नवराज कट्टेल
विराटनगर, कात्तिक १ गते । कोशीमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने सात उद्योगले बुझाउनुपर्ने बक्यौता हर्जानाका कारण बर्सेनि बढ्दो छ ।
सातमध्ये चार उद्योग अदालतबाट अन्तरिम आदेश लिएर ढुक्कसँग बसेका छन्, जसको बक्यौता पनि भारी छ । विराटनगरको रघुपति जुट मिल, बाबा जुट मिल, सुनसरीको अरिहन्त मल्टिफाइबर्स र अरिहन्त पोलिप्याकबाट तत्काल बक्यौता असुल गर्ने बाटो बन्द छ । यी उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् ।
नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालयका प्रमुख राजीवकुमार सिंहका अनुसार बाँकी तीन वटा उद्योगमध्ये धनकुटाको निगाले सिमेन्ट आफैँ बन्द छ । सुनसरीको रिलायन्स स्पिनिङ र उदयपुरको उदयपुर सिमेन्टको सम्बन्धमा पछिल्लो पटक दिएको म्याद गुज्रेपछि नेपाल विद्युत् प्राधिकरणले दिएको म्यादपछि थप निर्णयका आधारमा कारबाही चलाइने सिंहले जानकारी दिनुभयो ।
कोशीका सात उद्योगमध्ये रघुपति जुट मिलबाट २२ करोड ८१ लाख ७५ हजार ६२३ रुपियाँ ४८ पैसा असुल्नुपर्ने रकम देखिन्छ । यसै गरी कटहरीको बाबा जुट मिलबाट छ करोड ३५ लाख ९३ हजार ९९२ रुपियाँ ५६ पैसा असुल्नुपर्ने छ ।
प्रादेशिक कार्यालय कोशीका इलेक्ट्रिकल फोरमेन निमेश देवका अनुसार असोजसम्मको बक्यौता बुझाउन उदयपुर सिमेन्ट उद्योगले ५६ करोड ४३ लाख ४८ हजार ८२६ रुपियाँ ६१ पैसा रहेको छ । यसै गरी सुनसरीको रिलायन्स स्पिनिङ मिल्सको दुई अर्ब १८ करोड ३६ लाख २१३ रुपियाँ ३९ पैसा रहेको छ । यो उद्योगको लाइन काटिन सक्ने सम्भावना रहेको प्रादेशिक कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो । यसै गरी धनकुटाको निगाले सिमेन्ट प्रालिले १५ करोड ९६ लाख ९१ हजार ५७४ रुपियाँ बुझाउनुपर्ने छ । सुनसरीकै अरिहन्त मल्टी फाइबर लिमिटेडले आठ करोड ७९ लाख ७७ हजार ७२४ रुपियाँ ६० पैसा र अरिहन्त पोलिप्याक लिमिटेडले चार करोड ३६ लाख ५३ हजार ७१९ रुपियाँ ७० पैसा तिर्न बाँकी छ ।
दुई अर्ब रुपियाँभन्दा माथि बक्यौता रहेको रिलायन्स स्पिनिङमाथि कारबाही बढाइने छ । यसै गरी उदयपुर सिमेन्टलाई समेत कारबाही अगाडि बढाउने तयारी गरिएको प्रादेशिक कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो ।
उहाँले अन्तिम पटक दिएको म्याद सकिने क्रममा अन्यन्त्रका कतिपय उद्योगले बक्यौता बुझाएको खबर आउँदा कोशीका उद्योग अहिलेसम्म अटेरी गरिरहेकाले कारबाही गरेर बढ्ने दाबी गर्नुभयो ।