयो ।