वस्तुसार
‘नेपालको छापा पत्रकारितामा गोरखापत्रको भूमिका महत्त्वपूर्ण छ । प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणबाट विक्रम संवत् १९०८ मा फर्कंदा ल्याएको हातेछापाखानाबाट नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास सुरु हुन्छ । त्यसपछिको कालखण्डमा सरकारी र निजी छापाखानाको स्थापना हुँदै गए । नेपालमा छापाखाना (प्रेस) को स्थापना १९०८ सालमा भएको हो । जसलाई ‘गिद्धे प्रेस’ को नामले चिनिन्छ । यसपछिको करिब ५० वर्षपछि विसं १९५८ वैशाख २४ गते प्रकाशन सुरु भएको गोरखापत्र नेपालकै पहिलो अखबार हो । यसले सरकारी सूचना प्रसारणको साधनका रूपमा काम गरे पनि समयक्रममा पत्रकारिता र मुद्रण प्रविधिमा महत्त्वपूर्ण भूमिका खेल्यो । यस अध्ययनमा गोरखापत्र संस्थानले समयसापेक्ष प्रविधि अपनाउँदै गरेको चर्चा गरिएको छ । जसमा लेटर प्रेसदेखि अफसेट प्रेसको प्रयोग, डिजिटल प्रविधिको प्रवेश र रङ्गीन छपाइ प्रविधिमा गरिएको सुधार उल्लेखनीय छ । यस अध्ययनले नेपाली पत्रकारिता र मुद्रण उद्योगको अग्रगामी रूपमा गोरखापत्रले पुर्याएको योगदान दिएको चर्चा गर्ने छ । नेपालमा मुद्रण प्रविधिको विकास, यसको ऐतिहासिक पृष्ठभूमि र गोरखापत्रको योगदानलाई देखाउनु यो अध्ययनको सार हो ।’
शब्दकुञ्जी : मुद्रण, छापाखाना, प्रविधि, गोरखापत्र ।
विषय प्रवेश
मानव सभ्यताको विकाससँगै छपाइ प्रविधि परिवर्तन हुँदै आएको छ । पुरानो लेखन प्रणालीदेखि आधुनिक डिजिटल छपाइसम्मको यात्राले मानव ज्ञानको प्रसार र सञ्चारमा उल्लेखनीय भूमिका खेलेको छ । क्युनिफर्म विश्वकै पहिलो लेखन प्रणाली मानिन्छ । यसको विकास प्राचीन मेसोपोटामियामा करिब ३१०० इसापूर्वमा भएको थियो (वाकर, २०२०) । यो प्रणाली सुमेरियन सभ्यतामा सुरुवात भएको हो । पछि अक्काडियन, बेबिलोनियन र एसिरियनहरूले पनि प्रयोग गरे (पोस्टगेट, १९९४) । ‘क्युनिफर्म’ शब्दको अर्थ ल्याटिन भाषाको क्युनसबाट आएको हो । जसको अर्थ ‘पाँच कोणयुक्त’ हो (मिखालोवस्की, १९९६०) । चीनमा करिब ६०० इस्वीमा ब्लक प्रिन्टिङको आविष्कार र त्यसपछि मुभेबल टाइपको विकासबाट भयो । ८६८ इस्वीको डायमन्ड सूत्र ब्लक प्रिन्टिङमार्फत छापिएको सबैभन्दा पुरानो पुस्तक हो (सिएन, १९८५) । चीनका बी सेङले १०४० इस्वीमा चलअचल टाइप प्रिन्टिङको आविष्कार गरे । यसमा क्यारामिक अक्षरहरू तयार गरी पुनः प्रयोग गर्न सकिने गरी बनाइन्थ्यो । यो प्रविधिले यान्त्रिक छपाइको आधार तयार गर्यो (निधम, १९८६) । जर्मनीका जोहान्स गुटेनवर्गले करिब १४४० इस्वीमा यान्त्रिक चलअचल टाइप प्रिन्टिङ प्रेसको आविष्कार गरे । यस प्रविधिले पुस्तकको ठुलो मात्रामा उत्पादन सम्भव बनायो । गुटेनवर्गले छापेको गुटेनवर्ग बाइबल आधुनिक छपाइ इतिहासमा मिलपत्थर मानिन्छ (आइजेन्स्टाइन, १९७९) ।
औद्योगिक क्रान्तिले छपाइ प्रविधिमा उल्लेखनीय सुधार ल्यायो । स्टिम पावरद्वारा सञ्चालित प्रेसले छपाइको गति बढायो । लिथोग्राफी (१७९६) र अफसेट प्रिन्टिङ (१८७५) जस्ता प्रविधिले छविको गुणस्तर र उत्पादन लागतमा सुधार गरे । यसले छपाइलाई सबैको पहुँचमा पुर्यायो (फेब्रे र मार्टिन, १९९७) । डिजिटल प्रिन्टिङले छपाइलाई कम्प्युटर–आधारित प्रविधिमा रूपान्तरण गर्यो । इङ्कजेट र लेजर प्रिन्टिङ प्रविधिको प्रयोगले व्यक्तिगत र माग अनुसार छपाइलाई सम्भव बनायो । आजका दिनमा थ्रिडी प्रिन्टिङले छपाइमा क्रान्ति ल्याएको छ भने डिजिटल प्रकाशनले परम्परागत छपाइलाई पूरक बनाएको छ (पेटेग्री, २०१०) ।
नेपालमा पनि फल्याकमा प्रतिविम्बी अक्षरहरू इम्बोस्ड रूपमा खोपी नेपाली कागजमा मसी लगाउँदै नागहरू छाप्ने कार्य परापूर्वकालदेखि चलिआएको थियो तर आधुनिक मुद्रण प्रविधिको इतिहास जङ्गबहादुर राणाको बेलायत भ्रमणसँगै विसं १९०८ मा नेपाल भित्रिएको गरुडको चिह्न अङ्कित प्रेसलाई नै मानिन्छ । जसलाई आमभाषामा ‘गिद्धे प्रेस’ भनेर चिनिन्छ । मुद्रण परम्परामा यो प्रेसको भूमिका प्रशंसनीय मानिन्छ । गिद्धे प्रेसको स्थापनाको करिब ५० वर्षपछि विसं १९५८ वैशाख २४ गतेबाट प्रकाशन थालिएको गोरखापत्र नेपालकै पहिलो अखबार हो । जसले सरकारी सूचना प्रसारणको साधनका रूपमा काम गरेको पाइन्छ । यो पत्रिकाले नेपाली पत्रकारिता र मुद्रण प्रविधिमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । गोरखापत्र संस्थानले समयसापेक्ष प्रविधि अपनाउँदै आफ्नो प्रकाशन यात्रालाई उचाइमा पुर्याउँदै लगेको छ । लेटर प्रेसदेखि अफसेट प्रेसको प्रयोग, डिजिटल प्रविधिको प्रवेश र रङ्गीन छपाइ प्रविधिमा गोरखापत्रले गरेको सुधार उल्लेखनीय छ । यो अध्ययन नेपालको मुद्रण प्रविधिको क्षेत्रमा गोरखापत्रको भूमिका के कस्तो छ भन्ने विषयमा केन्द्रित रहने छ । यस अध्ययनमा नेपालको मुद्रण प्रविधिको विकास र गोरखापत्रको भूमिकाबिच सम्बन्ध खोज्ने प्रयास गरिने छ ।
अध्ययन विधि
यस लेखमा नेपालको मुद्रण प्रविधिमा गोरखापत्रले खेलेको भूमिकाको खोजी गरिने छ । विसं १९०८ मा ‘गिद्धे प्रेस’ को स्थापनासँगै नेपाली मुद्रणको थालनी भएको मानिन्छ । सुरुवाती चरणमा सरकारी कामकाजमा आवश्यक सामग्री मुद्रण गरेको यस प्रेसले स्थापनाको ५० वर्षपछि विसं १९५८ साल वैशाख २४ गतेबाट गोरखापत्र मुद्रण गर्न थाल्यो । नेपाली मुद्रणमा गोरखापत्रले विभिन्न आयाम भित्र्याएको पाइन्छ । लेटर प्रेसबाट मुद्रण सुरु गरेको गोरखापत्रले अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको प्रवेश र रङ्गीन छपाइ प्रविधिसम्मको यात्रा तय गरेको छ । यो अध्ययन गोरखापत्र संस्थान, पेसागत सङ्गठन (नेपाल पत्रकार महासङ्घ, गोरखापत्र संस्थान प्रतिष्ठान शाखा, गोरखापत्र संस्थान कर्मचारी सङ्घ–५२, गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७) का साथै विभिन्न सङ्घ संस्थाबाट विभिन्न समयमा प्रकाशित स्मारिका, विशेषाङ्क तथा प्रकाशनहरूमा केन्द्रित छ । अध्ययनका क्रममा गोरखापत्र र मुद्रण प्रविधिसँग सम्बन्धित लेख, रचना, विचार तथा दृष्टिकोणको अध्ययन र यसको उचित प्रतिनिधित्वका लागि नमुना छनोटको विभिन्न विधिमध्ये सम्भाव्यता नमुना छनोट विधि अनुसार अनुसन्धान अवधिभर खोजी गर्दा भेटिएका विभिन्न प्रकाशन छनोट गरिएको हो । यस अध्ययनमा विशेष गरी विषयवस्तु, विश्लेषण र अन्तर्वार्र्ता विधि प्रयोग गरिएको छ । अन्तर्वार्ता विधि अन्तर्गत गोरखापत्र संस्थानका तात्कालिक उत्पादन विभागका निमित्त निर्देशक गोपालप्रसाद भट्टराई, वरिष्ठ कलाकार एवं स्लुस्ट्रेटर अशोकमान सिं र गोरखापत्रका उपसम्पादक प्रकृति अधिकारीसँग छलफल र अन्तर्वार्ता तथा परामर्श लिई सामग्री सङ्कलन भएको छ ।
सैद्धान्तिक पर्याधार
उपयुक्त लेखमा प्रस्तुत जिज्ञासाको प्राज्ञिक समाधानका लागि ऐतिहासिक विश्लेषणको सिद्धान्तसम्बन्धी अवधारणालाई आधार बनाइएको छ । ऐतिहासिक विश्लेषणको सिद्धान्त व्यवस्थित अनुसन्धानका लागि प्रचलित अनुसन्धान प्रविधि हो । जसले कुनै पनि विषयको ऐतिहासिक विकासक्रम, घटनाको सम्बन्ध र त्यसले समाज, संस्कृति र प्रविधिमा पार्ने प्रभावलाई बुझ्न मद्दत गर्छ । यो सिद्धान्त प्रायः सामाजिक, राजनीतिक, आर्थिक र प्राविधिक परिवर्तनको विश्लेषण गर्न प्रयोग गरिन्छ । प्रस्तुत अध्ययनले नेपालको पत्रकारिता र मुद्रण इतिहासमा गोरखापत्रले खेलेको ऐतिहासिक योगदानबारे प्रकाश पार्नुका साथै नेपालको मुद्रण प्रविधिको विकासको यात्रा र यसको सामाजिक, सांस्कृतिक तथा राजनीतिक प्रभावको अध्ययनका लागि महत्त्वपूर्ण आधार प्रस्तुत गरेको छ । ऐतिहासिक विश्लेषणको सिद्धान्तले अनुसन्धानलाई समयको गहिराइमा पुर्याएर विषयवस्तुको सम्पूर्णतालाई उजागर गर्न सहयोग गर्दछ । यो सिद्धान्त गोरखापत्र जस्तो ऐतिहासिक महत्त्व भएको संस्थाको अध्ययनका लागि अनिवार्य र प्रभावकारी छ । गोरखापत्र १९५८ सालमा स्थापना भएको नेपालकै पहिलो नियमित रूपमा प्रकाशित पत्रिका हो । गोरखापत्रले मुद्रण प्रविधिको परिवर्तनशील प्रकृति आत्मसात् गर्दै लेटर प्रेसदेखि अफसेट र डिजिटल युगसम्मको यात्रा तय गरेको छ । गोरखापत्रले विभिन्न चरणमा कसरी नयाँ प्रविधिको प्रयोग गर्यो भन्ने बुझ्न यो अध्ययनले सहयोग पुर्याएको छ । गोरखापत्रले नेपालको मुद्रण उद्योगमा व्यावसायिकता र व्यवस्थापनको नयाँ ढाँचाको सुरुवातसमेत गरेको छ । यसले अन्य मुद्रण संस्थालाई प्रेरणा प्रदान गर्दै प्राविधिक दक्षता विकासमा सहयोग पुर्याएको छ । ‘नेपालको मुद्रण प्रविधिमा गोरखापत्रको यात्रा’ शीर्षकको अध्ययनमा नेपालको मुद्रण प्रविधिका आयामहरू र गोरखापत्रको भूमिकाको विश्लेषण गरी गोरखापत्रको ऐतिहासिक यात्रा, प्रविधिगत विकास र यसको सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभावको अध्ययनले नेपालको मुद्रण प्रविधिको विकासक्रम र यसमा गोरखापत्रले निर्वाह गरेको भूमिका स्पष्ट पार्दै निष्कर्षमा पुग्नु यस लेखको समाधेय विषय हो ।
नेपालमा मुद्रण प्रविधिको पृष्ठभूमि
नेपालमा मुद्रण परम्पराको इतिहास त्यति लामो छैन । मुद्रण परम्पराको इतिहास केलाउँदै जाँदा विसं १९०८ सम्म पुग्नु पर्छ । यही सालमा स्थापना भएको ‘गिद्धे प्रेस’ बाट नेपाली मुद्रणको थालनी भएको मानिन्छ । सुरुवाती चरणमा सरकारी कामकाजमा आवश्यक सामग्री मुद्रण गरेको यस प्रेसले स्थापनाको ५० वर्षपछि विसं १९५८ वैशाख २४ गतेबाट गोरखापत्र मुद्रण गर्न थाल्यो । प्राइमिनिस्टर जङ्गबहादुरले बेलायतबाट ल्याएको प्रेस (गिद्धे प्रेस) थापाथलीमा राखिएको थियो र यसलाई ‘टाइप छापाखाना’ भन्ने गरिएको थियो भन्नुपर्ने हुन आउँछ ।
विसं १९४२ बाट हेर्दै आउँदा बनारसबाट कवि मोतीरामको सम्पादकत्वमा ‘गोर्खाभारत–जीवन’ नामक मासिकपत्र पत्रिका प्रकाशन भएको पाइन्छ । यो नै प्रथम नेपाली भाषाको प्रथम पत्रिका मानिन्छ तर नेपालभित्रबाट प्रकाशित भने ‘सुधासागर’ नै हो । यो पत्रिका पशुपति प्रेसबाट निस्केको थियो (श्रेष्ठ, २०१७) । यसपछि विसं १९५८ मा समाचारमूलक पत्रिकाका रूपमा गोरखापत्र पत्रिका प्रकाशित हुन थालेको पाइन्छ । नेपालको मुद्रण प्रविधिमा गोरखापत्र पत्रिकाले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ (वरिष्ठ कलाकार एवं इलस्ट्रेटर अशोकमान सिंसँग विसं २०८१ मङ्सिर १५ गते लिइएको अन्तर्वार्ता) ।
छापाखानाको स्थापना भएको ५० वर्ष पछाडिसम्म सरकारी छापाखानाबाहेकका छापाखानाहरू राणा–परिवार र उनका गुरुबाहेक सर्वसाधारणको थिएन । छापाखानामा सरकारी इस्तिहार, लिफा, टिकट आदि सरकारी कागजपत्र छपाउँदा पनि प्राइम्मिनिस्टरको सनदबिना छापिन्नथ्यो । ...यस फलामको ढालुवा छाप्ने मेसिनको थाप्लोमा एउटा पखेटा फिजिएको गिद्धको आकृति देखिन्छ र यसको तल्लो भागमा ‘भी. एन्ड जे. फिन्जिन्स मेकर्स’ भन्ने अङ्ग्रेजी अक्षरमा लेखिएको छ । गोरखापत्र छापाखानामा यस छाप्ने मेसिनलाई ‘गिद्धे प्रेस’ भनी भनिन्छ (देवकोटा, २०५९) ।
१९०८ सालतिर नै जङ्गबहादुरद्वारा नेपालमा पहिलो हातेप्रेस (गिद्धे प्रेस) ल्याइयो । त्यसपछि १९५० सालसम्ममा फाटफुट अरू दुई/तीन प्रेस पनि आए । यसैबिचमा पशुपति प्रेसबाट १९५५ सालमा ‘सुधा सागर’ नामक साहित्यिक पत्रिका निस्के पनि नेपालमा हातेप्रेस उत्रेको ४२ वर्षपछि मात्र देवशमशेरको सदिच्छाले त्यही पाशुपत प्रेसबाट १९५८ साल वैशाख २४ गते पहिलो समाचारपत्र साप्ताहिक गोरखापत्रको प्रकाशन प्रारम्भ भएदेखि नेपालभित्र पनि पत्रकारिताको इतिहास प्रारम्भ भएको थियो (प्रेस कमिसनको रिपोर्ट, २०१५) ।
नेपालमा मुद्रण प्रविधि (छापाखाना) को स्थापना हुनुअगाडि हातैले पुस्तक लेख्ने गरिएको पाइन्छ । यस्ता पुस्तकहरू एकातिर पहेँलो, एकातिर सेतो रङ भएको नेपाली बाक्लो घोटुवा पाको कागजमा पाको कालो रङको मसीले र कालो रङ्गको बाक्लो घोटुवा कागजमा सुनौलो मसी (सुनको जलपको मसी) ले हातले लेख्ने चलन थियो । छापाखानाको स्थापना भएपछि सुरु सुरुमा सरकारी इस्तिहार, लिफा, टिकट आदि छापाखानाबाट छापिने गर्यो । त्यसको केही वर्षपछि मात्र पुस्तकहरू छापिन सुरु भयो (देवकोटा, २०५९) ।
प्रेस कमिसनको रिपोर्ट, २०१५ का अनुसार अखबारी जगत्को ऐतिहासिक पृष्ठभूमिमा प्रमुख सहायक तात्कालिक छापाखानाका सम्बन्धमा लेखिनु अप्रासाङ्गिक हुँदैन । १९१९ सालमा मनोरञ्जन प्रेसबाट संस्कृतमा ‘मोक्ष–सिद्धि’ नामक पुस्तक रणोद्दीपको सुपरिन्टेन्डेन्टमा केदारनरसिंहद्वारा छापियो । त्यसपछि १९२७ सालमा प्रोपाइटर कमान्डर इनचिफ रणोद्दीपको मर्जीमुताबिक कप्तान विजयजङ्ग पाण्डे क्षत्रिणा शोधितः सन् अक्षर विन्यासी डिट्ठा वीरबहादुर भन्ने लेखिएको ऐनको किताब छापियो । (प्रेस कमिसनको रिपोर्ट, २०१५) । प्रेस कमिसनको रिपोर्ट (२०१५) का अनुसार यसबाट उक्त मनोरञ्जन प्रेसले सरकारी तथा गैरसरकारी दुवै काम गरेको देखिन्छ । समयका दृष्टिले सीमित साधनबिच त्यस प्रेसले १०/१२ साइजको १२ सय पेजी ठेली पुस्तक निकाल्न सक्नु वास्तवमा प्रशंसनीय र महत्त्वपूर्ण कुरो हो । त्यसपछि दोस्रो प्रेस नारायणहिटी छापाखाना (१९३३) मा मुद्रित कवाजसम्बन्धी एउटा पुस्तक भेटिएको छ ।
त्यसपछि चाहिँ वसन्तपुर जङ्गी लिथोग्राफी छापाखानामा १९४९ सालतिर मुद्रित कवाजसम्बन्धी अर्को पुस्तक पनि प्राप्त छ । सरकारसँग भएका गोरखापत्र छापाखानासम्बन्धी सनद सवालहरू हेर्दा तात्कालिक समयमा सरकारको टिकट ‘अया’ नामक एउटा छापाखाना भएको बुझिन्छ । यसबाट सरकारी टिकट लिफाहरू त्यसै प्रेसमा छापिने कुरो सिद्ध हुन्छ । एक वर्षभित्र यस प्रेसले दुई÷तीन वटा ठाउँ फेर्यो । यही अनुपातले यसको नाम पनि व्रmमशः ‘गोरखा पत्र जङगी लिथो–छापाखाना’ (श्रावण १९५६), ‘टाइप छापाखाना’ (भाद्र १९५६) र पछि फेरि केवल ‘छापाखाना’ भएको देखिन्छ । गोरखापत्र तथा अरू प्रकाशनको तहगत छुट्टै परिशिष्टमा दर्साएको छ, (प्रेस कमिसनको रिपोर्ट २०१५) ।
संवत् १९३० देखि १९३३ को बिचमा छापाखाना नामको (प्रेस) पनि स्थापना भयो । यो छापाखाना तत्कालीन नेपालका प्राइम्मिनिस्टर श्री ३ महाराज वीरशमशेर जङ्गबहादुर राणाको निवासस्थान नारायणहिटीमा थियो । यस कुराको पुष्टि ‘पैदल फौजको कवायद’ भन्ने किताबमा ‘नारायणहिटी छापाखानामा संवत् १९३३ साल । छापन्या सार्जन लक्षमण गुरू भनी लेखिएको र १९४४ साल पौष सुदी १ रोज ६ को सनदमा ‘छापाखानाका पंडीत साधुराम पाध्याले पुर्जि हेरी खोरीया फाडने लकडी चोर्यालाई यस्तो यस्तो हुन्याछ भन्या मसौदा बमोजिम इस्तीहार ६००० छपाई काठ महाल बन्दोबस्त नयाँ मुलुक बन्दोबस्तमा दिन्या काम गर’ भनी लेखिएकोबाट हुन्छ । याबाहेक अर्को एउटा सरकारी छापाखाना पनि थियो । यसलाई ‘जंगी लिथोग्राफी छापाखाना’ भनिन्थ्यो । यो छापाखाना १९४९ सालभन्दा अगाडिदेखि नै वसन्तपुरमा थियो (देवकोटा, २०५९) ।
देवकोटाका अनुसार पण्डित नरदेव पाण्डेको नाउँमा भएको १९५८ साल मिति वैशाख बदी ११ रोज २ को सनदमा “लेथोग्राफ छापाखानामा रहेको मालहरू लेफ्टें कर्णेल जुद्धबहादुर राउत क्षेत्रीसँग बुझी ली साथमा राखनु” भनी लेखिएको छ । ... प्रेस (छापाखाना) हरूबाहेक १९६३ सालमा सरकारबाट एउटा सानो र एउटा ठुलोसमेत दुई वटा ह्यान्ड प्रेस खरिद भयो । यस विषयमा टाइप छापाखानाका डिट्ठा द्वारिकानाथ पाध्यायको नाउँमा भएको १९६३ साल मार्ग ३ गतेको सनदमा “बझांगी राजा जय पृथ्वी बहादुर सिंहसँग खरीद गरी बक्स्याको सानु प्रेस १ र बम्बाईका मझौला टाइप अंदाजी फारम ।। बक्बाइ कै टायप फारम आधा समेत खरीद गरी बक्स्याको र फेरी नयाँ ठूला प्रेस १ र तेस्लाई चाहिन्या टायपहरू किसीम किसीमको देशबाट झीकाई देशवाट चलान भै आयका विल वमोजिम” भनी लेखिएको छ ।
माथि उल्लेख गरिएको सनदबमोजिम बझाङ्गी राजा श्री जयपृथ्वीबहादुर सिंहसँग सरकारले खरिद गरेको सानो प्रेस विषयमा श्री ५ को सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागबाट प्रकाशित ‘शिक्षा समाचार’ वर्ष १ सङ्ख्या ४ मा “श्री राजा जय पृथ्वी बहादुर शाह शीर्षकको सिलसिलामा चन्द्र शम्भोरको शासनको सुरु नै संस्कृतबाजहरूको जीत भएबाट ज्वाइँ ससुरामा केही फाटो देखा पर्यो (देवकोटा, २०५९) । देवकोटाका अनुसार यस कुराको सुइँको थाहा पाएर चन्द्र शम्शेरले जय पृथ्वी बहादुरलाई कलकत्ताको वकील (सं. १९५९) बनाई पठाए । कलकत्तामा झन् उनको विचार सुल्झिनुको सट्टा उल्झियो । नेपाली भाषाप्रतिको प्रेम भुल्न सकेनन् । नेपाली भाषामा रहेका पुस्तकहरूका कमी हटाउनको खातिर उनले एउटा सानो हाते प्रेस किनेर (सं. १९६२) स्वदेश फर्के” भन्ने लेखिएको छ ।
नेपाली मुद्रण परम्परामा नेपालभित्र प्रेस निर्माण भएको तथ्य पनि भेटिन्छ । नेपालमा बनेको पहिलो प्रेसका रूपमा रहेको बुद्ध प्रेस नामक यो फलामे हातेप्रेस रहेको थियो । यस प्रेसमा १२–१६ साइजको कागज छापिन्थ्यो र यसलाई हातले हट्टा तानी चलाइन्थ्यो । यो प्रेस १९४९ सालदेखि १९७९ सम्म पाको पोखल्ड्याङ काठमाडौँमा चालु रहेको पाइन्छ । यस प्रेसबाट सुरुमा ‘भद्रचरी, बुद्धोक्त संसारमय, बोधिचर्यावतार, बोधि ज्ञानचर्या’ नामक बौद्ध धर्मसम्बन्धी नेवारी र संस्कृत भाषाका पुस्तक र अरू स्तोत्रहरूसमेत छापिइ प्रकाशित भएको पाइन्छ ।
नेपालमा छाप्ने मेसिन (प्रेस) १९४९ सालमा पाको पोखल्डचाङ काठमाण्डू निवासी श्री कुबेररत्न वज्राचार्य (दुरुकाजी वज्राचार्य) ले बताउनुभयो । नेपालमा बनेको यो पहिलो फलामे हातेप्रेस हो । यस प्रेसमा १२ह१६ साइजको कागज छापिन्थ्यो र यसलाई हातले हट्टा तानी चलाइन्थ्यो (देवकोटा, २०५९) । देवकोटाका अनुसार यो प्रेस संवत् १९४९ देखि १९७९ सम्म ‘बुद्ध प्रेस’ को नामबाट पाको पोखल्ड्याङमा चालु रह्यो । यस प्रेसबाट सुरुमा ‘भद्रचरी, बुद्धोक्त संसारमय, बोधिचर्यावतार, बोधि ज्ञानचर्या’ नामक बौद्ध धर्मसम्बन्धी नेवारी र संस्कृत भाषाका पुस्तकहरू र अरू स्तोत्रहरूसमेत छापिई प्रकाशित भयो । कुबेररत्न वज्राचार्यको देहावसानपछि उहाँकी पत्नीले यो प्रेस असन तक्षबहाल नासननी बस्ने श्री नन्दी महानन्द वज्राचार्य (नानीकाजी वज्राचार्य) लाई बिक्री गर्नुभयो । त्यसपछि यो प्रेस सुब्बा लोकानन्द वज्राचार्यकहाँ पुग्यो र उहाँले श्री बुद्धिसागरलाई दिनुभयो । नेपाली मुद्रण परम्परामा गोरखापत्र छापाखानाको भूमिका महत्त्वपूर्ण रहेको तथ्य भेटिन्छ । सरकारको प्रशस्त लगानी भइसकेको यस प्रेसबाट ‘गोरखापत्र’ र ‘दी राइजिङ नेपाल’ का साथै सरकारी महत्त्वपूर्ण सामग्री मुद्रण हुँदै आएका छन् (शाही प्रेस आयोग, २०३८) । यस प्रेसमा गोरखापत्रका प्रकाशनसँगै नेपाल राजपत्रसम्बन्धी काम हुँदै आएकोमा २०२० सालदेखि गोरखापत्र छापाखानालाई श्री ५ को सरकारको छापाखाना नामकरण गरिएको पाइन्छ । २०३१ साल साउन १ गतेदेखि सरकारी छपाइसम्बन्धी कार्य गर्ने र नेपाल राजपत्र प्रकाशन गर्ने उद्देश्यले श्री ५ को सरकारको छापाखानालाई सिहंदरबारभित्र सारिँदा गोरखापत्र प्रकाशन गर्ने काम गोरखापत्र संस्थानले गर्ने तथा अरू सरकारी सम्पूर्ण छपाइसम्बन्धी कार्य श्री ५ को सरकारको छापाखानाद्वारा प्रकाशन गर्ने गरिएको पाइन्छ । श्री ५ को सरकारको छापाखानालाई मिति २०४५/४/५ को निर्णयानुसार मुद्रण तथा प्रकाशन विभागका रूपमा स्थापित गरियो (मुद्रण विभाग २०७०/७१) ।
प्रेस कमिसनको रिपोर्ट २०१५ का अनुसार छापाखानाहरूको स्थिति नेपालमा मुद्रण उद्योग अवस्था आधुनिकस्तरमा आइसकेका छन् । ठाउँ ठाउँमा प्रेसको निरीक्षणले हामीलाई स्पष्ट अनुभव भयो कि यस क्षेत्रमा नेपाललाई अझै धेरै कार्य सम्पन्न गर्न जरुरी छ । त्यसो त विकास एवं समयको प्रगति सँगसँगै काठमाडाैँबाहेक देशका अरू चार/पाँच ठाउँमा पनि मुद्रण व्यवसाय खडा हुन आएको छ तर वर्तमान स्थितिलाई ख्यालमा राखी भन्न सकिन्छ कि काठमाडौँमा यस उद्योगको केन्द्रीयकरण भन्न नसकिए पनि विशेष बढ्ता प्रगति भएको छ । राजधानीमा मात्र पनि २० भन्दा बढी प्रेस छन् र स्वभावतः यस उद्योगको विकास सँगसँगै सम्बन्धित ज्यालादारी काम गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
‘मुद्रण परम्परामा समयको कालखण्डमा विभिन्न प्रविधिका प्रेसहरू प्रचलनमा आएको पाइन्छ । हाल हैण्ड प्रेसको प्रचलन करिब करिब बन्द नै भइसकेको छ । हुन त उद्योग तथा वाणिज्य व्यापारमा रहेको स्थितिभन्दा बाहेक गरी प्रेस व्यवसायमाथि विचार गर्न सकिन्छ । अतः यस क्षेत्रमा साधारणतः रहेका कठिनाई र बाधाहरू यस क्षेत्रमा पनि मौजूद छन् । तैपनि क्षेत्रअनुसार विशेष बाधाहरू पनि छन् । प्रेस (पत्रिपत्रिका) सम्बन्धि कानुनी सुधारको आवश्यकता रहेको ठहर गर्दै स्वच्छ पत्रकारिताको आफ्नो कर्तव्य पालनमा कुनै बाधा उत्पन्न भइरहेको महसूस गर्न हुन्छ कि भए तो वाधाहरू के के हुन् ? भन्ने यस प्रेस कमिसनको प्रश्नावलीको प्राप्त उत्तराबलीमा धेरै महानुभावहरूले आर्थिक सङ्कटलाई प्रधानता दिई जबसम्म पत्रकारको आफ्नो प्रकाशनलाई अर्काको मुख ताक्नु पर्ने परिस्थिति र अवस्था परिरहन्छ, तबसम्म स्वच्छ र स्वस्थ पत्रकारिताको कल्पनासम्म गर्नु पनि हास्यास्पद हुन जानेछ भने मत प्रकट गर्नु भएको र केही सज्जनहरूले जवसम्म पत्रकारहरूमा पत्रकारिताको शैक्षिक योग्यता तथा कुशल अनुभवको खाँचोको प्रतिकूलमा पनि आफूलाई कसैको प्रेरणा वा आफ्नै क्षणिक आवेशको भरमा दलगत वा व्यक्तिगत स्वार्थको निमित्त पत्रकारको नाममा दुनियाँको अगाडि उभिने लगन चलिरहन्छन्, तबसम्म पत्रकार जगतमा सुदृढता आउन सक्तैन भन्ने सुझाव छ । उक्त दुई मत बाहेक अरू केही सज्जनहरूले वर्तमान् छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २००६ को केही दफालाई किटी औल्याई, कसैले समुचा ऐनलाई हचूवा बोलीमा ऐनको संशोधन तर्फ संकेत गरेका छन् (प्रेस कमिसनको रिपोर्ट, २०१५) ।’
मुद्रण प्रविधिमा गोरखापत्र
नेपालमा छापाखाना (प्रेस) को स्थापना संवत् १९०८ सालमा भयो भन्ने छ । यसको कुनै प्रमाण भेटिएको छैन । नेपालमा प्राइम्मिनिस्टर श्री ३ महाराज जङ्गबहादुर राणा बेलायत जानु भई त्यहाँबाट फर्केर आउँदा उहाँको साथमा संवत् १९०८ मा एउटा हातेप्रेस र त्यसको सामान ल्याइएको थियो भन्ने भनाइ छ । त्यस बखतदेखि भन्दै आएको यो भनाइ तह तह हुँदै अहिलेसम्म भनिँदै छ, (देवकोटा, २०५९) ।
सुरुमा सरकारी छापाखाना थापाथलीमा थियो र यसले हुलाक पत्र, लिफा, टिकट आदि छाप्थ्यो । यसलाई ‘टाइप छापाखाना’ भनिन्थ्यो भन्ने ‘१९४४ साल मिति फागुन बदी १ रोज १ मा जङ्गी अड्डाको नाउँमा छापाखाना निमित्त पल्टनियाँ जवान १ खटाउनू भन्ने सनद र १९५८ साल वैशाख बदी ४ रोज २ को टिकट थान २०३ फिर्ता बुझिलिनू भनी भएका सनदहरूबाट भन्न सकिन्छ, (देवकोटा, २०५९) ।’
‘थापाथलीमा रहेको प्रेस (टाइप छापाखाना) गिद्धे प्रेसु भनिएकै प्रेस (छापाखाना) हो अथवा अर्को थियो सप्रमाण ठोकुवा भन्न सकिन्न । तर प्राइम्मिनिष्टर जङ्गबहादुर राणाको निवासस्थान थापाथली भएकोले आफूले बेलायतदेखि ल्याएको प्रेस (छापाखाना) आफूकहाँ नराखी अन्यत्र राखे भन्न गाहारो पर्छ । त्यसकारण प्राइम्मिनिष्टर जङ्गबहादुरले बेलायतबाट ल्याएको प्रेस (गिद्धे प्रेस) थापाथलीमा राखिएको थियो र यसलाई ‘टाइप छापाखाना’ भन्ने गरिआएको थियो भन्नुपर्ने हुन आउँछ ।
यस विषयमा प्रेस कमिशनको रिपोर्ट पेज ११० मा, सम्वत् १९०८ सालतिर नै जंगबहादुरद्वारा नेपालमा पहिलो हाते प्रेस (गिद्धे–प्रेस) ल्याइयो र त्यसपछि १९५० सालसम्ममा फाटफुट अरू २।३ प्रेसहरू पनि भए भनी लेखिएको छ ।’
‘यस्तो पनि’ नामक पुस्तकको पाना २१ ‘गिद्धे प्रेस’ शीर्षकमा ‘१९०८ सालमा महाराज जंगबहादुर बेलायतबाट फर्केर आउँदा उनको साथमा एउटा छापाखानाको सामान पनि आएको थियो रे’ भनी लेखिएको छ ।
नेपालमा सबैभन्दा अगाडि ल्याइएको ‘गिद्धे प्रेस’ को स्थापनादेखि छापाखाना (प्रेस) को इतिहास सुरु हुन्छ । ‘गिद्धे प्रेस’ ल्याएको केही वर्षपछि नै नेपालमा अर्को एउटा प्रेस पनि ल्याइयो र यसलाई ‘मनोरन्जन छापाखाना’ भन्ने गरिएको देखिन्छ ।
‘मनोरन्जन छापाखाना कुन सालमा ल्याइयो र यसबाट कुन सालमा छाप्न शुरू भयो त्यो यकिन गर्न सकिन्न तर यस प्रेसले १९१९ सालभन्दा अगाडिदेखि पुस्तकहरू छाप्ने गरेको थियो र यो छापाखाना ठेंहिटीमा थियो भनी संवत् १९१९ सालमा ‘मनोरन्जन छापाखाना’ (प्रेस) ठहिटीबाट छापी प्रकाशित भएको ‘मोक्ष सिद्धि’ भन्ने कितापको कभर पेजमा छापिएको नेपाल मनोरन्जन प्रेसमा छापिएका किताबको तपसिल बमोजिमका किम्मतमा पाइन्छ भन्नाले बुझाउँछ (देवकोटा, २०५९) ।’
विसं २००७ को राजनीतिक परिवर्तनपछि नेपालमा छापाखानाको विकास क्रमिक रूपमा भएको इतिहासले देखाउँछ । विसं २०१४ मा एजुकेसन प्रेस स्थापनासँगै हाइस्पिडका अटोमेटिक मेसिनहरू भिœयाइएका थिए । नेपालमा पहिलो पल्ट २०२४ सालमा एजुकेसन प्रेसले नै अफसेट प्रेस स्थापना गरेको थियो भने यसै ताका जोर गणेश प्रेसले समेत एउटा दुई कलरको र एउटा सिङ्गल कलरको मेसिनसँगै मोनो टाइपसमेत ल्याएको थियो, त्यसको केही समयपछि गोरखापत्रमा लाइनो टाइप तथा मोनोटाइप ल्याई कम्पोजको काम गरिएको थियो (भट्टराई, २०७१) ।
आर्थिक वर्ष २०३४/३५ मा गोरखापत्रमा जर्मनीको मिलर कम्पनीमा निर्मित सिङ्गल कलर (मिलर अफसेट मेसिन) सिटफेड अफसेट ल्याइएको थियो जुन गोरखापत्रमा अद्यावधिक चालु हालतमा रहेको छ । २०३४ सालभन्दाअघि गोरखापत्र संस्थानमा रहेका लेटर प्रेसमध्ये दुई वटा हाइडलवर्ग, दुई वटा भिक्टोरिया, एउटा बेलायती भेन गार्ड, एउटा सेन्चुरी र एक थान टेडल ब्रान्डका मेसिन संस्थानका प्रकाशनको छपाइमा प्रयोग भएका थिए । ...गोरखापत्रलाई छिटो छपाइका लागि संस्थानले २०३७ साल कात्तिक १४ गते खरिद गरिएको ओरियन्ट ब्रान्डको (Orient Web Offset Printing Machine)प्रतिघण्टामा १६ हजार कपी आठ पृष्ठ छाप्ने वेब अफसेट मेसिन भित्र्याएको थियो, भने २०४० सालमा बन्धु वेब मेसिन प्रतिघण्टा २० हजार र प्रति आठ पृष्ठ गोरखापत्र छाप्ने मेसिन ल्याई जडान गरेको थियो । यी भए अखबार छपाइका लागि, जब वर्क छपाइका लागि संस्थानले २०४२ सालमा चीनमा बनेको एकै पटक दुई कलर छाप्ने सिटफेट अफसेट मेसिन आफ्नो मेसिनरी प्लान्टमा थपेको थियो (गोरखापत्र संस्थानका तात्कालिक उत्पादन विभागका निमित्त निर्देशक गोपालप्रसाद भट्टराईसँग विसं २०८१ मङ्सिर १४ गते लिइएको अन्तर्वार्ता) । यस्तै २०४३/२०४४ सालमा चाइनिज अफसेट मेसिन (टु कलर, सिटफेड) खरिद भयो (गोरखापत्र संस्थानको खप्ने जिन्सी सामानको अभिलेख, २०४५/२०४६) ।
गोपालप्रसाद भट्टराईका अनुसार कम्पोज प्रविधितर्फ पनि हाते कम्पोज प्रविधियुक्त लाइनो तथा मोनो ब्रान्डका हट मेटल कम्पोज हुँदा २०३८ सालमा भेरिटाइपर मेसिन जडान गरी सोही मेसिनबाट कम्पोज ब्रोमाइडमार्फत पेज बनाउने काम भयो । यसरी ब्रोमाइडमा भएको कम्पोजलाई पेस्टिङ गरी तयार गरिन्थ्यो र सो पेजको भर्टिकल रिप्रोग्राफिक क्यामरामार्फत नेगेटिभ फिल्म बनाई उक्त फिल्मबाट प्लेट बनाई छाप्ने काम धेरै वर्षसम्म चल्यो । संस्थानका प्रकाशनलाई अझ छिटो प्रकाशित गरी पाठकसमक्ष पुर्याउन संस्थानले २०४८ सालमा प्रतिघण्टा ३० हजारप्रति छाप्ने सुपर वेब अफसेट मेसिन खरिद गरी प्रविधिमा एक कदम अगाडि बढेको थियो । यस्तै २०५० असोज १३ गते गोरखापत्र संस्थानले सुपर ओरियन्ट वेब अफसेट मेसिन र २०५२ भदौ २८ गते लिथो टेक्स टुइन फ्रेम प्रिन्टिङ डाउन युनिट, २०५९ असार २२ गते ओरियन्ट सुपर वेब अफसेट द्ध ज्ष् कलर मेसिन, २०७२ माघ २३ गते भ्वोइलेट सिटिपी मेसिन, २०७१ जेठ २ गते वेब अफसेट प्रिन्टिङ मेसिन द्ध ज्ष् नयाँ खरिद गर्यो (गोरखापत्र संस्थानको खप्ने जिन्सी सामानको अभिलेख, २०५९/२०६०) ।
२०४६ सालको जनआन्दोलनपछि अखबारको प्रकाशनका क्षेत्रमा अन्य अखबार पनि क्रमशः थपिन थाले । यसरी अन्य अखबार रङ्गीन कलेवरसाथ प्रतिस्पर्धामा आएपछि संस्थान मात्र श्याम/श्वेत छपाइमा रहन सकेन र आर्थिक वर्ष २०५८/५९ मा किशोर नेपाल अध्यक्ष तथा महाप्रबन्धकको कार्यकालमा संस्थानले फोर कलर फोरआई मेसिन १६ पृष्ठ एकै पटक छाप्ने मेसिन खरिद गरी आफ्नो प्रकाशनगृहमा थप्यो । त्यसका साथै संस्थानले क्रियो ब्रान्डको हङकङमा निर्मित इमेजसेटर मेसिन खरिद गरी आफ्ना प्रकाशनको गुणस्तर सुधारमा प्रयास गरेको थियो तर नयाँ प्रविधिसँग उपयुक्त जनशक्तिको विकासमा संस्थानको चासोको अभावले उक्त प्रविधि संस्थानमा धेरै समय चल्न सकेन (भट्टराई, २०७१) ।
गोरखापत्र संस्थानसँग कम्प्युटर टु प्लेट मेसिन (सिटुपी) मेसिन काठमाडौँ, विराटनगर र कोहलपुर गरी तीन वटा रहेका छन् । काठमाडौँमा रहेको सिटुपी मेसिन थर्मल (तापीय) प्रविधि अन्तर्गतको मेसिन हो । यो मेसिन र प्लेट दुवै थर्मल प्रविधि अन्तर्गतका हुन् । यो ग्लेज प्रिन्ट मेसिन २०७२/७३ सालमा खरिद गरिएको हो । गोरखापत्र विराटनगर कार्यालयमा लेजर भ्वोइलेट प्रविधिको सिटुपी मेसिन २०७६ भदौमा सञ्चालन भएको हो । यस्तै कोहलपुर कार्यालयमा २०७८ चैतमा जडान भएको लेजर प्रविधिको सिटुपी मेसिन हो । यो न्युजप्रिन्ट मेसिन २०७८ साल चैतमा सञ्चालनमा आएको पाइन्छ । गोरखापत्र संस्थानसँग काठमाडौँस्थित कार्यालयमा २०६६ सालमा खरिद गरिएको ‘दी प्रिन्टर हाउस दिल्ली’ निर्माण गरेको सुपर ओरियन्ट (आठ कलर, आठ श्याम/श्वेत अर्थात् १६ पेज एकै पटक छाप्ने मेसिन खरिद गरिएको हो । त्यसको केही वर्ष अर्थात् २०७७ सालमा अर्को मेसिन युनिट थपियो र अहिले १२ प्लस आठ गरी एकै पटक २० पेज छापिन्छ । यो मेसिन १५ वर्ष पुरानो मेसिन हो । अहिले काठमाडौँमा गोरखापत्रसँग पाँच वटा मेसिन छन् । जसमा तीन वटा रङ्गीन (कलर) युनिट, दुई वटा श्याम/श्वेत युनिट छन् । जसले एकैपटक १२ प्लस आठ गरी २० पेज छाप्छ । यो मेसिनले अहिले ३६ हजार प्रतिघण्टा (सिपिएच कपी पर आवर) का दरले पत्रिका छाप्छ । गोरखापत्रको विराटनगर कार्यालयमा रहेको बेव अफसेट मेसिन, प्रेस लाइन इन्डियाले निर्माण गरेको एक्सेल मेसिन हो । यो वेब अफसेट मेसिन २०७५ फागुन १६ गते खरिद गरिएको हो (गोरखापत्र संस्थानको खप्ने जिन्सी सामानको अभिलेख, २०५९÷२०६०) । विराटनगरमा २०७६ साल भदौमा यो मेसिन जोडिएको हो । दुई वटा कलर, दुई श्यामश्वेत गरी आठ कलर, आठ श्यामश्वेत छाप्ने १६ पेज एकै पटक छापिन्छ ।
हाल गोरखापत्रको कोहलपुर संस्करण प्रिन्ट गरिरहेको मेसिन, वरिष्ठ पत्रकार किशोर नेपाल अध्यक्ष तथा महाप्रबन्धक भएको समय २०५७ मा ‘दी प्रिन्टर हाउस इन्डिया’ को ओरियन्ट ब्रान्डको मेसिन खरिद गरिएको हो । यसले चार प्लस १२ गरी चार कलर १२ श्यामश्वेत छाप्छ । यहाँ एक कलर तीन श्याम/श्वेत मेसिन युनिट छन् । यसले पनि ३६ हजार प्रति प्रतिघण्टा छाप्छ । यही मेसिनबाट गोरखापत्र दैनिक श्यामश्वेतबाट रङ्गीन (कलर) प्रिन्टमा गएको हो । प्रिप्रेस मुद्रण प्रविधिको सन्दर्भमा प्लेटको साइज कोहलपुर संस्करणको मेसिनमा ठुलो प्लेट लाग्छ भने विराटनगर र काठमाडौँमा सानो एउटै साइज प्लेट लाग्छ । संस्थानको पछिल्लो फड्को विसं २०७७ मा ‘साकुराई’ ब्रान्डको फोर कलर सिटफेड मेसिन खरिदलाई मान्न सकिन्छ । सो मेसिनबाट संस्थानका मासिक प्रकाशनको कभर पेज, क्यालेन्डर र अन्य व्यावसायिक काम गर्न सकिन्छ ।
नेपालको मुद्रण इतिहासमा गोखापत्रको उल्लेख्य योगदान रहेको छ । गोरखापत्रसँग प्रविधि त छ तर त्यसलाई चलाउने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिने हो भने अहिले पनि गुणस्तरमा नेपालको अग्रणी प्रकाशनगृह बन्न सक्छ । हाल आएर नेपालमा डिजिटल प्रिन्टिङ मेसिनको प्रवेशले नेपालमा एकदम फाइन प्रिन्ट हुने आधुनिक प्रिन्टिङ मेसिनले छपाइकला व्यवसायको महìव झनै बढेको छ (सिं, २०८१) ।
गोरखापत्रमा विसं १९८२ असार २३ मा तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको जन्मदिनका अवसरमा फोटो छापिएको थियो । त्यसै गरी विसं १९८४ वैशाख १३ गते वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठनीको तस्बिर छापिएको थियो । तस्बिर परिचय (कटलाइन वा क्याप्सन) सहित छापिएकाले वैशाख १३ लाई नेपाली फोटो पत्रकारले फोटो पत्रकारिता दिवसका रूपमा मनाउँदै आएका छन् । गोरखापत्रका लागि यो गौरवको विषय हो । विसं १९९७ साउनमा गोरखापत्र छापाखानाका लागि फोटो ब्लक बनाउने मेसिन ल्याइयो । यसबाट एउटा फोटो ब्लक तयार हुन लगभग १२ घण्टा लाग्थ्यो । विसं २०१९ मा फोटो ब्लक बनाउने आधुनिक मेसिन ल्याइयो र यसलाई भने सिंहदरबारमा राखियो । विसं २०५९ असार १० देखि गोरखापत्रमा रङ्गीन कलेवरमा तस्बिर प्रकाशन सुरु गरिएको हो (गोरखापत्र प्रकाशन शैली, २०८०) ।
नेपालको इतिहासमा ग्राफिक सञ्चार क्षेत्रको विकासमा २१ औँ शताब्दीको सुरुको दशकमा आएर मुद्रण व्यवसायलाई अति सरल, छिटो, सस्तो सेवा प्रदान गर्न सकिने सुविधायुक्त महìवपूर्ण पूर्वछपाइ प्रविधिको मेसिन स्थापना भयो । २००५ (विसं २०६२) मा स्थापना गरिएको कम्प्युटरबाट सिधै प्लेट एक्सपोज गरिने ९ऋयmउगतभच त्य एबितभरऋत्ए० नयाँ उपकरण सर्वप्रथम नेपालमा बाबा प्रिन्टेकले भित्र्याएको थियो । हाल नेपालको प्रेस जगत्मा ऋत्ए विशेष ठुला प्रेसहरू धेरैले प्रायः स्थापित गरिसकेका छन् (सिं, २०७९) । नेपाल मुद्रण उद्योग सङ्घले प्रकाशन गरेको हालैको एक तथ्याङ्क अनुसार नेपालमा अत्याधुनिक सिङ्गल कलरदेखि छ कलर अफसेट मेसिनसम्म र वेब अफसेटतर्फ सिङ्गल कलरदेखि अत्याधुनिक आठ रङसम्मका वेब मेसिन सञ्चालनमा रहेका छन् । नेपालको मुद्रण उद्योगमा करिब १३ अर्ब रुपियाँ लगानी भई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ७५ हजारले रोजगारी प्राप्त गरिरहेको र प्रत्येक वर्ष १० प्रतिशतका दरले यस क्षेत्रमा लगानी वृद्धि हुँदै गइरहेको बुझिन्छ (जोशी, २०६७) ।
न्युजको म्युजियम अर्थात् न्युजियम स्थापना गर्ने भनी गोरखापत्र संस्थानले निर्णय गरेको थियो । अगाडिको जीर्ण भवनको पुनर्निर्माणपछि तल्लो तलामा न्युजियम स्थापना गर्ने सोच थियो । सोही अनुरूप तीन सदस्यीय कार्यदल पनि गठन गरिएको थियो । रामप्रसाद हुमागाईंको नेतृत्वमा कार्यदल गठन भएको थियो । त्यसमा तारा बस्याल सदस्यसचिव र म सदस्य थियौँ । नेपालमा न्युजियमको अवधारणा नौलो थियो । तसर्थ हामी उत्साहित पनि भएका थियौँ । त्यस क्रममा प्रेस काउन्सिलले पनि सङ्ग्रहालय तयार गर्न लागेको सूचना पाएपछि म त्यहाँ पुगेको थिएँ । त्यहाँ केही सामग्री राखेर सङ्ग्रहालय स्थापना गर्ने तरखर भइरहेको देखेँ । काउन्सिलमा पूर्ण थिएन, बल्ल उहाँहरूले सामग्री जुटाउने क्रम सुरु थियो । यता हामीले संस्थानभित्र सामग्री जुटाउन थाल्यौँ । कुनै पनि पुराना सामान देख्यो कि सङ्ग्रहालयका लागि काम लाग्छ कि भन्ने लाग्थ्यो । यसै गरी केही सामग्री संस्थानभित्रबाट सङ्कलन गर्न सफल पनि भयौँ । प्रयासपछि एउटा कोठाको कुनामा ती सामग्री थन्क्याउन पनि पायौँ (गोरखापत्रका उपसम्पादक प्रकृति अधिकारीसँग विसं २०८१ मङ्सिर २४ गते लिइएको अन्तर्वार्ता) ।
अधिकारीका अनुसार राष्ट्रिय सङ्ग्रहालय छाउनीमा गिद्धे प्रेस रहेको थाहा थियो । त्यहाँका अधिकारीसँग सो प्रेस हामीलाई फिर्ता दिन माग गरेँ । उहाँले ‘हुन्छ लिएर जानु न’ भन्नुभयो । उहाँको त्यो वचनले म निकै खुसी भएँ । वास्तवमा त्यो प्रेस पहिले गोरखापत्रकै थियो । पछि त्यहाँ लगिएको हो । त्यसलाई सङ्ग्रहालयमा बेवारिसे अवस्थामा राखिएको छ । ऐतिहासिक सामग्री भए पनि पुराताìिवक नभएकाले सङ्ग्रहालयको बेवास्ता रहेको थाहा भयो । कार्यदलका संयोजक रामप्रसाद हुमागाईंलाई बेलिबिस्तार बताएपछि उहाँले गएर मागौँ भन्नुभयो । हामी दुवै त्यहाँ पुग्यौँ । हाकिमसँग कुरा भयो । उहाँ सकारात्मक हुनुभयो र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पत्राचार गर्न सुझाव दिनुभयो ।
त्यसबिचमा मैले देवशमशेर जङ्गबहादुर राणाका सन्तानसँग कुराकानी अगाडि बढाएँ । उहाँहरूले आफूहरूसँग देवशमशेरले प्रयोग गरेका केही सामग्री रहेको र तीमध्ये कुनै एउटा सामग्री न्युजियमका लागि दिन तयार रहेको बताउनुभयो । म निकै हौसिएँ । कार्यदलका संयोजकलाई पनि भनेँ । उहाँ पनि खुसी हुनुभयो (अधिकारी, २०८१) । अधिकारीका अनुसार त्यसबिचमा संस्थानको तत्कालीन व्यवस्थापन परिवर्तन भयो । हामीले चाहेको जस्तो सहयोग पनि प्राप्त भएन । कार्यदल निष्व्रिmय पनि भयो । अहिले पनि प्रोसेस शाखाको ढोकामा न्युजियम लेखिएको बोर्ड देख्न पाइन्छ । हामीले सङ्कलन गरेका सामग्री सुरक्षित छन् वा छैनन् भन्ने हेर्न गएको छैन । न्युजियम चाहिन्छ । त्यो स्थापना गर्नु पर्छ । कार्यदललाई पुनः ब्युँताउनु जरुरी छ । कार्यदलमा हामी रहनु पर्छ भन्ने होइन तर त्यसलाई निरन्तरता दिन सक्दा हामीसँग महत्वपूर्ण अर्को सम्पत्ति हुने थियो । त्यो सम्पत्ति अवलोकन गर्न पत्रकारिताका विद्यार्थी, खोजकर्ता, अनुसन्धानकर्ता संस्थानमा आउने थिए । प्रधानमन्त्री जङ्गबहादुरले ल्याएको प्रेस हामीले अरूलाई देखाउन सक्ने थियौँ । त्यो सम्पत्ति हामीसँग कालान्तरसम्म सुरक्षित हुने थियो (अधिकारी, २०८१) ।
निष्कर्ष
नेपालको मुद्रण परम्परामा गोरखापत्रको भूमिका ऐतिहासिक, प्रेरणादायी र उल्लेखनीय छ । नेपालको आधुनिक मुद्रण प्रविधिको प्रारम्भ जङ्गबहादुर राणाको विसं १९०८ को बेलायत भ्रमणसँगै गिद्धे प्रेसबाट भएको मानिन्छ । त्यसपछि विसं १९५८ वैशाख २४ गते गोरखापत्रको प्रकाशनले नेपालको मुद्रण र पत्रकारितामा नयाँ युगको सुरुवात ग¥यो । गोरखापत्रले सरकारी सूचना प्रसारणदेखि सामाजिक, सांस्कृतिक र राजनीतिक सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । यो संस्थाले समयसापेक्ष प्रविधि अपनाउँदै लेटर प्रेस, अफसेट प्रेस र डिजिटल प्रविधिको प्रयोग गर्दै रङ्गिन मुद्रणसम्मको यात्रा तय गरेको छ । गोरखापत्र संस्थानले मुद्रण प्रविधिको सुधार र विस्तारमा मात्र होइन, नेपालमा पत्रकारिताको संस्थागत विकासमा पनि उल्लेखनीय योगदान पुर्याएको छ । यसले नेपाली भाषामा प्रकाशनको मापन, गुणस्तर र पहुँचलाई फराकिलो बनाउँदै नेपाली मुद्रण परम्परामा प्रगतिशील आयाम थपेको छ । गोरखापत्रको निरन्तरता र नवप्रवर्तनशीलता नेपालको मुद्रण र सञ्चार जगत्को इतिहासमा एक अभूतपूर्व प्रेरणाको स्रोत बन्न सफल भएको छ ।
सन्दर्भ सामग्री
- देवकोटा, ग्रीष्मबहादुर । (२०५९) । नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास । साझा प्रकाशन ।
- दोस्रो वार्षिक प्रतिवेदन । (२०७०/७१) । मुद्रण विभाग ।
- शाही प्रेस आयोग प्रतिवेदन । (२०३८) । शाही प्रेस आयोग ।
- जोशी, वसन्तध्वज । (२०६७) । नेपाली पत्रकारिता : गिद्धे प्रेसदेखि वेब अफसेटसम्म । राष्ट्रिय समाचार समिति ।
- प्रकाशनको दिग्दर्शन (२०३०) । नेपाल प्रेस कमिसनको रिपोर्ट–२०१५ । प्रेस काउन्सिल नेपाल ।
- सिं, अशोकमान । (२०७९) । ग्राफिक सञ्चार : एक परिचय एवं सङ्क्षिप्त इतिहास । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ।
- श्रेष्ठ, भगवतीप्रसाद । (२०१७) । पत्रपत्रिकाको जन्म र त्यसको गतिविधि । नेपाल पत्रपत्रिका प्रदर्शनी कमिटीको निमित्त दिनेशानन्द शर्मा रिमाल ।
- चालिसे, विजय । (२०५१) । समाचार सङ्कलन तथा सम्पादन । सृष्टि प्रकाशन ।
- Eisenstein, E. (1979). The press as an agent of change. Cambridge University Press.
- Febvre, L., & Martin, H.-J. (1997). The coming of the book: The impact of printing 1450-
- 1800. Verso.
- Michalowski, P. (1996). Cuneiform writing and Mesopotamian history. Cambridge
- University Press.
- Pettegree, A. (2010). The book in the Renaissance. Yale University Press.
- Postgate, J. N. (1994). Early Mesopotamia: Society and economy at the dawn of history.
- Routledge.
- Walker, C. B. F. (2020). Cuneiform. University of California Press.
- Tsien, T.-H. (1985). Paper and printing. In J. Needham (Ed.), Science and civilization in
- China (Vol. 5, Part 1). Cambridge University Press.
लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘नेपालको मुद्रण प्रविधिमा गोरखापत्रको यात्रा ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।