• १ कात्तिक २०८२, शनिबार

पहिरोपीडितका लागि स्थायी पुनर्बासको बाटो खुल्यो

blog

निर्माणधीन मदन भण्डारी रङ्गशालामा गाउँपालिकाले निर्माण गरिदिएको अस्थायी एकीकृत आवास स्थल । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, कात्तिक १ गते । मैवाखोला गाउँपालिकाका पहिरो पीडितहरूको स्थायी पुनर्बासका लागि बाटो खुला भएको छ । शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्थायी पुनःस्थापनाको प्रक्रियालाई स्वीकृत गरेसँगै बाटो खुला भएको हो । 

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले अब स्थायी पुनर्बासका लागि बाटो खुला भएको बताउनुभयो । उहाँका अनुसार अब चाँडै जग्गा खरिद र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहित आवास निर्माण कार्य अघि बढाइने छ । 

उक्त परियोजना मैवाखोलाको नमुना परियोजना हुने भएकाले केही समय लाग्ने भएकोले धैर्य गर्न पनि वनेमले आग्रह गर्नुभयो । गाउँपालिकाले निरन्तर मेहेनत गरेर स्थायी पुनःस्थापनाको प्रक्रिया अघि बढाइरहेको थियो । सोही क्रममा यसअघि पालिकाले भुगर्भविद्सहितको विज्ञ टोलीको स्थलगत रूपमा अध्ययनसहितको प्रतिवेदन राष्ट्र विपद् जोखिम न्यूनीकरण तथा स्थायी पुनःस्थापनाको प्रक्रिया अघि बढेको हो ।

बैठकले मैवाखोला गाउँपालिका–३ र ४ मा रहेका ओदक, एकबाँसे र ताम्राङ बस्तीका ६५ परिवारलाई त्यही गाउँपालिका–३ को साँघुमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । २०८० साल असार ३ गते राति भीषण वर्षासँगै आएको पहिरोले ६५ परिवार विस्थापित भएका थिए । उहाँहरूलाई हाल मैवाखोला–३, साँघुस्थित निर्माणाधीन मदन भण्डारी रङ्गशालामा अस्थायी आवास निर्माण गरिराखिएको छ ।