गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २६ गते । चलचित्र ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । चलचित्र तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ । चलचित्रमा समावेश गीत ‘मायालाई के दिऊँ म बैना’ लोकप्रिय भएसँगै विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहे पनि निर्माण पक्षले प्राविधिक रूपमा तयार भएपछि चलचित्रको प्रदर्शन अधिकार बिक्री गर्न लागेको हो ।
फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले अब चलचित्रको विदेश प्रदर्शनलाई लक्षित गर्दै वितरण सम्झौतामा अगाडि बढ्ने तयारी भइरहेको जनाएका छन् । उहाँका अनुसार डायस्पोरा अधिकार खरिदका लागि आएका प्रस्तावमा निर्माण समूहमा छलफल गरेर प्रदर्शन अधिकार बिक्री गरिने छ ।
चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायतको अभिनय रहेको छ । यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दै हुनुहुन्छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स
दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । चलचित्र आगामी वैशाख १८ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।