• १२ साउन २०८१, शनिबार

कार्टुनिष्टले कार्टुन प्रस्तुत गर्दा भोग्नुपरेको समस्याबारे छलफल

blog

कार्टुनिष्ट मोहनश्याम महर्जनलाई सम्मान गरिँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असोज २९ गते । प्रेस काउन्सिल नेपालको आयोजनामा ‘सञ्चार माध्यममा कार्टुन र आचार संहिता’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्टुनिष्टहरुले कार्टुन लेख्दा वा प्रस्तुत गर्दा भोग्नुपरेको समस्याका विषयमा छलफल भएको थियो । मन्तव्यको क्रममा कुलपति हार्तम्छालीले प्रेस काउन्सिलले सिर्जना, कला र कार्टुनिष्टसँग जोडेर कार्यक्रम गरेको कुरामा खुशी व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत तथा रवि मिश्रले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका कार्यपत्रमा कार्टुनिष्टहरुले कार्टुन प्रस्तुत गर्दा भोग्नुपरेका दुःख पीडा तथा भोगाइका बारेमा चर्चा गरिएको थियो ।

कार्टुन लेखेकै भरमा स्पष्टीकरण दिनुपर्ने अवस्था भोग्नुभएका कार्टुनिष्ट रविन सायमीले प्रेस काउन्सिल निष्पक्ष रुपमा प्रेस र पत्रकारहरुको हितमा उभिनु आवश्यक भएको बताउनुभयो ।

यसैगरी, कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले कार्टुनले दिने सन्देश भनेको राज्यलाई सचेत गराउने हो र कार्टुन प्रस्तुत गरिसकेपछि कुनै पनि त्रासको वातावरणमा बस्न नपर्ने अवस्था सिर्जना हुनुपर्ने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा कार्टुनिष्ट क्लब अफ नेपालको संयोजन तथा सहकार्यमा भएको कार्यक्रममा लामो समयदेखि कार्टुन विधामा सक्रिय रहनुभएका मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरिएको थियो भने कार्यक्रम प्रतिष्ठानको प्रेक्षालयमा भएको थियो ।

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।