• १ कात्तिक २०८२, शनिबार

यसपालि छ दिनको यमपञ्चक

blog

महोत्तरी,  कात्तिक १ गते ।  उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली आजदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो । 

मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुने छ ।

नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ । यसपालि बितेको शारदीय नवरात्र जस्तै यमपञ्चक एक दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मिथिलामा दीपावली भनिने ‘यमपञ्चक’  यसपालि तिथिको भोग घटबढले छ दिन भएको हो । यसपालिको शारदीय नवरात्र १ः१० दिनकोे भएको थियो ।

महोत्तरीसहित मधेशका प्राचीन मिथिला क्षेत्रमा चाडपर्व र तिथिको टुङ्गो मिथिला पञ्चाङ्गम् र विद्यापति पञ्चाङ्गम्बाट निधो गरिन्छ । यमपञ्चकको पहिलो दिन धनतेरस कात्तिक कृष्ण त्रयोदशीको गोधुली साँझपछिको रात्रिभोगको समयमा मनाउने चलन रहेको छ । यसैले आज अपराह्न १ः२३ बजेपछि त्रयोदशी सुरु भई भोलि आइतबार दिउँसो १ः५६ बजेसम्म रहने पञ्चाङ्गमा उल्लेख रहेको पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

“त्रयोदशीको साँझ र रात एकैदिन परेको हुँदा धनतेरस आजै मनाइन्छ”, झा भन्नुहुन्छ, “तर त्रयोदशी तिथिमै गरिने दीपावली पर्वको कागपूजा भने भोलि आइतबार मध्याह्नसम्म गरिनुपर्छ ।” धनतेरस सन्ध्याकालसँगै रात्रिमा र कागपूजा दिनमा मनाउने चलनले यस्तो भएको उहाँको कथन छ ।

यसैगरी दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा पर्सी सोमबार साँझ नै गरिने छ । सो दिन सूर्योदय चतुर्दशी तिथि भए पनि दिउँसो ३ बज्नुअघि औँसी सुरु हुने हुँदा लक्ष्मीपूजा सोही दिन गरिने पञ्चाङ्गले निर्देश गरेको झाको भनाइ छ ।

दीपावली पर्वका धनतेरस र लक्ष्मीपूजा सन्ध्याकालमा सुरु गरिन्छ । यस्तै, यसै पर्वको गौपूजा, गोधनपूजा र भैयादुज दिनमा गरिने चलन छ । औँसीको रातमा गरिने लक्ष्मीपूजा सोमबार गरिए पनि सोही तिथिमा गरिने गौपूजा भने मङ्गलबार बिहान गरिने झाले जानकारी दिनुभयो । मैथिल परम्पराको दीपावली पर्वको गोधनपूजन कात्तिक शुक्ल प्रतिपदा र भैयादुज द्वितीया तिथिमा गरिन्छन् । यसअनुसार यसपालि गोधन बुधबार र भैयादुज बिहीबार सम्पन्न गरिनुपर्ने उहाँले बताउनुभयो ।

सामान्यत शारदीय नवरात्रको तिथिको भोग घटबढको प्रभाव त्यसलगत्तैको दीपावली पर्वमा पनि पर्ने गरेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । “यसपालि शारदीय नवरात्र चौथी (चतुर्थी) तिथि दुई दिन भोगमा रहँदा १० दिनको परेको थियो”, उहाँ भन्नुहुन्छ, “यसैगरी यमपञ्चक तिथिको भोग घटबढले छ दिनको भएको छ ।”

दीपावली पर्व देशभर उमङ्ग र उत्साहसाथ मनाउने परम्परा छ । खासगरी पहिलो दिनको धनतेरस र लक्ष्मीपूजा मिथिलामा विशेष मानिन्छन् । रासस