• ३१ असोज २०८२, शुक्रबार

आइसिसी टी–२० विश्वकप पुग्ने २० वटै टोलीको टुङ्गो

blog

काठमाडौँ, असोज ३१ गते । सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकप खेल्ने २० वटै टोलीको टुङ्गो लागेको छ ।

ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत बिहीबार राति संयुक्त अरब इरिमेट्स (युएई) ले जापानलाई आठ विकेटले हराउँदै विश्वकपमा पुगेसँगै सहभागी सबै टोलीको टुङ्गो लागेको हो ।

यसअघि नेपाल र ओमानले १८औँ र १९औँ टोलीको रुपमा विश्वकपमा स्थान बनाएका थिए । सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज साँझ सामोआसँग खेल्नेछ । सामोआलाई हराएमा नेपालले छनोटको ट्रफी जित्नेछ । छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आजै ओमानले जापानलाई नौ विकेटले हराएको छ ।

विश्वकपमा भारत र श्रीलङ्का आयोजक देशको रूपमा सोझै छनोट भएका छन् । यस्तै अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, अफगानिस्तान र अमेरिका अघिल्लो संस्करणमा सुपर आठमा स्थान बनाएकाले सोझै छनोट भएका हुन् ।

न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा छनोट हुँदा क्यानाडाले अमेरिकी महादेश, नेदरल्यान्ड्स र इटालीले युरोप तथा जिम्बावे र नामिबियाले अफ्रिकी छनोट पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।