• १५ वैशाख २०८१, शनिबार

भू–उपग्रह के हो ?

blog

उपग्रह एउटा वस्तु हो जुन ठूलो वस्तुको वरिपरि घुम्छ । पृथ्वी एक उपग्रह हो किनभने यो सूर्य वरिपरि घुम्छ । चन्द्रमा एक उपग्रह हो किनभने यो पृथ्वी वरिपरि घुम्छ । पृथ्वी र चन्द्रमालाई प्राकृतिक उपग्रह भनिन्छ तर सामान्यतया जब कसैले भू–उपग्रह भन्छ भने त्यो मानव निर्मित भू–उपग्रह हो । भाइबहिनीहरू, भू–उपग्रह के हो? त्यसका बारेमा केही जानकारी लिऔँ है त । 

कुनै पनि ठूलो वस्तुलाई फन्को मारिरहने चिजलाई स्याटेलाइट भनिन्छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ अनि चन्द्रमाले पृथ्वीलाई घुम्छ । त्यसैले पृथ्वी सूर्यको र चन्द्रमा पृथ्वीको स्याटेलाइट हो । मानव निर्मित भू–उपग्रहहरू मानिसहरूले बनाएका मेसिन हुन् । भाइबहिनीहरू, यी मेसिनहरू अन्तरिक्षमा प्रक्षेपण गरेपछि पृथ्वी वा अन्तरिक्षमा कुनै निश्चित पिण्डको परिक्रमा गरिरहन्छन् । आकाशमा रहेका हजारौँँ स्याटेलाइटले आ–आफ्नो दायित्व निर्वाह गर्छन् । 

अहिले अन्तरिक्षमा हजारौँ मानव निर्मित भू–उपग्रह छन् । यस्ता कतिपय भू–उपग्रहले आफ्नो ग्रहको तस्बिर खिच्छन् । कतिपयले अन्य ग्रह, सूर्य र अन्य वस्तुको समेत तस्बिर खिच्छन् । भाइबहिनीहरू, कुनै उपग्रहको काम पृथ्वीको वातावरणीय विनाशको अध्ययन गर्ने हुन्छ भने कुनै भू–उपग्रहको काम सामरिक महìवको हुन्छ । जसले अर्कोे देशले के–कस्ता हतियार बनाउँदैछ भनेर अध्ययन गर्छ । अहिले विश्वका शक्तिशाली राष्ट्रहरूले एक अर्काका विरुद्ध गुप्तचरी तथा जासुसी गर्नेलगायतका काममा भू–उपग्रहको प्रयोग गरिरहेका छन् ।  

भाइबहिनीहरू, भू–उपग्रहको काम आआफ्नै हुन्छ, त्यसैले यिनीहरूलाई कार्यप्रकृतिअनुसार विभिन्न उचाइमा स्थापना गर्ने गरिन्छ । अन्तरिक्षमा हराजौँ लाखौँ स्याटेलाइट छन् । यी एकआपसमा नठोक्किउन् भन्नका लागि तिनीहरूलाई फरक–फरक स्थान तथा मार्गमा स्थापित गरिन्छ । यस्तै पृथ्वी तथा अन्य पिण्डरूसँगको गुरुत्वाकर्षण शक्ति सन्तुलन कायम गर्न स्याटेलाइटहरूको गति निर्धारण हुने गर्छ । भू–उपग्रहले सञ्चालन हुन चाहिने आवश्यक शक्ति सौर्य ऊर्जामार्फत पाउँछन् । 

भू–उपग्रहको प्रकृतिअनुसार कुनै निश्चित स्थानमा स्थिर रहन्छन् भने कुनै पृथ्वीसँगै निश्चित स्थानमा घुम्ने खालका हुन्छ । यस्ता एकै स्थानमा स्थिर भएर बस्ने भू–उपग्रहलाई ‘जियो स्टेसनरी स्याटेलाइट’ भनिन्छ । उदाहरणका लागि नेपालको जलवायु तथा हावापानीको अध्ययन गर्न स्थापित गरिएको भू–उपग्रहले मौसम परिवर्तनको आँकडालाई निरन्तर सम्प्रेषण गर्ने हुँदा त्यस्ता स्याटेलाइट सधैँ नेपाली आकाशमा स्थिर भएर बस्छन् । यस्ता भू–उपग्रहको गति पृथ्वीले आफ्नो कक्षमा घुम्ने रफ्तार र स्याटेलाइटको गति समान रहने हुँदा यस्ता भू–उपग्रह पृथ्वीको कुनै ठाउँमाथि स्थिर देखिन्छन् । यस्ता स्याटेलाइट पृथ्वीको सतहभन्दा करिब ३६ हजार किलोमिटर माथि रहन्छन् । 

भाइबहिनीहरू,  अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह नभएकाले विदेशी मलुकका भू–उपग्रह सेवाप्रदायक कम्पनीहरूबाट सेवा शुल्क तिरेर नेपालमा रहेका सेवाप्रदायक संस्थाहरूले भू–उपग्रहमा आधारित सेवा प्रदान गरिरहेका छन् । नेपालको आफ्नै भू–उपग्रह भएमा के हुन्छ त ? यसको उत्तर सजिलो छ । भू–उपग्रहबाट नेपालजस्तो विकट भूगोल भएको देशले आफ्ना सेवा आमनागरिकसम्म सहज हुन्छ । विदेशी भू–उपग्रहमा आधारित प्रणाली प्रयोग गर्दा नेपालबाट बर्सेनि विदेशमा पैसा पठाउनु परेको छ । यसका साथै नेपाललाई अहिले विदेशी भू–उपग्रहको प्रयोगबाट राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील सूचनाको गोपनीयता कायम गर्न चुनौती थपिएको छ । नेपाली भू–उपग्रहको अधिकतम उपभोग गर्दै कसरी फाइदा लिने भन्ने कुरामा हामी सजग हुनुपर्छ । यसको प्रयोगले बाढीपहिरो, आँधीबेहरीजस्ता प्राकृतिक विपत्का समयमा हामीले कम नोक्सानी बेहोर्नु पर्छ । 

यसो भनिरहँदा के नेपालले आजसम्म कुनै स्याटेलाइट अन्तरिक्षमा पठाएको छैन त ? यसको उत्तर सहज छ । नेपालले भू–उपग्रह अन्तरिक्षमा पठाएको छ तर देशलाई सबै क्षेत्रमा काम लाग्ने ठूलो स्याटेलाइट नेपालले हालसम्म पठाउन सकेको छैन । पहिलो पटक ‘नेपाली स्याट–१’ भू–उपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । यो नानो स्याटेलाइट अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नानो स्याटेलाइट भएकाले यो नेपालको साङ्केतिक स्याटेलाइट थियो । यसले निकै सानो काम गर्न सक्छ । हामीले माथि भनेका जस्ता सबै काम यसबाट गर्न सकिँदैन । नेपालले डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह प्रक्षेपणको तयारी थालेको छ । यी पनि ठूला स्याटेलाइट भने होइनन् । 

भाइबहिनीहरू, यति भनिरहँदा अब हामी के भन्न सक्छौँ भने, उपग्रह प्राकृतिक वस्तु हो जुन ठूलो वस्तुको वरिपरि घुम्ने गर्छ । जस्तै पृथ्वी एक उपग्रह, चन्द्रमा एक उपग्रह हो । पृथ्वीले सूर्यको वरिपरि घुम्छ, त्यसैले यो सूर्यको उपग्रह हो । यस्तै चन्द्रमा पृथ्वीको वरिपरि घुम्छ, त्यसैले चन्द्रमा पृथ्वीको उपग्रह हो तर भू–उपग्रह भनेको मानवनिर्मित उपकरण हो । मानवनिर्मित भू–उपग्रहहरू मानिसहरूले बनाएका मेसिन हुन् । अहिले अन्तरिक्षमा हजारौँ स्याटेलाइट छन् । तिनीहरूले पृथ्वी वा अन्तरिक्षमा कुनै निश्चित पिण्डको परिक्रमा गरिरहेका छन् ।