गोकर्ण पौडेल
तुलसीपुर, कात्तिक १ गते । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा किवी फलेको छ । छिल्लीकोटका किसान परवीर पुनले तीन वर्ष पहिले करिब १२ कट्ठा जग्गामा लगाएको किवी फल्न सुरु गरेको हो ।
नेपालको १२ सयदेखि दुई हजार चार सय मिटरको उचाइसम्म किवी खेतीका लागि उपयुक्त मानिन्छ । छिल्लीकोट समुद्री सतहदेखि १४ सय मिटर उचाइमा रहेको छ ।
परवीर पुनले व्यवसायीको रूपमा जिल्लामै पहिलो पटक किवी खेती उत्पादन सुरु गर्नुभएको छ । परवीर पुनले सल्यान जिल्लाबाट एक सय बढी बोट खरिद गरेर बारीमा रोप्नुभएको थियो ।
प्रतिबोट दुई सय रुपियाँमा खरिद गरेर बारीमा रोपेको पुनले जानकारी दिनुभयो । किसान परवीर पुनले किवी फुल्ने क्रममा हावापानी र असिनाका कारण सोचेअनुरूप फल नदिएको बताउनुभयो । उहाँले यस वर्षदेखि फल दिन सुरु गरेको बताउनुभयो । पुनले व्यावसायिकरूपमै उत्पादन गर्न थप बिरुवा रोपण गर्ने बताउनुभयो ।
सन् १९०६ मा न्यूजील्यान्डमा किवी खेतीको परीक्षण सुरु गरिएको थियो । नेपालमा २०४३ सालमा बागवानी विकास आयोजना कीर्तिपुरमा परीक्षण गरिएको थियो । नेपालमा अहिले ४० जिल्लामा किवीको व्यावसायिक रूपमा उत्पापदन सुरु गरिएको छ ।
चिसो हावापानी, शितोष्णदेखि समशितोष्ण क्षेत्रमा किवीले राम्रो उत्पादन दिने गर्दछ । रोपण गरिएको पाँच वर्षमा एउटा किवीको बोटबाट ८० देखि एक सय केजीसम्म फल उत्पादन हुने गर्दछ । किवीबाट भिटामिन सी र ई पाइने गर्दछ । छालाको सौन्दर्य बढाउने लोसन, क्रिमसमेत बनाउने गरिन्छ ।