• २२ वैशाख २०८१, शनिबार

‘टाइगर–३’ एक्सनले नै बोझिलो

blog

काठमाडौँ, मङ्सिर १ गते ।  सलमान खान–कट्रिना कैफ अभिनीत ‘एक था टाइगर’ बाट सुरु भएको जासुसी कथा ‘टाइगर जिन्दा है’ पछि अब ‘टाइगर ३’ मा दोहोरिएको छ । लाखौँ दर्शकका लागि सलमान खान अभिनीत चलचित्र भनेपछि पुग्छ । त्यसको कथावस्तुभन्दा पनि खानको अभिनयले प्राथमिकता पाएको हुन्छ । 

चलचित्र ‘एक था टाइगर’ मा पनि चलचित्रको कथा पुरानै सिक्वेलबाट सुरु हुन्छ । जहाँ जोया (कट्रिना कैफ) किशोरावस्थामा देखिन्छिन् । उनले आफ्नो पाकिस्तानी ‘आइएसआई’ एजेन्ट बुवा नजर (आमिर बसिर) बाट बक्सिङको तालिम लिइरहेकी हुन्छिन् । बुवा र छोरी दुवै खुसी छन् तर जब जोयाको बुवाको आतङ्कवादीको बम विस्फोटमा परी मृत्यु हुन्छ, त्यसपछि उनले आफ्नो बुवाको साथी आतिस रहमान (इमरान हास्मी) को प्रशिक्षणमा आइएसआई एजेन्ट बन्ने निर्णय गर्छिन् । त्यसपछि फेरि चलचित्रको कथा वर्तमानमा मोडिन्छ जहाँ टाइगर (सलमान खान) जोया र छोरासँग सुखी जीवन बिताइरहेका छन् तर आतिस रहमानले आफ्नी गर्भवती पत्नीको मृत्युको बदला लिन टाइगर र जोयाको छोरालाई मार्ने कोसिस गर्छन् । उनले यस्तो इन्जेक्सन दिन्छन् कि यदि उनलाई २४ घण्टाभित्र एन्टिडोज दिएन भने उनको मृत्यु हुन सक्छ । आतिसले टाइगर र जोयालाई छोराको जीवन बचाइदिनका लागि केही नराम्रा काम गर्न बाध्य पार्छन्, जसका कारण दुवै भारत–पाकिस्तानमा देशद्रोही कहलिन्छन् । 

भारत र पाकिस्तानले शान्ति पहल गरिरहेको बेला आतिस रहमानले यस्तो अवस्था सिर्जना गरेका हुन्छन् । उनी पाकिस्तानमा प्रजातन्त्र अन्त्य गरेर अधिनायकवाद ल्याउन चाहन्छन् । चलचित्रमा टाइगर उर्फ ​​अविनाशले आफ्नो निर्दोषता मात्र प्रमाणित गर्नु छैन पाकिस्तानको लोकतन्त्र र प्रधानमन्त्री आजमलाई पनि बचाउनु छ । के टाइगरले आफूलाई निर्दोष साबित गर्न सक्छन् ? उनले पाकिस्तानमा   लोकतन्त्र कायम गराउन के कस्ता कुराहरू अपनाउँछन् र यसमा फेरि उनले जोयाको समर्थन पाउँछन् । यी सबै कुराको कथनमा नै चलचित्रको कथा बनेको छ ।

निर्देशक मनिष शर्माले जासुसको कथालाई नै अर्थ दिने हिसाबले विस्फोटक एक्सन दृश्यबाट चलचित्रको सुरु गर्छन् जुन द्रुत गतिमा अगाडि पनि बढ्छ । चलचित्र मध्यान्तरअघिसम्म सुस्त गतिमा बढ्छ । दर्शक हलभित्र हाइ नै काट्न सुरु गर्छन् । अन्तरालपछि इमरान हास्मीको प्रवेशले चलचित्रले केही गति लिने काम गर्छ । चलचित्रको राम्रोे मन छुने कुरा भनेकै यसको एक्सन हो । यसलाई बलिउडको सबैभन्दा धेरै एक्सन सिक्वेन्स भएको चलचित्रका रूपमा प्रचार गरिएको छ । जुन केही हदसम्म सत्य साबित हुन्छ तर यसको कमजोर पटकथाले चलचित्र धेरै तल झारेको छ । निर्देशक मनिषले कथालाई भारत–पाकिस्तान जासुसी संसारको परम्परागत ढाँचामा ढालेर अगाडि बढाउँछन् । उनले चलचित्रभित्र सबै प्रकारका मसला थपेका छन् । जसभित्र टाइगरले शाहरुख खानको मद्दत पनि पाएका छन् ।

अभिनयको हिसाबले सलमान खान आफ्नो सामान्य शैलीमा प्रस्तुत भएका छन् । उनले गरेको एक्सनको दृश्यलाई नै दर्शकले मन पराउने छन् । चलचित्रमा परिपक्व कट्रिना कैफले आफ्नो एक्सन दृश्यमा पूर्ण न्याय गरेकी छिन् । एसियाली अभिनेतृ मिसेल लीसँग उनको रुमालको सिलसिलाको एक्सन दृश्य रोमाञ्चक छ । इमरान हास्मी चलचित्रको बलियो बिन्दु हुन् । उनले आफ्नो भूमिकामा आफ्नो आत्मा राखेका छन् । उनको खलनायकी शैलीलाई बिल्कुलै फरक ढङ्गमा प्रस्तुत गरिएको छ । पठानको भूमिकामा शाहरुख खानको क्यामियो र टाइगरसँगको उनको मित्रता रमाइलो छ । कुमुद मिश्रा, विशाल जेठवा, रिद्धि डोगरा, रेवती, रणवीर शौरीलगायतका कलाकारहरूको आआफ्नो भूमिकामा ठिक छन् । सलमान खानको एक्सन दृश्य रुचाउने दर्शकका लागि चलचित्र अवश्य नै उचित हुन सक्छ तर कथा हेर्न खोज्नेहरूका लागि चलचित्र टाइमपास (समयको दुरुपयोग) बन्न सक्छ ।