• २६ चैत २०८२, बिहिबार

हत्या मुद्दाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

blog

अर्जुन काफ्ले 
स्याङ्जा, चैत २६ गते ।
२९ वर्ष पहिला हत्या गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीरकोट नगरपालिका–२ का ६३ वर्षीय हेम बहादुर केसी (हेम बहादुर जोगी) लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भारथान लुवाडाँडाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०५३ साल कात्तिक ३ गते साविक वालिङ गाविस–३ सिद्धार्थ राजमार्ग क्षेत्रमा सोही गाविस–६ का रनबहादुर सारूको हत्या भएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा सर्वोच्च अदालतले केसीलाई १९ वर्ष ७ महिना २१ दिन कैद सजाय तोकेको थियो । कैद सयाजको फैसला भएयता उहाँ फरार रहँदै आउनुभएको थियो ।

पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको र कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

अभियुक्तले हत्या गरी घटनालाई सवारी दुर्घटना जस्तो देखाउने प्रयास गरेको र कानुनी कारबाहीबाट बच्न आफ्नो पहिचानसमेत परिवर्तन गरी फरक थरबाट नागरिकता बनाएको तथ्य पनि प्रहरीले पुष्टि गरेको छ ।

यसअघि पटक–पटक सोधपुछ हुँदा संलग्नता अस्वीकार गर्दै आएका केसीको भूमिकाबारे वैज्ञानिक अनुसन्धान र प्रमाणका आधारमा पुष्टि भएको प्रहरीले जनाएको छ ।