• १ कात्तिक २०८२, शनिबार

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ विद्युतीय सवारी साधन (सार्वजनिक यातायात), चार्जिङ स्टेसनजस्ता इ(मोबिलिटीका क्षेत्रमा लगानी गर्न सुझाव लिनुहुँदै । तस्बिर : मन्त्री घिसिङको सचिवालय

काठमाडौँ, कात्तिक १ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको उक्त कोषलाई निष्क्रिय नराखी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी प्रभावकारी रूपमा अगाडि बढाइने मन्त्री घिसिङले उल्लेख गर्नुभयो । कोषका कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले विद्युतीय सवारी साधन (सार्वजनिक यातायात), चार्जिङ स्टेसनजस्ता इ-मोबिलिटीका क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गर्ने कोषका लागि फोहोरबाट ऊर्जा उत्पादन गरिने परियोजना लगानीको क्षेत्र हुनसक्ने भन्दै घिसिङले ऊर्जा पनि उत्पादन हुने र फोहोरमैला व्यवस्थापन गर्न सकिने त्यस्ता परियोजनामा लगानीको सम्भाव्यता अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले लगानी गर्नुपर्ने तथा कोषले लगानी गर्ने क्षेत्राधिकारलाई अझ धेरै विस्तार गर्नका लागि आवश्यक कानुनी व्यवस्थालाई परिमार्जन समेत गरिने बताउनुभयो ।

हरित जलवायु कोष (ग्रिन क्लाइमेट फन्ड)बाट मान्यता (एक्रेडिटेसन) प्राप्त हुने क्रममा रहेको र मान्यता पाएपछि कोषलाई हरित उर्जा सम्बन्धी परियोजनामा लगानीको लागि ठुलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले कोषकोे वित्तीय स्रोतको रुपमा सात अर्ब रुपियाँ स्वःपूँजी (इक्विटी) रहेको, एशियाली विकास बैँकमार्फत पाँच अर्ब १९ करोड, विश्व बैँकबाट १२ करोड र नेपाल सरकारबाट दुई अर्ब रुपियाँ रकम ऋणको रूपमा प्राप्त भएको जानकारी दिनुभयो । कोषले १६ अर्ब रुपियाँ ऋण प्रवाह गरेको छ ।

कोषले शहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण/अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोषवाट नगरका बसपार्क, खानेपानी जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माण लगायतका क्षेत्रमा लगानी गरिरहेको छ । जेनजी आन्दोलनका कारण क्षति भएका नगरका भवनको पुनर्निर्माणमा कोषलाई परिचालन गर्न सकिने अवधारण अगाडि सारिएको छ ।