• १९ वैशाख २०८१, बुधबार

मेल्लेख ग्राममा छ उद्योग सञ्चालन

blog

काठमाडौँ, असार २५ गते । अछामको मेल्लेख औद्योगिक ग्राममा छ वटा उद्योग सञ्चालनमा आएका छन् । मेल्लेख गाउँपालिका औद्योगिक ग्राम स्थापना गरी उद्योग सञ्चालन गरेको हो । सञ्चालनमा उद्यमीलाई तालिमसँगै उत्पादनको उत्पादनको बजारीकरण सुरु गरेको छ । ग्राममा अल्लो, गार्मेन्ट, चिप्स उद्योग, अचार, दालमोट, सिस्नोको धुलो उद्योग स्थापना भई उत्पादन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । ती उद्योगबाट २१ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । 

ग्रामभित्र उद्योग सञ्चालन गरी उद्यमीलाई तालिम सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदले उद्योग स्थापना गरी नियमित रूपमा उत्पादन सुरु भइरहेको जानकारी दिनुभयो । ग्रामभित्र उत्पादित उत्पादनको बजारीकरणसमेत गरिएको जानकारी दिनुभयो । 

अछामसँगै धनगढीसम्म उत्पादन वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा भएका स्रोत साधनलाई प्रयोग गरी सामान उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो । नवप्रवर्तन कार्यक्रम अन्तर्गत स्थानीयलाई दक्ष जनशक्ति उत्पादनका लागि तालिम दिइरहेको जानकारी दिनुभयो । अनलाइनबाट समेत उत्पादनको वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ । स्थानीयलाई तालिम उपलब्ध गराउनुका साथै उत्पादन ग्रामभित्रका उद्योगले खरिद गर्ने गाउँपालिकाले जनाएको छ । 

सरकारले चार वर्षअगाडि औद्योगिक ग्राम घोषणा गरे पनि हालसम्म अछामको मेल्लेख गाउँपालिकाले मात्र ग्राम स्थापना गरी सञ्चालनमा ल्याएको छ । अन्य ठाउँमा भने ग्राम निर्माणकै क्रममा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले मुलुकभर विभिन्न ठाउँमा १२० औद्योगिक ग्राम घोषणा गरेको छ । चालु आवमा १५ वटा ग्राम घोषणा गरेको छ । 

सरकारले स्थानीयस्तरका प्राकृतिक कच्चा पदार्थ उपयोग उत्पादनमा आत्मनिर्भर भई रोजगारी सिर्जना उद्देश्य अनुरूप स्थानीय निकायमा औद्योगिक ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई कार्यान्वयनमा आउन सकेको छैन । 

सरकारले २०७४ सालमा प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार २०७६ साल असोज ७ गतेको मन्त्रीपरिषद् बैठकले ३१ ग्राम पालिकामा स्थापना गर्ने घोषणा गरेको थियो । सरकारले २०७४ सालमा निर्णय गरे पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७५ चैत ४ गते मात्र स्थानीय तहमा औद्योगिक ग्राम बनाउनका लागि औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ तयार गरेको थियो । 

सरकारले हालै कालीकोटको रास्कोट नगरपालिका, कालीकोटकै नरहरिनाथ गाउँपालिका, बाँकेको राप्तीसोनारी गाउँपालिका, पाल्पाको रम्भा गाउँपालिका, अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ग्राम घोषणा गर्न लागिएको हो । यस्तै पर्साको जगतनाथपुर गाउँपालिका, बाराको गढीमाई नगरपालिकामा ग्राम घोषणा हुुन लागेको हो । मन्त्रालयका अनुसार हालसम्म कोशी प्रदेशमा १०, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिममा १६ ग्राम घोषणा भएका छन् । अछामको मेल्लेख गाउँपालिकाले ग्राम स्थापना भई सञ्चालनमा ल्याए पनि अन्य ठाउँमा ग्राम निर्माण हुन सकेको छैन । मेल्लेख गाउँपालिकाले ग्राम निर्माण सम्पन्न गरी उद्योग सञ्चालन गरिसकेको छ । ग्राम निर्माणका लागि केन्द्र सरकारबाट एक अर्ब ३० करोड १४ लाख रुपियाँ विनियोजन भएको छ । मन्त्रालयले ग्राम निर्माणका लागि ९२ लाख रुपियाँदेखि तीन करोड रुपियाँसम्म दिने गरेको छ । ग्रामका लागि स्थानीय र प्रदेश सरकारले समेत बजेट विनियोजन गर्ने गरेका छन् ।