हरिकृष्ण ऐडी
मुगु, फागुन १७ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुगुमा पाँच महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुगुका ७० मतदान केन्द्रमध्ये पाँच मतदान केन्द्रमा महिला नेतृत्व रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज खनियाँका अनुसार महिला मतदान अधिकृतहरूमा डा. पूजा आचार्य, शान्त्वना शेरचन, पुण्यप्रभा देवकोटा, बसन्ती बुढा र कमला बानियाँ रहनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका अनुसार ७० मतदान केन्द्रमध्ये नौ केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा महिलालाई जिम्मेवारी दिइएको छ ।
एक मतदान केन्द्रमा शतप्रतिशत महिला
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगुका ७० मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी खटाइने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार छायाँनाथ रारा नगरपालिका–३ तलितुमस्थित छायाँक्षेत्र आधारभूत विद्यालय मतदान केन्द्रमा सबै कर्मचारी महिला रहने गरी कार्यविभाजन गरिएको छ ।